धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरञ्जन विष्ट नियुक्त भएका छन्। मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले विष्टलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
नवनियुक्त मुख्य न्यायाधिवक्ता विष्टले आजै पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।
विष्ट उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास बार एसोसिएसनअन्तर्गत २४ वर्षदेखि अधिवक्ताका रूपमा वकालत गर्दै आएका छन्। लामो समयदेखि कानुन व्यवसायमा संलग्न उनी अब सुदूरपश्चिम प्रदेश सरकारको कानुनी सल्लाहकारका रूपमा रहनेछन्।
यसअघि मुख्य न्यायाधिवक्ता रहेका ठेकन्द्रराज जोशीले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो। उनको राजीनामापछि प्रदेश सरकारले नयाँ मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रक्रिया अघि बढाएको हो।