काठमाडौँः देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ। हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा बिहानीपख कुहिरो लाग्न सक्ने सम्भावना पनि रहेको छ।
हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। तराईका एक–दुई स्थानमा समेत चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।