धनगढीः सुदूरपश्चिम प्रदेशका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले धनगढीमा डिजिटल बोर्ड स्थापना गरिएको छ। साथै, प्रदेशका विभिन्न गन्तव्य र सम्पदाबारे जानकारी समेटिएका २३ वटा प्रवर्द्धनात्मक पुस्तिकासमेत विमोचन गरिएको छ।
धनगढी उपमहानगरपालिका–१ स्थित जेन्जी मार्गको पार्कमा स्थापना गरिएको डिजिटल बोर्डको आइतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले उद्घाटन गरेका हुन्। सोही अवसरमा धनगढी उपमहानगरपालिकाले तयार पारेका ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ मूल नारासहितका २३ वटा प्रवर्द्धनात्मक पुस्तिका विमोचन गरिएको हो।
विभिन्न राजनीतिक दलका नेता, शिक्षाविद् तथा संघसंस्थाका प्रतिनिधिहरूले पुस्तिकाको विमोचन गरेका थिए। उद्घाटन समारोहमा धनगढीवासीसहित विभिन्न क्षेत्रका नागरिकको उपस्थिति रहेको थियो।
डिजिटल बोर्डमार्फत सुदूरपश्चिमका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा आर्थिक क्षेत्रको पहिचान र विशेषताबारे जानकारी गराउने लक्ष्य राखिएको छ। आधुनिक प्रविधिको प्रयोग गरी प्रदेशका महत्त्वपूर्ण पर्यटकीय गन्तव्य तथा सम्पदाको प्रचारप्रसार गर्न डिजिटल बोर्ड प्रभावकारी माध्यम बन्ने अपेक्षा गरिएको छ।
त्यस्तै, विमोचन गरिएका २३ वटा पुस्तिकामा सुदूरपश्चिमका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलका बारेमा विस्तृत जानकारी समेटिएको छ। पुस्तिकामार्फत प्रदेशका ओझेलमा परेका पर्यटकीय गन्तव्यको पहिचान विस्तार गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई ती स्थानबारे जानकारी उपलब्ध गराउने विश्वास लिइएको छ।
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, मौलिक संस्कृति र ऐतिहासिक महत्त्वले भरिपूर्ण सुदूरपश्चिमका सम्पदालाई डिजिटल प्रविधि र प्रवर्द्धनात्मक सामग्रीमार्फत व्यापक रूपमा चिनाउने उद्देश्यले यो पहल गरिएको हो।
डिजिटल बोर्ड स्थापना र प्रवद्र्धनात्मक पुस्तिका प्रकाशनले सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनामा टेवा पुग्ने अपेक्षा गरिएको छ। यसका साथै धनगढीलाई आधुनिक, व्यवस्थित र पर्यटकीय गतिविधिको केन्द्रका रूपमा विकास गर्ने अभियानमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।