काठमाडौँः यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ।
यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेललगायत पदाधिकारीबीच भएको बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।
बैठकपछि विभागका महानिर्देशक पोखरेलले दसैँका बेला यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिए।
उनका अनुसार दसैँका लागि यातायात व्यवस्थापनको आवश्यक तयारीसमेत अघि बढाइएको छ। दसैँको समयमा काठमाडौँ उपत्यकाबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ, सवारीसाधनको व्यवस्थापन तथा यात्रु सेवासम्बन्धी तयारीलाई प्राथमिकतामा राखिएको विभागले जनाएको छ।
महानिर्देशक पोखरेलले यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सम्बन्धित निकाय, यातायात व्यवसायी तथा सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको बताए।
यात्रुको चापलाई ध्यानमा राख्दै दसैँ अवधिमा यातायात सेवा व्यवस्थित, सहज र सुरक्षित बनाउन आवश्यक व्यवस्था मिलाइने विभागले जनाएको छ।