दशैंअघि फेरि बढ्दै वर्षा, पश्चिमी नेपालमा बढी पानी पर्ने सम्भावना - Chaitanya News
  • 2026-10-05
  • 10:47:14
  • सोमबार,आश्विन १९, २०८३
  • दशैंअघि फेरि बढ्दै वर्षा, पश्चिमी नेपालमा बढी पानी पर्ने सम्भावना

    दशैंअघि फेरि बढ्दै वर्षा, पश्चिमी नेपालमा बढी पानी पर्ने सम्भावना

    काठमाडौँ– मनसुन बाहिरिने क्रम सुरु भइसके पनि नेपालमा वर्षाको गतिविधि तत्काल कम नहुने मौसमविद्हरूले बताएका छन्। आजदेखि पर्सिसम्म देशका विभिन्न भूभागमा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको उनीहरूको भनाइ छ।

    त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा मनसुनी प्रणालीको प्रभाव बाँकी रहनुका साथै बंगालको खाडी र अरेबियन सागरबाट जलवाष्पयुक्त वायु प्रवेश गरिरहेकाले वर्षा बढ्ने भएको हो।

    उनका अनुसार दशैंको घटस्थापनाको अघिल्लो दिनसम्म धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। घटस्थापनाको दिन भने वर्षाको गतिविधि केही घट्न सक्ने उनको अनुमान छ।

    मौसम विज्ञान विभागकी मौसमविद् माधवी सिग्देलले पनि आगामी तीन दिन देशका विभिन्न स्थानमा छिटपुटदेखि मध्यम वर्षा हुने सम्भावना रहेको बताइन्। उनका अनुसार विशेषगरी पश्चिमी भूभागमा वर्षाको गतिविधि बढ्न सक्ने देखिएको छ।

    आज दिउँसो काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली भूभागका थोरै स्थान र तराईका केही क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ। भोलि पहाडी भूभागका धेरै स्थानमा वर्षा हुनसक्ने र पर्सि पश्चिमदेखि पूर्वसम्म अझ धेरै क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद् पोखरेलले बताए।

    पर्सि सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना समेत रहेको छ।

    यसअघि पछिल्लो २४ घण्टामा कर्णालीदेखि कोशीसम्मका विभिन्न क्षेत्रमा वर्षा भएको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ।