काठमाडौँ– विवादास्पद नागरिकता विधेयकलाई लिएर सत्तारुढ नेपाली कांग्रेसकै साँसदबाट विरोध सुरु भएको छ। कांग्रेसकी साँसद पार्वती डिसी चौधरीले पार्टीको बन्धनमा परेर गलत नागरिकता विरोधको बारेमा कांग्रेसका साँसदहरुले बोल्न नसकेको खुलासा गरेकी छन्।
संसदको बिहीबारको बैठकमा चौधरीले नागरिकता विधेयक ठिक नभएको बताउँदै सत्तारुढ दलका अरु सांसदहरूलाई यस विधेयकप्रति सन्तुष्ट नरहेको बताइन्। कांग्रेस सभापति तथा प्रधानमन्त्री पत्नी आरजु देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले नयाँ दिल्लीमा बोलाएर कुरा गरेपछि एकाएका नेपालमा नागरिकता विधेयक पास गरिएको थियो।
उक्त विधेयक संसदबाट पास भएर लालमोहरका लागि आए पनि राष्ट्रपति विद्या भण्डारीले संसदलाई नै फिर्ता गरेपछि संसदमा पक्ष र विपक्षमा विरोध सुरु भएको हो। सांसद चौधरीले आफूले निर्णयार्थ प्रस्तुत गर्दा पक्षमा मतदान गरे पनि नागरिकता विधेयक राम्रो नलागेको कुरा भन्नैपर्ने बताइन्।
नागरिकता विधेयकलाई दलको हिसाबले समर्थन गरे पनि व्यक्तिगत हिसाबले मेरो आत्माले ठिक मानेको छैन् भन्ने उनले यस विषयलाई लिएर आज सबै नागरिक आन्दोलित रहेको बताइन्।
चौधरीले भनिन्, ‘हामी यो चुनावको समयमा किन पारित गरिरहेका छौं? पाँच महिना पछि त नयाँ सरकार नयाँ सदन आइहाल्छ। सात वर्ष ढिला गर्यौं भन्छ । सात लाख नागरिकले नागरिकता पाइरहेका छैनन्। सात वर्षसम्म ढिलाइ कसको कारणले भयो? त्यसको क्षतिपूर्ति कसले दिने? नागरिकता विधेयक ठिक छैन् भन्ने धेरै सांसदलाई लागेको छ तर पार्टीको बन्धनले उहाँहरूले बोल्न सक्नुभएको छैन। पार्टीभन्दा माथि उठेर मुलुकको लागि बोल्नुस् भन्न चाहन्छु।