सुदूरपश्चिममा बजेट अन्योल कायमै, प्रदेशसभा बैठक फेरि सर्‍यो - Chaitanya News
  • 2026-10-10
  • 14:38:03
  • शनिबार,आश्विन २४, २०८३
  • सुदूरपश्चिममा बजेट अन्योल कायमै, प्रदेशसभा बैठक फेरि सर्‍यो

    सुदूरपश्चिममा बजेट अन्योल कायमै, प्रदेशसभा बैठक फेरि सर्‍यो

    धनगढीः बजेट प्रस्तुत गर्ने कार्यसूचीसहित आज बिहान ८ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि सरेको छ। सभामुख भीम भण्डारीका अनुसार बैठक दिउँसो ४ बजे बस्ने गरी सारिएको हो। बैठक सरेसँगै प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने तयारीसमेत अन्योलमा परेको छ।

    बजेट बाँडफाँटमा मन्त्रीहरूबीच नै विवाद भएपछि बजेट ल्याउने प्रक्रिया अनिश्चित बनेको हो। आर्थिक मामिला मन्त्रालयले बजेटको तयारी लगभग पूरा गरिसकेको भए पनि सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टीका मन्त्रीहरू नै बजेटप्रति सन्तुष्ट हुन नसकेको बताइएको छ। उनीहरूले बजेट विनियोजनमा असन्तुष्टि जनाएका छन्।

    बजेट विवाद समाधानका लागि मुख्यमन्त्री खगराज भट्टले बैठक बोलाएका छन्। उक्त बैठकपछि प्रदेशमा देखिएको बजेट शून्यता अन्त्य गर्ने विषयमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ।

    प्रदेशसभाबाट बजेट प्रस्तुत गर्ने वा अध्यादेशमार्फत बजेट ल्याउने भन्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ। प्रदेश सरकार तीन महिनादेखि बजेटविहीन अवस्थामा छ। बजेटसम्बन्धी विवाद र कानुनी प्रक्रियाका कारण प्रदेशको बजेट ल्याउने प्रक्रिया लम्बिँदै आएको छ।

    यसअघि सर्वोच्च अदालतको कारण देखाउ आदेशपछि बजेट प्रक्रिया रोकिएको बताइएको थियो। तर, शुक्रबार सर्वोच्च अदालतले बजेट विवादसम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको थियो।

    अदालतको निर्णयपछि बजेट प्रस्तुत गर्ने तयारी गरिए पनि सत्तारूढ दलका मन्त्रीहरूबीचको असन्तुष्टिले फेरि अन्योल सिर्जना गरेको छ। अब मुख्यमन्त्रीको बैठक र दिउँसो ४ बजेका लागि तय भएको प्रदेशसभा बैठकपछि मात्रै बजेट सार्वजनिक गर्ने विषयमा टुंगो लाग्ने देखिएको छ।