धनगढीको जुगेडामा असोज २५ देखि ‘रामलीला तथा सांस्कृतिक कार्यक्रम २०८३’ हुँदै - Chaitanya News
  • 2026-10-05
  • 17:36:50
  • सोमबार,आश्विन १९, २०८३
  • धनगढीको जुगेडामा असोज २५ देखि ‘रामलीला तथा सांस्कृतिक कार्यक्रम २०८३’ हुँदै

    धनगढीको जुगेडामा असोज २५ देखि ‘रामलीला तथा सांस्कृतिक कार्यक्रम २०८३’ हुँदै

    धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१२, जुगेडा ‘डी’ गाउँमा यही असोज २५ गतेदेखि ‘रामलीला तथा सांस्कृतिक कार्यक्रम २०८३’ आयोजना हुने भएको छ।

    जुगेडा राइजिङ युवा क्लब र निःशुल्क ज्येष्ठ नागरिक चियाघरको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो। आयोजकले आइतबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो।

    धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने, स्थानीय कलाकार तथा युवाको प्रतिभा प्रस्फुटन गराउने र समुदायलाई सांस्कृतिक गतिविधिमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लबका सचिव किशोरकुमार जोशीले बताए।

    उनका अनुसार कार्यक्रममा नेपालसँगै भारतबाट समेत दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ। करिब १४ लाख रुपैयाँको लागतमा कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए। कार्यक्रमको मुख्य प्रायोजक मयुर डेरी रहेको आयोजकले जनाएको छ।

    कार्यक्रममा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। कार्यक्रमका निर्देशक खुमदत्त सञ्जेलले रामलीलाको कथावस्तु आदिकवि भानुभक्त आचार्यद्वारा अनुवादित ‘रामायण’मा आधारित रहेको बताए। उनका अनुसार नेपाली भाषामा प्रस्तुत गरिने रामलीला भगवान् श्रीरामको जीवनीमा आधारित नाटकका रूपमा मञ्चन हुनेछ।

    युवालाई सामाजिक, धार्मिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिमा सक्रिय गराउँदै सकारात्मक परिवर्तनमा सहभागी गराउने लक्ष्यसमेत कार्यक्रमको रहेको क्लबका अध्यक्ष रामचन्द्र भट्टले बताए।

    आयोजकका अनुसार ‘रामलीला तथा सांस्कृतिक कार्यक्रम २०८३’ आगामी कार्तिक ४ गतेसम्म सञ्चालन हुनेछ।