धनगढीः दसैँ, तिहार तथा छठ पर्वलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय कैलालीले विशेष सुरक्षा योजना लागू गरेको छ।
चाडपर्वका समयमा बढ्ने यात्रु आवागमन, बजारमा हुने भीडभाड तथा आर्थिक कारोबार, बैंक तथा वित्तीय संस्था, धार्मिक तथा सांस्कृतिक गतिविधि र सीमा क्षेत्रमा हुने आवागमनलाई लक्षित गरी सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सुरक्षा व्यवस्थाका लागि कैलालीमा १ हजार १४६ जना प्रहरी कर्मचारी परिचालन गरिने भएको छ। जोखिम तथा सुरक्षा संवेदनशीलताका आधारमा जिल्लाका विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरिनेछ। आवश्यकताअनुसार मोबाइल तथा पैदल गस्ती, सादा पोशाकका प्रहरी, क्यूआरटी, स्ट्राइकिङ र रिजर्भ टोलीसमेत परिचालन गरिने प्रहरीले जनाएको छ।
चाडपर्वको समयमा बजार, मुख्य सडक, सार्वजनिक स्थल, बैंक तथा वित्तीय संस्था, व्यापारिक क्षेत्र, बसपार्कलगायत बढी भीडभाड हुने स्थानमा नियमित तथा आकस्मिक गस्ती बढाइनेछ। सम्भावित आपराधिक गतिविधिबारे सूचना संकलन तथा विश्लेषण गरी आवश्यकताअनुसार तत्काल प्रहरी परिचालन गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
भारतसँग जोडिएका सीमा क्षेत्रमा समेत विशेष निगरानी बढाइने भएको छ। चोरी, तस्करी, लागुऔषध तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा नियमित तथा आकस्मिक चेकजाँच गरिनेछ।
चाडपर्वका बेला घर फर्किने तथा बाहिर जाने यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै कैलालीका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराइनेछ। साथै, हराएका वा छुटेका बालबालिका तथा अन्य व्यक्तिको खोज तथा उद्धारमा समेत सहायता कक्षमार्फत समन्वय गरिने प्रहरीले जनाएको छ।
त्यस्तै, चाडपर्वका बेला बढ्ने सवारी चाप र सडक दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीसँगको समन्वयमा सवारी जाँच तथा सडक सुरक्षा व्यवस्था कडा बनाइने भएको छ।
सवारी साधनको अवस्था, चालकले मादक पदार्थ वा लागुऔषध सेवन गरे–नगरेको तथा तीव्र गतिलगायतका विषयमा विशेष निगरानी गरिने प्रहरीले जनाएको छ। सम्भावित दुर्घटना तथा आपराधिक गतिविधि न्यूनीकरण गर्न मुख्य सडक तथा बढी जोखिमयुक्त क्षेत्रमा समेत प्रहरीको उपस्थिति बढाइनेछ।