माया मेट्रोले गर्‍यो मोटरसाइकल दुर्घटनामा घाइते भट्टको ९ लाख उपचार खर्च मिनाहा - Chaitanya News
  • 2026-10-10
  • 14:36:47
  • शनिबार,आश्विन २४, २०८३
  • माया मेट्रोले गर्‍यो मोटरसाइकल दुर्घटनामा घाइते भट्टको ९ लाख उपचार खर्च मिनाहा

    माया मेट्रोले गर्‍यो मोटरसाइकल दुर्घटनामा घाइते भट्टको ९ लाख उपचार खर्च मिनाहा

    धनगढीः मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ का २७ वर्षीय दीपक भट्टको धनगढीस्थित माया मेट्रो अस्पतालले निःशुल्क उपचार गरेको छ। अस्पतालले भट्टको उपचारमा लागेको करिब ९ लाख रुपैयाँ खर्च मिनाहा गरेको हो।

    आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका भट्टलाई सुरुमा महाकाली अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको थियो।

    भट्टको अवस्था गम्भीर रहेकाले लामो समय उपचार गर्नुपर्ने र खर्चसमेत धेरै लाग्ने भएपछि परिवार चिन्तित बनेको थियो। आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन समस्या भएपछि अस्पतालले मानवीयताका आधारमा उनको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो।

    अस्पतालका अनुसार भट्टलाई १५ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। त्यसपछि २० दिन सघन उपचार कक्ष (आईसीयू) मा राखिएको थियो। आईसीयूबाट सामान्य अवस्थामा फर्किएपछि उनलाई सामान्य शय्यामा राखेर उपचार गरिएको थियो। लामो समयको उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको र उपचार सफल भएको अस्पतालले जनाएको छ।

    भट्टको उपचारमा न्युरोसर्जन डा. हरि पौडेल, जिआई सर्जन डा. विनय तिमिल्सिना, अर्थोपेडिक सर्जन डा. विकास पाण्डे, डा. रितेश पोखरेल, एनेस्थेसियोलोजिस्ट डा. मोहन भट्ट र डा. ललित धामी संलग्न थिए।

    माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले भट्टको पारिवारिक अवस्था अत्यन्त कमजोर रहेकाले मानवीयताका आधारमा निःशुल्क उपचार गर्ने निर्णय गरिएको बताए।

    “अस्पतालमा आइसकेको बिरामीलाई हामीले पनि फिर्ता पठाउन मनले मानेन। त्यसैले निःशुल्क उपचार गर्ने निर्णय गर्‍यौँ,” अध्यक्ष साउँदले भने।

    उनका अनुसार भट्टको उपचारमा हालसम्म करिब ९ लाख रुपैयाँ खर्च भएको छ। उक्त रकम अस्पतालले मिनाहा गरेको हो।

    गम्भीर अवस्थामा अस्पताल पुगेका भट्टको लामो उपचारपछि स्वास्थ्यमा सुधार आउनुका साथै आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था पनि अस्पतालको सहयोगले टरेको छ। आर्थिक कठिनाइका कारण उपचार खर्च जुटाउन नसकिरहेको परिवारलाई अस्पतालको निर्णयले ठूलो राहत दिएको छ।

    माया मेट्रो अस्पतालले गरेको यो सहयोगलाई स्वास्थ्य उपचारसँगै मानवीय सेवाको उदाहरणका रूपमा हेरिएको छ।