धनगढीः नेपाली काँग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको मतदानको मतगणना शनिबार बिहान सम्पन्न हुँदा थापा ६ हजार ५८४ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुना्।
निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे। निर्वाचनमा कुल ७ हजार १३ मत खसेकामा ५४ मत बदर भएको थियो।
यसअघि विशेष महाधिवेशनबाट पार्टी सभापति बनेका थापा नौ महिनापछि नियमित महाधिवेशनमार्फत पुनः सभापतिमा निर्वाचित भएका हुन्। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका थापा झन्डै चार दशकपछि काँग्रेसको नेतृत्वमा पुगेका छन्।
बालकाँग्रेसदेखि पार्टी सभापतिसम्म
थापाले २०४६ सालको जनआन्दोलनका क्रममा कक्षा ९ मा अध्ययन गर्दै गर्दा आन्दोलनमा सहभागी भएर राजनीतिक यात्रा सुरु गरेका थिए। उनले २०४६ सालमै बालकाँग्रेसको सदस्यका रूपमा औपचारिक राजनीतिक यात्रा अघि बढाएका थिए।
२०४८ सालमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) काठमाडौँ वडा नम्बर ३३ को सचिव बनेका थापा २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य निर्वाचित भएका थिए। २०५३ सालमा स्ववियु सचिव र २०५५ सालमा सभापति निर्वाचित भएका उनले विद्यार्थी राजनीतिमा आफ्नो प्रभाव विस्तार गरेका थिए।
२०५५ सालमा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य बनेका थापा २०५७ सालमा नेविसङ्घको केन्द्रीय उपाध्यक्ष र २०५९ सालमा महामन्त्री बने। विद्यार्थी राजनीतिमा सक्रिय रहँदै उहाँले पार्टीभित्र आफ्नो राजनीतिक आधार विस्तार गरेका थिए।
२०६१ सालमा तत्कालीन राजाको प्रत्यक्ष शासनविरुद्ध भएको आन्दोलनमा अग्रपङ्क्तिमा रहेर नेतृत्व गरेका थापामाथि राजद्रोहको मुद्दासमेत लागेको थियो। अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले उनलाई ‘आस्थाको बन्दी’ घोषणा गरेको थियो।
२०६२/६३ सालको जनआन्दोलनमा लोकतन्त्र र गणतन्त्रको पक्षमा सक्रिय भूमिका निर्वाह गरेपछि थापा राष्ट्रिय राजनीतिमा थप चर्चित भए।
संविधानसभा सदस्यदेखि स्वास्थ्यमन्त्रीसम्म
२०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट सभासद् भएका थापा संविधान निर्माण, मौलिक हक, बालअधिकार, नागरिकता र ऊर्जा सुरक्षालगायत विषयमा सक्रिय रहे।
२०७० सालमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपछि उनले संविधान निर्माण प्रक्रियामा योगदान दिए। २०७१ सालमा कृषि तथा जलस्रोत समितिको सभापति बने थापाले कृषि, ऊर्जा र जलस्रोतसम्बन्धी नीतिगत बहसमा भूमिका निर्वाह गरे।
२०७३ सालमा स्वास्थ्यमन्त्री बने थापाले आफ्नो नौमहिने कार्यकालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्य बिमा र चिकित्सा शिक्षा सुधारका विषयलाई प्राथमिकता दिएका थिए।
२०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थापाले संसद्मा शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनलगायत विषय उठाउँदै आएका थिए।
महामन्त्रीदेखि पुनः सभापतिसम्म
२०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापाले पार्टीभित्र नीतिगत बहस, सङ्गठन सुधार र नेतृत्व परिवर्तनका विषयमा आवाज उठाउँदै आएका थिए।
२०८२ भदौ २३ र २४ गतेको ‘जेन्जी’ आन्दोलनपछि काँग्रेसभित्र युवा सहभागिता र सङ्गठनात्मक सुधारको बहस तीव्र बनेको थियो। त्यसक्रममा थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशन आह्वान गरेका थिए।
विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति चयन भएका थापा त्यसको नौ महिनापछि सम्पन्न १५औँ महाधिवेशनबाट पुनः सभापति पदमा निर्वाचित भएका छन्।
राजनीतिसँगै अध्यापन, सञ्चार र सामाजिक अभियानमा समेत संलग्न थापाले विद्यार्थी जीवनदेखि नै शिक्षा र सार्वजनिक सेवामा सुधारको पक्षमा आवाज उठाउँदै आएका छन्। युवालाई स्वदेशमै अवसर, सार्वजनिक शिक्षामा लगानी, स्वास्थ्य सेवामा समान पहुँच र सुशासन उनले आफ्नो राजनीतिक यात्राका प्रमुख एजेन्डाका रूपमा अघि सार्दै आएका छन्।
विद्यार्थी राजनीतिबाट राष्ट्रिय नेतृत्वसम्म आइपुगेका थापाको नेतृत्वलाई अब नेपाली काँग्रेसको सङ्गठन सुधार, नीतिगत प्राथमिकता र नयाँ पुस्ताको राजनीतिक सहभागितासँग जोडेर हेरिएको छ।