रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्छौँ’ अभियान बैतडीका पाँच स्थानीय तहमा सम्पन्न - Chaitanya News
  • 2026-11-24
  • 20:25:21
  • मंगलबार,मंसिर ०९, २०८३
  • रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्छौँ’ अभियान बैतडीका पाँच स्थानीय तहमा सम्पन्न

    रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्छौँ’ अभियान बैतडीका पाँच स्थानीय तहमा सम्पन्न

    बैतडीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर सञ्चालन गरिरहेको ‘हामी आउँदैछौँ, हामी सुन्छौँ’ अभियान बैतडीमा पनि जारी राखेको छ। अभियानअन्तर्गत जिल्लाका पाँच स्थानीय तहमा कार्यक्रम सम्पन्न भएका छन् भने बाँकी पाँच स्थानीय तहमा कार्यक्रम हुन बाँकी रहेको रास्वपाका प्रदेश सार्वजनिक मामिला विभागका पूर्वउपप्रमुख तथा युवा नेता विशाल भट्टले जानकारी दिएका छन्।

    भट्टका अनुसार हालसम्म सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलासैनी गाउँपालिकामा अभियानअन्तर्गतका कार्यक्रम सम्पन्न भएका छन्। ती स्थानमा आम नागरिक, पार्टीका पदाधिकारी, शुभचिन्तक तथा शुभेच्छुकसँग प्रत्यक्ष भेटघाट र संवाद गरिएको उनले बताए।

    अभियानका क्रममा स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका आवाज, समस्या, गुनासा, सुझाव र अपेक्षा सुन्ने काम भइरहेको भट्टले जानकारी दिए। नागरिकले शिक्षा, स्वास्थ्य, रोजगारी, विकास निर्माण तथा सार्वजनिक सेवासँग सम्बन्धित विषयमा आफ्ना धारणा र सुझाव राखिरहेको उनको भनाइ छ।

    स्थानीयस्तरमा नागरिकले भोगिरहेका समस्या पहिचान गरी प्राप्त सुझाव तथा गुनासा सम्बन्धित निकायसम्म पुर्‍याउने र समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको भट्टले बताए।

    नागरिकबाट प्राप्त सुझावलाई पार्टीको नीति निर्माण, संगठन सुदृढीकरण तथा आगामी कार्यदिशा तय गर्नसमेत उपयोग गरिने उनले जानकारी दिए।

    रास्वपाले ‘हामी आउँदैछौँ, हामी सुन्छौँ’ अभियान देशभर सञ्चालन गरिरहेको छ। बैतडीका बाँकी पाँच स्थानीय तहमा पनि कार्यक्रम सञ्चालन गरी नागरिकसँग प्रत्यक्ष संवाद गर्ने तयारी रहेको भट्टले बताए।