ग्यास आपूर्ति सहज बनाउन साल्ट ट्रेडिङले थाल्यो वैकल्पिक व्यवस्थापन - Chaitanya News
  • 2026-09-03
  • 08:41:12
  • बिहिबार,भाद्र १८, २०८३
  • ग्यास आपूर्ति सहज बनाउन साल्ट ट्रेडिङले थाल्यो वैकल्पिक व्यवस्थापन

    ग्यास आपूर्ति सहज बनाउन साल्ट ट्रेडिङले थाल्यो वैकल्पिक व्यवस्थापन

    काठमाडौँ– पृथ्वीराजमार्ग अवरुद्ध भएपछि खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले निजी क्षेत्रसँग सहकार्य गर्दै वैकल्पिक आपूर्ति व्यवस्था अघि बढाएको छ । आफ्नै प्लान्टमा ग्यासको बुलेट ल्याउन नसक्ने अवस्था आएपछि कर्पोरेशनले निजी ग्यास उद्योगका प्लान्ट प्रयोग गरी आफ्ना ‘एसटिसी सिलिन्डर’ भर्न थालेको हो ।

    गत आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । त्यसको प्रत्यक्ष असर कर्पोरेशनको धादिङ जुगेखोलास्थित एलपीजी प्लान्टमा समेत परेको छ । यस्तो अवस्थामा उपभोक्तालाई ग्यासको अभाव हुन नदिन कर्पोरेशनले सहज स्थानमा रहेका मनोज र बाबा ग्यासका प्लान्टसँग सहकार्य गरी खाली एसटिसी सिलिन्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको हो ।

    कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाका अनुसार विपद्का कारण नियमित आपूर्ति प्रणाली प्रभावित भएपछि उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन वैकल्पिक उपाय अपनाइएको हो ।

    “पहिलो चरणमा शुक्रबारसम्म ती दुई निजी प्लान्टमा भरिएका आफ्ना ग्यासका सिलिन्डर काठमाडौँ आइपुग्ने छन्,” झाले भने ।

    कर्पोरेशनले आफ्नै प्लान्टका लागि छुटेका केही ग्यासका बुलेटसमेत निजी कम्पनीतर्फ ‘डाइभर्ट’ गरेको छ ।

    सीमित कोटाबीच उपभोक्तालाई राहत:

    एलपी ग्यासको आपूर्ति सहज बनाउन कर्पोरेशनले वैकल्पिक व्यवस्था गरे पनि नेपाल आयल निगमबाट प्राप्त हुने सीमित कोटाका कारण मागअनुसार ग्यास बिक्री गर्न चुनौती रहेको छ ।

    निगमले भारतीय आयल कर्पोरेशनसँग कुल तीन हजार २५ ग्यास बुलेटका लागि सम्झौता गरेकोमा कर्पोरेशनको भागमा करिब दुई प्रतिशत अर्थात् ५३ वटा बुलेट परेको छ । कर्पोरेशनले मासिक करिब ५५ हजारदेखि ६० हजार एसटिसी सिलिन्डर खपत गर्दै आएको छ ।

    यसबीच निजी ग्यास कम्पनीहरूले विभिन्न कारण देखाउँदै आपूर्ति प्रभावित हुँदा उपभोक्ता समस्यामा पर्दै आएका छन् । कर्पोरेशनले भने उपभोक्तालाई सहज बनाउन कुपन प्रणालीमार्फत वितरण गरिरहेको छ ।

    “उपभोक्तालाई कुपन वितरण गर्दा नै ग्यास प्राप्त गर्ने दिन सुनिश्चित गर्दछौँ,” झाले भने ।

    विपद्मा नुनको अभाव हुन नदिन पर्याप्त मौज्दात:

    ग्यास आपूर्तिमा वैकल्पिक व्यवस्था गरिरहेको कर्पोरेशनसँग आयोडिनयुक्त नुनको समेत पर्याप्त मौज्दात रहेको छ । सरकारले आयोडिनयुक्त नुन सर्वसुलभ रूपमा उपलब्ध गराउने नीति लिएको अवस्थामा कर्पोरेशनले करिब छ महिनालाई पुग्ने नुन भण्डारण गरेको जनाएको छ ।

    भदौ १७ गतेसम्म कर्पोरेशनका विभिन्न भण्डारणमा एक लाख २७ हजार ३६१ मेट्रिकटन आयोडिनयुक्त नुन मौज्दात रहेको झाले जानकारी दिए । देशभर वार्षिक दुई लाख टनभन्दा बढी नुनको माग हुने गरेकोमा कर्पोरेशनले गत आर्थिक वर्षमा करिब दुई लाख १० हजार टन नुन बिक्री गरेको थियो ।

    अत्यावश्यक वस्तुको आपूर्ति विपद्का बेला पनि निरन्तर राख्नुपर्ने भएकाले सार्वजनिक संस्थाको भूमिका महत्वपूर्ण हुने उपभोक्तावादीहरूको भनाइ छ । उनीहरूले नुनजस्तो अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा निजी क्षेत्रभन्दा सार्वजनिक संस्थालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै आएका छन् ।

    चिनीमा पनि बजार नियन्त्रणको प्रयास:

    कर्पोरेशनले अत्यावश्यक वस्तुको आपूर्ति मात्र होइन, बजारमा मूल्य नियन्त्रणका लागि समेत हस्तक्षेप गरिरहेको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य बढिरहेका बेला निजी क्षेत्रबाट प्रतिकिलो १३५ रुपैयाँसम्म बिक्री भइरहेको चिनी कर्पोरेशनले १०० रुपैयाँमा बिक्री गरिरहेको छ ।

    कर्पोरेशनका अनुसार भदौ ९ गते मात्रै ६०० टन चिनी भित्र्याइएको थियो । पछिल्ला दिनमा कर्पोरेशनले तीन हजार टन चिनी बजारमा पठाइसकेको छ ।

    त्यस्तै, चामल, दाल, गेडागुडी र तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढिरहेको अवस्थामा कर्पोरेशनले आफूले बिक्री गर्ने खाद्यान्नको मूल्य भने स्थिर राख्न सफल भएको जनाएको छ ।

    सहायक प्रमुख कार्यकारी अधिकृत झाले सार्वजनिक संस्थाको उद्देश्य नाफा कमाउनु मात्र नभई असहज परिस्थितिमा पनि नागरिकलाई अत्यावश्यक वस्तु निरन्तर उपलब्ध गराउनु रहेको बताए ।

    विपद्, सडक अवरोध र बजारमा मूल्यवृद्धिजस्ता असहज परिस्थितिमा साल्ट ट्रेडिङले ग्यास, नुन, चिनी तथा अन्य खाद्यवस्तुको आपूर्ति र मूल्य व्यवस्थापनमा हस्तक्षेप बढाएसँगै सार्वजनिक संस्थाले संकटका बेला निर्वाह गर्ने भूमिकामाथि पुनः बहस सुरु भएको छ ।