आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको आराधना गरिँदै - Chaitanya News
  • 2026-10-13
  • 07:55:20
  • मंगलबार,आश्विन २७, २०८३
  • आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको आराधना गरिँदै

    आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको आराधना गरिँदै

    काठमाडौँ– बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। घटस्थापनाबाट सुरु भएको नौदिने धार्मिक अनुष्ठानअन्तर्गत आज भक्तजनले चन्द्रघण्टाको उपासना गरी वीरता, निर्भयता र सौम्यताको कामना गर्ने परम्परा छ।

    धार्मिक मान्यताअनुसार पार्वतीको सौन्दर्यपूर्ण स्वरूप मानिने चन्द्रघण्टाको पूजा गर्नाले साधकमा साहस र निर्भयतासँगै विनम्रता तथा शान्त स्वभावको विकास हुन्छ। देवीको शिरमा अर्धचन्द्रको आभूषण घण्टजस्तो देखिने भएकाले उनलाई चन्द्रघण्टा भनिएको धर्मशास्त्रमा उल्लेख छ।

    श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थमा चन्द्रघण्टा देवीलाई आसुरी प्रवृत्ति र हिंसाको विनाश गरी सज्जनको रक्षा गर्ने शक्तिका रूपमा व्याख्या गरिएको छ। त्यसैले उनको आराधनालाई नकारात्मक प्रवृत्तिमाथि विजय र सकारात्मक गुणको विकाससँग जोडेर हेरिन्छ।

    नवरात्रका अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी र इन्द्रायणी मन्दिरमा भक्तजन पूजा आराधनाका लागि पुगिरहेका छन्।

    त्यस्तै, उपत्यकाबाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना र दाङको अम्बिकेश्वरीलगायत शक्तिपीठमा पनि दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ।

    नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिन्छ। यसपछि चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको आराधना गर्ने धार्मिक परम्परा छ।