धनगढीः सुदूरपश्चिम प्रदेशसभाका नेकपा एमालेका सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।
पूर्वमन्त्रीसमेत रहेका थापाले सभामुखसमक्ष राजीनामा बुझाएका हुन्। यद्यपि, उनको राजीनामा स्वीकृत भइसकेको छैन।
प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै थापाले राजीनामा दिएको स्रोतले जनाएको छ। उनको राजीनामा स्वीकृत नगर्न केन्द्रका नेताहरूले दबाब दिइरहेको बताइएको छ।
सुदूरपश्चिम प्रदेशसभाबाट मंगलबार चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। बजेट निर्माणका क्रममा देखिएका भनिएका बेथितिबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने र समितिको प्रतिवेदनका आधारमा पूरक बजेट ल्याउने सहमति सत्तारूढ दलहरूबीच भएको छ।
बजेटलाई लिएर सत्तारूढ दलभित्रै असन्तुष्टि बढिरहेका बेला एमाले सांसद थापाले राजीनामा दिएको खबर सार्वजनिक भएको हो।