माता अमृतानन्दमयीद्वारा नेपालका बाढी–पहिरोपीडितलाई ३ करोड २० लाख रुपैयाँ सहयोग - Chaitanya News
  • 2026-10-05
  • 17:20:17
  • सोमबार,आश्विन १९, २०८३
  • माता अमृतानन्दमयीद्वारा नेपालका बाढी–पहिरोपीडितलाई ३ करोड २० लाख रुपैयाँ सहयोग

    माता अमृतानन्दमयीद्वारा नेपालका बाढी–पहिरोपीडितलाई ३ करोड २० लाख रुपैयाँ सहयोग

    धनगढीः भारतकी प्रसिद्ध आध्यात्मिक तथा सामाजिक अभियन्ता माता अमृतानन्दमयी देवीले नेपालका बाढी तथा पहिरोपीडितका लागि तीन करोड २० लाख रुपैयाँ (दुई करोड भारतीय रुपैयाँ) सहयोग प्रदान गरेकी छन्। आफ्नो ७३औँ जन्मदिन तथा विश्व सेवा दिवसको अवसर पारेर उनले सो मानवीय सहायता उपलब्ध गराएकी हुन्।

    उक्त सहयोग रकम नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापामार्फत हस्तान्तरण गरिएको छ। प्राकृतिक विपद्का कारण ठूलो संख्यामा नागरिक प्रभावित भएका बेला प्राप्त यस सहयोगले पीडित परिवारको तत्कालीन राहत तथा पुनर्स्थापनामा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ। माता अमृतानन्दमयीले आफ्नो जन्मदिनलाई सेवा र परोपकारसँग जोड्दै प्राकृतिक विपद्मा परेका नेपाली नागरिकका लागि सहायता रकम प्रदान गरेकी हुन्।

    माता अमृतानन्दमयीको प्रेरणाबाट सञ्चालित अमृता अस्पताल दक्षिण एसियाकै ठूला अस्पतालहरूमध्ये एक मानिन्छ। अस्पतालका सिनियर म्यानेजर तथा इन्टरनेसनल सेल्स एन्ड मार्केटिङ विभागका अभिषेक स्वाँरका अनुसार विपद्को समयमा मानवीय सहयोगलाई प्राथमिकता दिँदै अम्माले यो राहत रकम उपलब्ध गराएकी हुन्।

    अमृता अस्पतालले नेपाललगायत अन्य देशबाट उपचारका लागि आउने बिरामीहरूका लागि ‘इन्टरनेसनल पेसेन्ट केयर’ विभागमार्फत विशेष सेवा प्रदान गर्दै आएको छ। नेपाली बिरामीहरूलाई उपचारका क्रममा भाषाको समस्या नहोस् भन्नका लागि दोभाषे, परामर्श तथा आवश्यक समन्वयको व्यवस्थासमेत गरिएको स्वाँरले जानकारी दिएका छन्।