कर्णालीमा देउवा पक्षको जिल्ला नेतृत्व चयन, मुगु–जुम्ला–हुम्लामा यी बने सभापति - Chaitanya News
  • 2026-10-12
  • 11:55:33
  • सोमबार,आश्विन २६, २०८३
  • कर्णालीमा देउवा पक्षको जिल्ला नेतृत्व चयन, मुगु–जुम्ला–हुम्लामा यी बने सभापति

    कर्णालीमा देउवा पक्षको जिल्ला नेतृत्व चयन, मुगु–जुम्ला–हुम्लामा यी बने सभापति

    सुर्खेत– नेपाली कांग्रेसको आन्तरिक शक्ति संघर्षबीच शेरबहादुर देउवा पक्षले कर्णाली प्रदेशका तीन जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गर्दै नेतृत्व चयन गरेको छ। मुगु, जुम्ला र हुम्लामा देउवा पक्षका नेताहरू जिल्ला सभापतिमा निर्वाचित भएका छन्। तर, प्रदेशमा देउवा पक्षका प्रभावशाली नेताहरू गगन थापा समूहमा खुल्न थालेपछि जिल्ला तहको नेतृत्व चयनलाई पार्टीभित्रको बदलिँदो शक्ति समीकरणका रूपमा हेरिएको छ।

    देउवा पक्षका नेता दमन शाहीका अनुसार तीन जिल्लामा अधिवेशन सम्पन्न भएको हो। कालिकोटमा मंगलबार जिल्ला अधिवेशन गर्ने तयारी छ भने अन्य जिल्लामा वडा, पालिका तथा क्षेत्रीय अधिवेशनका काम जारी छन्। कात्तिक १५ गतेसम्म निर्धारित कार्यतालिकाभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए।

    मुगु जिल्ला सभापतिमा तिलक मल्ल निर्वाचित भएका छन्। मल्ल विगतदेखि नै देउवा निकट मानिन्छन्। जिल्लामा पूर्वमन्त्री ऐनबहादुर शाहीले देउवा पक्षको नेतृत्व गरिरहेका छन्। कर्णालीमा देउवा पक्षका धेरै नेता गगन थापा समूहमा लागे पनि ऐनबहादुर भने देउवासँगै रहेका छन्।

    मुगुमा उपसभापतिमा रमेशकुमार मल्ल र रामबहादुर रावत निर्वाचित भएका छन्। सचिवमा कुबेरजङ शाही र हरि रावल, कोषाध्यक्षमा धर्मेन्द्र शाही तथा सहसचिवमा जङ्गबहादुर ऐडी र शैलेन्द्र मल्ल चयन भएका छन्।

    जुम्लामा नेत्रकला शाही जिल्ला सभापतिमा निर्वाचित भएकी छन्। जुम्लाका देउवा पक्षीय नेताहरू कान्तिका सेजुवाल र ललितजङ्ग शाही गगन थापा समूहमा लागे पनि नेत्रकला भने देउवा पक्षमै रहेर जिल्ला नेतृत्वमा पुगेकी हुन्।

    त्यस्तै, हुम्लाको जिल्ला सभापतिमा सूर्यबहादुर शाही निर्वाचित भएका छन्। यसअघि जिल्ला कोषाध्यक्ष रहेका उनी पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही निकट मानिन्छन्। हुम्ला जीवनबहादुरको गृह जिल्ला हो। देउवा पक्षमा रहेका जीवनबहादुर पछिल्लो समय गगन थापातर्फ खुलेका छन्। तर, उनी निकट मानिने सूर्यबहादुर भने देउवा पक्षबाटै सभापति बनेका छन्।

    यी तीन जिल्लाको नेतृत्व चयनले कर्णाली कांग्रेसमा समूहगत समीकरण एकरूप नरहेको देखाएको छ। कुनै जिल्लामा पुरानै समूहको पकड कायम रहँदा प्रभावशाली नेताहरूको समूह परिवर्तनले स्थानीय तहमा फरक राजनीतिक परिस्थिति बनेको छ।

    देउवा पक्षका नेता दमनबहादुर शाहीका अनुसार दैलेखमा पनि क्षेत्रीय अधिवेशनका काम भइरहेका छन्। यसअघि पूर्णबहादुर खड्काको गृह प्रदेश भएकाले कर्णालीमा देउवा पक्ष बलियो मानिन्थ्यो। तर, खड्का स्वयं स्पष्ट रूपमा कुनै समूहमा नखुले पनि उनी निकट मानिने धेरै नेता तथा कार्यकर्ता गगन थापा समूहमा खुलेर महाधिवेशन प्रक्रियामा सहभागी भइसकेका छन्।

    यसैबीच, यसअघि शेखर कोइराला पक्षका नेता मानिने कालिकोटका भूपेन्द्रजङ शाही देउवा पक्षमा खुलेका छन्। दैलेखका नारायण रेग्मी पनि देउवा पक्षमा लागेका छन्। उनी यसअघि संस्थापन पक्षको क्षेत्रीय महाधिवेशनमा सहभागी भए पनि त्यहाँ विवाद भएपछि समूह परिवर्तन गरेका हुन्।

    कर्णालीमा जिल्ला अधिवेशनहरू अघि बढ्दै गर्दा नेतृत्व चयनसँगै कांग्रेसभित्रको गुटगत समीकरणसमेत चर्चामा आएको छ। कात्तिक १५ गतेसम्म अधिवेशन सम्पन्न गर्ने लक्ष्यका बीच बाँकी जिल्लाको नेतृत्व चयनले प्रदेशमा कुन समूहको प्रभाव कति कायम रहन्छ भन्ने थप स्पष्ट पार्नेछ।