१. पृष्ठभूमि: पितृत्वको विराटता र मानवीय अस्तित्व
मानव जीवनको यात्रा एउटा यस्तो अद्वितिय गोरेटो हो, जहाँ हरेक पाइलामा सम्बन्धहरूको छहारी चाहिन्छ। ती सम्बन्धहरूमध्ये सबैभन्दा जेठो, सबैभन्दा गहिरो र निःसर्त सम्बन्ध भनेको आमा र बुबाको हो। सृष्टिको नियम अनुसार माता दया, करुणा, ममता र स्नेहको अगाध सागर हुनुहुन्छ भने पिता त्याग, समर्पण, साहस र अनुशासनको एउटा विशाल हिमालय हुनुहुन्छ। बाहिरी आँखले हेर्दा आमाको ममता सजिलै आँसु र शब्दमा पोखिएको देखिन्छ, तर बुबाको स्नेह बुझ्न भने हृदयको तेस्रो आँखा खोल्नुपर्छ।
हरेक बालबालिका जब यो धर्तीमा आउँछन्, उनीहरूका लागि संसार नियाल्ने पहिलो झ्याल उनीहरूका बुबा नै हुनुहुन्छ। बुबा केवल एउटा पारिवारिक पदवी वा साइनो मात्र होइन, उहाँ त एउटा बलियो सुरक्षा कवच हो, जसले बाहिरी संसारका सारा आँधीबेहरीहरूलाई आफ्नै छातीमा रोकेर परिवारलाई एउटा शान्त छहारी प्रदान गर्दछ। आज बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औंसीको यो पवित्र घडीमा, म मेरो बुबाको त्यही विराट रूप, उहाँको अनवरत संघर्ष र उहाँको जीवनबाट मैले पाएको अमूल्य दर्शनको जीवन्त सँगालोलाई शब्दमार्फत अभिव्यक्त गर्ने प्रयास गरिरहेको छु। मेरो लागि मेरो बुबा केवल मेरो बुबा मात्र हुनुहुन्न, उहाँ त यो संसारकै सबैभन्दा उत्कृष्ट मार्गदर्शक र मेरो जीवनको मार्ग दर्शन हुनुहुन्छ।
२. त्याग र समर्पणको जीवित नमूना: आफ्ना रहरहरूको आहुति
संसारमा त्यागका थुप्रै कथाहरू लेखिएका होलान्, तर एकजना साधारण बुबाले आफ्नो जीवनकालमा गर्ने त्यागको लेखाजोखा कुनै पनि इतिहासका पानाहरूमा अटाउन सक्दैन। एकजना बुबाले आफ्ना व्यक्तिगत सपनाहरू, रहरहरू र परिकल्पनाहरूलाई कसरी तिलान्जली दिन्छन् भन्ने कुरा उहाँको दैनिकी नियाल्ने जोकोहीले बुझ्न सक्छ। बुबाको हरेक सोच, योजना र भविष्यको मार्गचित्रमा केवल र केवल उहाँको सन्तानको खुसी मात्र कोरिएको हुन्छ।
हामीले बाल्यकालमा देखेका हुन्छौँ: बुबाका आफ्नै जोर जुत्ता कति पटक मक्किएका हुन्छन्, उहाँको आफ्नो कमिजको कलर कति ठाउँमा खिइएको हुन्छ, तर सन्तानको विद्यालयको पोसाक जहिले पनि नयाँ र सफा हुनुपर्छ। उहाँले आफ्ना साना-तिना रहरहरूलाई सधैं भित्रै दबाएर राख्नुहुन्छ ताकि सन्तानले अभावको महसुस गर्न नपरोस्। आफ्नो खल्ती रित्तो हुँदा पनि सन्तानको रहर पूरा गर्नका लागि मुस्कुराउँदै “हुन्छ नि त” भन्ने साहस केवल एउटा बुबासँग मात्र हुन्छ। बुबाको पसिनाको प्रत्येक थोपामा सन्तानको उज्यालो भविष्यको चित्र कोरिएको हुन्छ। उहाँले आफ्नो वर्तमानलाई श्रमको भट्टीमा हालेर सन्तानको भोलि (भविष्य) लाई सुनौलो बनाउनुहुन्छ। यो भन्दा ठूलो त्याग र समर्पणको नमुना यो संसारमा अर्को के हुन सक्छ र?
३. प्रतिस्पर्धाविहीन प्रेम: हारमा खुसी हुने अनुपम सम्बन्ध
यो आधुनिक संसार प्रतिस्पर्धाको दलदलमा फसेको छ। यहाँ हरेक सम्बन्धमा कतै न कतै जित्ने होडबाजी छ, ईर्ष्या छ र अहङ्कार छ। मित्रहरूबीच प्रतिस्पर्धा हुन्छ, व्यावसायिक क्षेत्रमा जित र हारको लडाइँ हुन्छ, यहाँसम्म कि कहिलेकाहीँ नजिकका आफन्तहरूमा पनि एक-अर्काभन्दा अगाडि बढने गुप्त चाहना लुकेको हुन्छ। तर यो संसारमा एउटा यस्तो अलौकिक सम्बन्ध छ, जहाँ प्रतिस्पर्धाको कुनै स्थान हुँदैन: त्यो हो माता-पिता र सन्तानको सम्बन्ध।
तपाईं संसारको जुनसुकै कुनामा पुग्नुहोस् वा जतिसुकै ठूलो मान्छे बन्नुहोस्, तपाईंको सफलतामा आफू हारेर पनि संसारकै सबैभन्दा बढी खुसी हुने व्यक्तित्व भनेकै तपाईंको आमा र बुबा हुनुहुन्छ। जब एउटा छोरा वा छोरीले आफ्नो बुबाको काँध नाघेर समाजमा एउटा प्रतिष्ठित स्थान बनाउँछ, तब बुबाको छाती गर्वले ५६ इन्चको हुन्छ। उहाँ खुसीले गदगद हुँदै भन्नुहुन्छ, “हेर, त्यो मेरो सन्तान हो!” संसारमा अरू कसैले तपाईंलाई आफूभन्दा पछाडि पार्न खोज्दा बुबाले भने सधैं आफ्नो काँधमा चढाएर तपाईंलाई आफूभन्दा उच्च स्थानमा हेर्न चाहनुहुन्छ। उहाँको यो निस्वार्थी हार नै वास्तवमा मानवीय प्रेमको सबैभन्दा ठूलो जित हो।
४. मौन स्नेह र कर्तव्यको पर्याय
प्रायः भनिन्छ, बुबाहरू कठोर हुन्छन्, उनीहरू धेरै बोलदैनन् र भावनाहरू व्यक्त गर्दैनन्। तर यो उनीहरूको निष्ठुरीपन होइन, बरु यो उनीहरूको जिम्मेवारीको गाम्भीर्य हो। आमाको माया बगेको नदी जस्तै हो, जुन आँखाबाट आँसु बनेर वा ओठबाट मिठो बोली बनेर सहजै बग्दछ। तर बुबाको माया जमिनमुनिको पानी जस्तै हो, जो बाहिर देखिँदैन तर त्यसैको जगमा सारा रुख-बिरुवाहरू हरियाली भई बाँचिरहेका हुन्छन्।
बुबाको माया उहाँको कठोर अनुशासनमा लुकेको हुन्छ। बेलुका ढिलो घर आउँदा उहाँले सोध्ने तीखो प्रश्नमा, भविष्यप्रति सचेत गराउँदा देखिने उहाँको गम्भीर अनुहारमा र सन्तान बिरामी हुँदा राति अबेरसम्म निधारमा हात राखेर टोलाउने उहाँको मौनतामा संसारकै सबैभन्दा पवित्र स्नेह लुकेको हुन्छ। उहाँ शब्दमा “म तिमीलाई माया गर्छु” भन्न सक्नुहुन्न होला, तर उहाँको हरेक पाइला, उहाँको हरेक दुख र उहाँको कर्तव्य परायणताले त्यही मायाको गहिरो गवाही दिइरहेको हुन्छ। बुबाको त्यो मौन स्नेह शब्दभन्दा धेरै गुणा शक्तिशाली र अर्थपूर्ण हुन्छ।
५. बुबाको जीवन: संसारको सबैभन्दा ठूलो विश्वविद्यालय
हामी ज्ञानको खोजीमा ठूलो-ठूला विद्यालय, कलेज र विश्वविद्यालय जान्छौँ। त्यहाँका महँगा पाठ्यक्रमहरू पढ्छौँ, सिद्धान्तहरू घोक्छौँ र डिग्री हासिल गर्छौँ। तर मैले मेरो जीवनको भोगाइबाट के बुझेको छु भने, जीवन जिउने वास्तविक र व्यावहारिक शिक्षा संसारको कुनै पनि विश्वविद्यालयको पाठ्यक्रममा पढाइँदैन। त्यो त केवल बुबाको जीवनको संगती, उहाँको हन्डर र उहाँको भोगाइको किताबबाट मात्र सिक्न सकिन्छ।
बुबा आफैंमा एउटा जीवन्त विश्वविद्यालय हुनुहुन्छ। उहाँको प्रत्येक सेतो कपालको रौँले एउटा अनुभवको कथा भन्छ। उहाँको अनुहारका घामपानीले बनाएका रेखाहरूमा जीवनका अनगिन्ती उतारचढावका शिक्षाहरू लुकेका हुन्छन्। समाजसँग कसरी जुध्ने, संकटको बेला कसरी धैर्यवान् रहने, अभावलाई कसरी अवसरमा बदल्ने र जस्तोसुकै परिस्थितिमा पनि आफ्नो स्वाभिमान कसरी जोगाएर राख्ने भन्ने कुरा बुबाको व्यावहारिक जीवनभन्दा उत्तम तरिकाले कसैले सिकाउन सक्दैन। मेरो लागि मेरो बुबाको आदर्श नै मेरो समग्र जीवनको मुख्य मार्गदर्शक र जीवन दर्शन हो।
६. बुबाको श्रमशीलता र श्रीकृष्णको कर्मयोग (गीता दर्शन)
मैले बाल्यकालदेखि नै मेरो बुबाको मिहिनेतलाई धेरै नजिकबाट नियाल्ने मौका पाएँ। उहाँ कहिल्यै अल्छी बनेर बस्नुभएन। बिहानको मिर्मिरे उज्यालोदेखि रातिको अँध्यारोसम्म उहाँको शरीर जहिले पनि श्रममा लीन रहन्थ्यो। चाहे जेठको चर्को घाम होस्, चाहे पुसको मुटु कमाउने जाडो, उहाँले कहिल्यै आफ्नो कर्तव्यबाट विश्राम लिनुभएन। उहाँको हातका ठेलाहरू र निधारबाट बगेका पसिनाका थोपाहरू मेरो लागि ज्ञानका अक्षरहरू थिए।
बुबाको यही श्रमशीलता र कर्मप्रतिको अगाध निष्ठालाई जब मैले पछि अध्ययन गर्दै जाँदा बुझेँ, तब मलाई लाग्यो: यो त साक्षात भगवान श्रीकृष्णले श्रीमद्भगवद्गीतामा अर्जुनलाई दिनुभएको ‘कर्मयोग’ को व्यावहारिक दर्शन हो। गीतामा भनिएको छ:
“कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन…”
अर्थात्, तिम्रो अधिकार केवल कर्ममा छ, फलमा होइन। मेरो बुबाले कहिल्यै फलको आशा नगरी, आफ्नो सन्तानको सुखको एक मात्र उद्देश्य राखेर निरन्तर कर्म गरिरहनुभयो। उहाँको त्यो श्रमशील जीवन नै मेरो लागि गीताको कर्मयोगको जीवित रूप थियो। उहाँले मलाई भाषण दिएर होइन, आफ्नो आचरणबाट कर्मको मर्म बुझाउनुभयो। श्रम नै पूजा हो र इमानदार श्रमले नै मानिसलाई वास्तविक शान्ति दिन्छ भन्ने कुरा मैले बुबाकै पसिनाबाट सिकेको सबैभन्दा ठूलो पाठ हो।
७. बुबाको सामाजिक सम्बन्ध र ‘सर्वे भवन्तु सुखिनः’ (वैदिक दर्शन)
मेरो बुबाको अर्को एउटा पाटो जसले मलाई सधैं प्रभावित बनाइरह्यो, त्यो हो उहाँको सामाजिक सम्बन्ध र सेवाभाव। उहाँ आफ्नो परिवारका लागि मात्र होइन, समाजका हरेक मानिसका लागि सधैं सहयोगी र हितैषी हुनुहुन्थ्यो। कसैलाई दुःख पर्दा, कसैको घरमा संकट आउँदा मेरो बुबा जहिले पनि पहिलो पङ्क्तिमा उभिएर सहयोगको हात बढाउनुहुन्थ्यो। उहाँले कहिल्यै कसैको कुभलो चिताउनुभएन र कसैप्रति रिस-राग राख्नुभएन। उहाँको घरमा आउने जोकोही पनि कहिल्यै रित्तो हात वा खिन्न मन लिएर फर्कनु परेन।
उहाँको यो निस्वार्थ सेवाभाव र सामाजिक उत्तरदायित्वलाई देख्दा मलाई हाम्रो सनातन वैदिक दर्शनको याद आउँछ, जहाँ भनिएको छ:
“सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः…”
अर्थात्, संसारका सबै प्राणीहरू सुखी होऊन्, सबै निरोगी होऊन्। मेरो बुबाको जीवनको मूल मन्त्र नै यही थियो: आफू मात्र सुखी भएर पुग्दैन, आफ्नो वरपरको समाज पनि सुखी र शान्त हुनुपर्छ। उहाँले समाजको सेवालाई नै आफ्नो जीवनको सबैभन्दा ठूलो कर्म मान्नुभयो। उहाँको यही बानीले मलाई सिकायो कि मानिस सामाजिक प्राणी हो र अरूको हितमा आफ्नो हित देख्नु नै मानवताको सबैभन्दा उच्च रूप हो।
८. इमानदारिताको अनुपमता र आत्मजागरणको पहिलो पाइला
आजको युगमा जहाँ जतातातै अवसरवाद, भ्रष्टाचार र झूटको बिगबिगी छ, त्यस्तो परिवेशमा पनि मेरो बुबा जहिले पनि इमानदारिताको एउटा बलियो स्तम्भ जस्तै खडा रहनुभयो। उहाँले मलाई सधैं एउटै कुरा सिकाउनुभयो: “संसारमा जे गुमाए पनि आफ्नो इमान र इज्जत कहिल्यै नगुमाउनू। झूटो बाटोबाट कमाएको करोडौँभन्दा इमानदारितापूर्वक कमाएको एक रुपैयाँ धेरै मूल्यवान् हुन्छ।”
बुबाले आफ्नो जीवनमा कहिल्यै कसैलाई धोका दिनुभएन, कसैको चित्त दुखाउनुभएन। उहाँले देखाउनुभएको इमानदारिताको यो अनुपम मार्ग नै मेरो जीवनको आत्मजागरणको पहिलो पाइला बन्यो। जब मैले बुबाको निष्कलंक छवि र समाजमा उहाँप्रतिको अगाध सम्मान देखेँ, तब मलाई महसुस भयो कि साँचो धन त पैसा होइन, साँचो धन त मानिसको चरित्र र इमानदारिता पो रहेछ। बुबाले मलाई दिनुभएको यो नैतिक मूल्य मान्यता नै मेरो जीवनको सबैभन्दा ठूलो पूँजी हो, जसले मलाई जस्तोसुकै कठिन परिस्थितिमा पनि सही बाटोमा हिँड्ने साहस दिन्छ।
९. अभावभित्रको त्यो न्यानो बाल्यकाल: उन्युको बिछ्याउना र आगोको राप
हाम्रो जीवनको विगतका पानाहरू पल्टाउँदा कतिपय यस्ता पाटाहरू भेटिन्छन्, जसले आँखा रसाएर आउँछन् तर मनभित्र एउटा अद्भूत गौरवको महसुस गराउँछन्। आज सुविधा र आधुनिकताको यो संसारमा बाँचिरहँदा म बाल्यकालका ती सङ्घर्षपूर्ण रातहरूलाई कहिल्यै भुल्न सक्दिनँ। गाउँको त्यो चिसो मौसम, काठका फल्याक वा भुइँमा जङ्गली झार ‘उन्यु’ काटेर ल्याई बनाइएको त्यो साधारण बिछ्याउना मेरो बाल्यकालको ओछ्यान थियो। आधुनिक डन्लप र नरम गद्दा नभए पनि बुबाको काँधको आड र उहाँले सुख्खा दाउरा बालेर बालेको अगेनोको आगोको रापमा जुन न्यानोपन हुन्थ्यो, त्यो आजका महँगा हिटर वा एअर कन्डिसनरमा कतै पाइँदैन।
ती लामा र चिसो रातहरूमा जब चिसो हावाका झोक्काहरूले घरका झ्याल-ढोका हल्लाउँथे, बुबाले अगेनामा दाउरा थप्दै आगोको रापलाई मत्थर हुन दिनुहुन्नथ्यो। उहाँ आफैं चिसो भुइँको छेउमा बसेर, हामीलाई त्यो उन्युको ओछ्यानमा आगोको न्यानो रापतिर नजिक सारिदिनुहुन्थ्यो। बुबाको त्यो सुझबुझ र छत्रछायामा बिताएका रातहरूले मलाई सिकाए कि: न्यानोपन भौतिक सुख-सुविधामा होइन, बरु संरक्षण गर्ने बुबाको जिम्मेवार हात र प्रेममा हुन्छ। उन्युको त्यो बिछ्याउनामा सुत्दा पनि मलाई संसारकै सबैभन्दा सुरक्षित र न्यानो महसुस हुन्थ्यो, किनभने मेरो पहरेदार मेरो बुबा हुनुहुन्थ्यो।
१०. संकटको बलियो खम्बा: परिवारको ओत र आडभरोसा
हरेक परिवारको जीवनमा कहिलेकाहीँ यस्तो समय आउँछ, जहाँ अभाव, रोग, वा संकटको कालो बादल मडारिन्छ। हाम्रो परिवारमा पनि त्यस्ता कठिन दिनहरू नआएका होइनन्। तर ती जस्तोसुकै भीषण संकटका क्षणहरूमा पनि मैले मेरो बुबालाई कहिल्यै आत्तिएको वा हिम्मत हारेको देखिनँ। उहाँ जहिले पनि एउटा दरिलो पहाड जस्तै अगाडि सरेर उभिनुहुन्थ्यो र भन्नुहुन्थ्यो: “चिन्ता नगर, म छँदै छु नि, सबै ठीक हुन्छ।”
उहाँको त्यो एउटा वाक्यमा संसारकै सबैभन्दा ठूलो शक्ति हुन्थ्यो, जसले परिवारका सबै सदस्यको आत्मबल रातारात बढाइदिन्थ्यो। बाहिर जतिसुकै ठूलो आँधी आए पनि बुबा घरको मूल ढोका बनेर बस्नुहुन्थ्यो ताकि भित्र रहेका सन्तानलाई त्यसको रापले नछोओस्। उहाँले आफ्ना आँसुहरूलाई जहिले पनि भित्रै लुकाउनुभयो र अनुहारमा एउटा कृत्रिम तर आश्वस्त पार्ने मुस्कान सजाइराख्नुभयो। संकटको बेला उहाँले देखाउनुहुने त्यो अद्भूत साहस र धैर्यता नै मेरो लागि जीवनको सबैभन्दा ठूलो ओत र आडभरोसा हो।
११. उपसंहार: पसिनाको ऋण र मेरो संकल्प
जब समयको चक्र घुम्दै जान्छ, सन्तानहरू हुर्कँदै जान्छन् र आफ्नो खुट्टामा उभिन्छन्। उनीहरू सफलताको शिखर चढ्दै गर्दा कतिपय अवस्थामा उनीहरूलाई लाग्न सक्छ कि यो सबै उनीहरूकै मिहिनेतको फल हो। तर वास्तवमा, त्यो सफलताको महलको जगमा जुन बुबाको पसिनाको गारो लगाइएको हुन्छ, त्यसलाई कतिपयले बिर्सिदिन्छन्। जब सन्तानले प्रगति गर्छ, तब आफ्ना सारा विगतका हन्डर, ठक्कर र दुःखहरूलाई एकै पलमा बिर्सिएर गर्वले छाती फुलाउने निस्वार्थी देवता नै बुबा हुनुहुन्छ।
मैले बुबाको जीवनबाट जुन प्रेरणा, आदर्श, र दर्शन पाएँ, त्यो मेरा लागि कुनै पनि अमूल्य सम्पत्तिभन्दा धेरै माथि छ। बुबाले मेरो लागि बगाउनुभएको पसिनाको ऋण म यो जुनीमा कहिल्यै पनि चुकाउन सक्दिनँ। तर म यति संकल्प अवश्य गर्न सक्छु कि उहाँले देखाउनुभएको इमानदारिताको बाटो, उहाँको श्रमशीलताको मर्म र उहाँले सिकाउनुभएको वैदिक एवं गीताको जीवन दर्शनलाई म आफ्नो जीवनको अन्तिम श्वाससम्म पनि पालना गरिरहनेछु।
तसर्थ, मेरो बुबा मेरो लागि केवल एक अभिभावक मात्र हुनुहुन्न; उहाँ मेरो मार्गदर्शक, मेरो पहिलो गुरु, मेरो जीवनको दर्शन र यो धर्तीकै सबैभन्दा उत्कृष्ट आदर्श पुरुष हुनुहुन्छ। उहाँकै आशीर्वादको छहारीमा म सधैं बाँचिरहन पाऊँ। बुबाको मुख हेर्ने दिनको यस पवित्र अवसरमा संसारकै सबैभन्दा उत्कृष्ट र महान् बुबाको सुस्वास्थ्य, दीर्घायु र सुखद जीवनको कामना गर्दै उहाँको चरण कमलमणि सादर दण्डवत प्रणाम गर्दछु।यस अवसरमा संसारका सवै महान पिताहरू मेरो बुबालाई बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना!
– गणेश जोशी