काठमाडौँः नजिकिँदो चाडपर्वका बेला हवाई भाडा बढाएको भन्दै गुनासो आएपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश)को सक्रियतापछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सम्बन्धित वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो। छलफलपछि कम्पनीहरू स्वीकृत भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्न सहमत भएका हुन्।
क्यानका अनुसार चाडपर्वको मौका छोपेर हवाई भाडा बढाइएको गुनासो आएपछि प्रधानमन्त्री शाहले यस विषयमा चासो देखाएका थिए। त्यसपछि प्राधिकरणले बिहीबार सम्बन्धित वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेको हो।
क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने र सोसम्बन्धी जानकारी सम्बन्धित कम्पनीका टिकट बिक्री गर्ने माध्यममा सार्वजनिक गर्ने सहमति भएको छ।
यस सहमतिअनुसार यात्रुले स्वीकृत भाडादरभन्दा कम मूल्यमा टिकट पाउन सक्नेछन्। साथै, कम्पनीहरूले उपलब्ध गराउने सहुलियत भाडादरबारे आफ्नो टिकट बिक्री गर्ने माध्यमबाटै जानकारी प्राप्त गर्न सक्ने व्यवस्था मिलाइनेछ।