काठमाडौँ– सरकारले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका लागि नयाँ प्रमुख सचिव नियुक्त गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले वरिष्ठ सहसचिव उत्तरकुमार खत्री र बिनोद बहादुर कुँवरलाई नेपाल सरकारको सचिवमा बढुवा गर्दै क्रमशः सुदूरपश्चिम र लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो।
सचिव बढुवा सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले दुवै सहसचिवलाई विशिष्ट श्रेणीमा बढुवा गरेको हो। उनीहरूले अब प्रदेश सरकारको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।
उत्तरकुमार खत्री सचिव बढुवाका लागि गरिएको पछिल्लो सिफारिसमा पहिलो नम्बरमा थिए। सचिव बढुवा सिफारिस समितिले बुधबार बिहान रिक्त एक सचिव पदका लागि खत्री, कालीप्रसाद पराजुली र रुद्रसिंह तामाङको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो।
सोही सिफारिसअनुसार मन्त्रिपरिषद्ले पहिलो नम्बरमा रहेका खत्रीलाई सचिवमा बढुवा गरेको हो। उनी यसअघि अर्थ मन्त्रालयमा कार्यरत थिए। अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै आएका खत्री अब सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवका रूपमा जाने भएका छन्।
खत्री यसअघि पनि सचिव बढुवाको प्रतिस्पर्धामा थिए। गत १५ भदौमा रिक्त सचिव पदका लागि श्रीकृष्ण नेपाल, नारायणप्रसाद भट्ट र बिनोद बहादुर कुँवरको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएको थियो।
तर पहिलो नम्बरमा रहेका श्रीकृष्ण नेपाल ५८ वर्षे उमेर हदका कारण सचिवमा बढुवा हुनुअघि नै अनिवार्य अवकाशमा गएपछि सिफारिसको क्रम परिवर्तन भएको थियो। त्यसपछि नारायणप्रसाद भट्ट पहिलो, बिनोद बहादुर कुँवर दोस्रो र उत्तरकुमार खत्री तेस्रो नम्बरमा पुगेका थिए।
उक्त सिफारिसअनुसार भट्ट सचिवमा बढुवा भएर कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवको जिम्मेवारीमा पुगेका थिए। त्यसपछि अर्को रिक्त सचिव पदका लागि भएको प्रक्रियामा खत्रीले पहिलो नम्बरमा सिफारिस हुँदै बढुवाको अवसर पाएका हुन्।
यस्तै, बिनोद बहादुर कुँवरलाई पनि मन्त्रिपरिषद्ले सचिवमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। सचिव बढुवा सिफारिस समितिले ज्येष्ठताका आधारमा हुने २० प्रतिशततर्फबाट कुँवरलाई एकल सिफारिस गरेको थियो।
कुँवर यसअघि वरिष्ठ सहसचिवका रूपमा कार्यरत थिए। बुधबार भएको सिफारिसपछि मन्त्रिपरिषद्को निर्णयसँगै उनी पनि विशिष्ट श्रेणीको सचिव बनेका छन्।
यससँगै खत्री र कुँवरले प्रदेश प्रशासनको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन्। खत्रीले सुदूरपश्चिम र कुँवरले लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गर्नेछन्। दुवै प्रदेशमा नयाँ प्रशासनिक नेतृत्व आएसँगै प्रदेश सरकारको प्रशासनिक कामकारबाहीमा उनीहरूको भूमिका महत्वपूर्ण हुने देखिएको छ।