भोटेकोशी बाढीपछि राष्ट्रपतिद्वारा राष्ट्रका नाममा सम्बोधन: विपत्तिपछि राजनीतिक विवाद होइन, पुनर्निर्माणमा जुटौँ - Chaitanya News
  • 2026-09-07
  • 16:36:57
  • सोमबार,भाद्र २२, २०८३
  • भोटेकोशी बाढीपछि राष्ट्रपतिद्वारा राष्ट्रका नाममा सम्बोधन: विपत्तिपछि राजनीतिक विवाद होइन, पुनर्निर्माणमा जुटौँ

    भोटेकोशी बाढीपछि राष्ट्रपतिद्वारा राष्ट्रका नाममा सम्बोधन: विपत्तिपछि राजनीतिक विवाद होइन, पुनर्निर्माणमा जुटौँ

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि मुलुकलाई राजनीतिक विवाद र दोषारोपणमा नभई राष्ट्रिय एकता, पुनर्निर्माण र आर्थिक पुनरुत्थानमा केन्द्रित हुन आह्वान गरेका छन्।

    भाद्र १० गते हिमनदीको बरफ र चट्टानसहित खसेको हिमपहिरोपछि आएको बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रका नाममा विशेष सम्बोधन गरेका राष्ट्रपति पौडेलले विपत्तिको यस घडीमा सबै नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिए।

    उनले वर्तमान समय राजनीतिक विवाद गर्ने वा एकअर्कालाई दोष लगाउने नभएको स्पष्ट पार्दै भने, ‘यो विभाजनको समय होइन, यो त पुनर्निर्माण र आर्थिक पुनरुत्थानको समय हो।’

    राष्ट्रपति पौडेलले बाढी र पहिरोबाट ठूलो जनधनको क्षति हुनुका साथै सडक, पुल तथा जलविद्युत् आयोजनाजस्ता राष्ट्रिय महत्त्वका पूर्वाधारमा पुगेको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

    बाढीमा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन उनले आग्रह गरे।

    भौगोलिक विकटता र प्रतिकूल मौसमका बाबजुद उद्धार तथा खोजी कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि तथा स्वयंसेवकहरूको प्रशंसा गर्दै राष्ट्रपतिले उनीहरूको योगदानलाई नेपाली राष्ट्रिय चरित्रको उत्कृष्ट नमुनाका रूपमा चित्रण गरे। कुनै पनि अवस्थामा खोजी तथा उद्धार कार्य नरोकिने गरी काम गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरे।

    उद्धार गरिएका नागरिकका लागि स्वच्छ खानेपानी, खाद्यान्न, औषधि तथा सुरक्षित आश्रयस्थलको व्यवस्था गर्न पनि उनले जोड दिए। बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिलाको संरक्षणमा विशेष संवेदनशीलता अपनाउन उनले आग्रह गरे।

    मृतकको पहिचानका लागि डीएनए नमुना संकलन तथा वैज्ञानिक अभिलेखीकरण गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले पहिचान प्रक्रियालाई विश्वसनीय बनाउन सरकारलाई सुझाव दिए। नेपालमा रहेका विदेशी नागरिकलाई समेत परिवारको सदस्यसरह व्यवहार गरिने उल्लेख गर्दै उनले प्रभावित देशका सरकार तथा कूटनीतिक नियोगसँग आवश्यक समन्वय भइरहेको जानकारी दिए।

    विपद्को समयमा प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली तथा उपकरणसहित सहयोग गर्ने छिमेकी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति उनले कृतज्ञता व्यक्त गरे।

    भोटेकोशी बाढीको घटनालाई जलवायु परिवर्तनसँग जोड्दै राष्ट्रपति पौडेलले हिमाली क्षेत्रको बढ्दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए। विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रमा सिर्जना भइरहेको जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय मञ्चमा ‘जलवायु न्याय’को पक्षमा ठोस कदम चाल्न उनले विश्व समुदायलाई आह्वान गरे।

    भविष्यमा यस्ता विपद्को जोखिम कम गर्न नेपालको विकास मोडेलमाथि समेत पुनर्विचार आवश्यक रहेको राष्ट्रपति पौडेलको भनाइ थियो। उनले विपत्तिबाट पाठ सिक्दै सुरक्षित र दिगो विकासतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।