‘तरुल’को पुरानो भाष्य बदल्दै नेपाललाई आर्थिक पुल बनाउने परराष्ट्र नीति - Chaitanya News
  • 2026-08-21
  • 10:55:15
  • शुक्रबार,भाद्र ०५, २०८३
  • ‘तरुल’को पुरानो भाष्य बदल्दै नेपाललाई आर्थिक पुल बनाउने परराष्ट्र नीति

    ‘तरुल’को पुरानो भाष्य बदल्दै नेपाललाई आर्थिक पुल बनाउने परराष्ट्र नीति

    काठमाडौँ– परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई परम्परागत भू–राजनीतिक सीमाभन्दा माथि उठाउँदै आर्थिक विकास र क्षेत्रीय कनेक्टिभिटीसँग जोड्नुपर्ने बताएका छन् ।

    जर्मन संस्था फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफईएस) नेपालले काठमाडौंमा आयोजना गरेको ‘जियोपोलिटिकल कन्फ्लिक्ट इन द वल्फ वल्र्ड’ पुस्तक विमोचन तथा प्यानल छलफलमा बोल्दै मन्त्री खनालले नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’का रूपमा मात्र हेर्ने पुरानो भाष्य परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

    उनका अनुसार नेपालले आफ्ना दुई ठूला छिमेकीका तीव्र गतिमा विस्तार भइरहेका अर्थतन्त्रबीच **‘गतिशील र विश्वसनीय पुल’**को भूमिका निर्वाह गर्न सक्ने सम्भावना बोकेको छ । त्यसका लागि नेपालको कूटनीतिलाई लगानी, व्यापार, स्टार्टअप, ऊर्जा र सीमापार पूर्वाधारसँग प्रत्यक्ष जोड्न आवश्यक रहेको उनले बताए ।

    ‘एशियाले विश्वव्यापी आर्थिक वृद्धिको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । हामी नेपाललाई छिमेकीका तीव्र गतिमा विकास भइरहेका अर्थतन्त्रहरूलाई जोड्ने पुलका रूपमा रूपान्तरण गर्न चाहन्छौँ,’ उनले भने ।

    मन्त्री खनालले बदलिँदो विश्व राजनीतिले नेपालको अर्थतन्त्र र जनजीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको पनि बताए । विशेषगरी खाडी क्षेत्रको अस्थिरताले उडान, रोजगारी, ऊर्जा मूल्य र नेपाली नागरिकको सुरक्षासम्म असर पार्ने भएकाले नेपालको कूटनीति विश्वव्यापी शान्ति र स्थिरतासँग जोडिनुपर्ने उनको भनाइ छ ।

    नेपाल सन् २०२६ सम्म अतिकम विकसित राष्ट्र (एलडिसी) बाट स्तरोन्नति हुने लक्ष्यमा रहे पनि विश्वव्यापी प्रतिकूल परिस्थितिले चुनौती थपेको उनले बताए । व्यापारलाई विकासको मुख्य इन्जिन मानिए पनि प्रमुख अन्तर्राष्ट्रिय बजारमा रहेका गैर–शुल्क अवरोध र कठोर मापदण्डका कारण व्यापार मात्रले विकास सहायताको विकल्प दिन नसक्ने उनको धारणा छ ।

    जलवायु परिवर्तनको प्रसंगमा मन्त्री खनालले नेपालको योगदान नगन्य भए पनि जलवायु जोखिम उच्च रहेको बताए । सन् २०४५ सम्म नेट–जिरो उत्सर्जनको लक्ष्य हासिल गर्न नेपाललाई करिब ७४ अर्ब अमेरिकी डलर आवश्यक पर्ने उल्लेख गर्दै उनले जलवायु वित्तलाई दयाको विषय नभई न्यायको विषयका रूपमा प्रस्तुत गरे ।

    हिमालयको पारिस्थितिक प्रणालीमा अर्बौं मानिसको जीवन निर्भर रहेको भन्दै उनले अनुदानमा आधारित जलवायु वित्त र विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित गर्ने प्रतिबद्धताका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आएको बताए ।

    नेपालले हासिल गरेका समावेशी सामाजिक उपलब्धिलाई पनि उनले मुलुकको ‘सफ्ट पावर’का रूपमा व्याख्या गरे । लैंगिक अल्पसंख्यकको संवैधानिक संरक्षण, योगदानमा आधारित सामाजिक सुरक्षा तथा विकेन्द्रीकृत संघीय प्रतिनिधित्वजस्ता उपलब्धि आफ्नै सामाजिक मूल्य र आवश्यकताका आधारमा हासिल गरिएको उनको दाबी थियो ।

    नेपालको परराष्ट्र नीतिको मूल आधार ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ रहेको दोहोर्‍याउँदै मन्त्री खनालले स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रति सरकार प्रतिबद्ध रहेको बताए । बदलिँदो विश्व परिवेशमा भने परराष्ट्र नीतिलाई घरेलु आर्थिक आकांक्षाको ‘बाह्य पखेटा’का रूपमा प्रयोग गर्नुपर्ने उनको जोड थियो ।

    उनले कूटनीतिको केन्द्रमा अब ‘आर्थिक राज्यकला’लाई राख्दै विदेशी लगानी आकर्षण, स्टार्टअप प्रवर्द्धन तथा सीमापार ऊर्जा करिडोर निर्माणलाई प्राथमिकता दिने बताए ।

    विश्व राजनीतिमा बढ्दो शक्ति प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय मान्यताहरू कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री खनालले नेपाल संयुक्त राष्ट्रसंघको बडापत्र, बहुपक्षीयता र अन्तर्राष्ट्रिय कानूनको पक्षमा निरन्तर उभिने स्पष्ट पारे ।

    उनले नेपालको आगामी कूटनीतिक दिशा केवल भूराजनीतिक सन्तुलन कायम गर्नेमा सीमित नरही आर्थिक अवसर सिर्जना गर्ने, छिमेकी अर्थतन्त्रलाई जोड्ने र जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउनेतर्फ केन्द्रित हुनुपर्ने संकेत गरे ।