काठमाडौँ– लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, सडक कटान र हिलो जम्दा सडक यातायात प्रभावित भएको छ। जोखिमयुक्त सडकखण्डमा सम्भावित दुर्घटना रोक्न केही स्थानमा रातिको समयमा सवारीसाधन सञ्चालनमै रोक लगाइएको छ भने कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ६ बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडकखण्डमा वर्षाको प्रभाव परेको छ।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक मार्ग उपलब्ध रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो खसेको छ भने सोही वडाको लिपिङमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवामा पनि वर्षा र नदी कटानले सडक यातायातमा गम्भीर असर पारेको छ। उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, गोसाइँकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा पहिरो खसेपछि पासाङल्हामु सडकखण्ड पनि बन्द भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पहिरोका कारण अवरुद्ध भएको छ। लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि सडक सञ्चालनमा आउन सकेको छैन।
वर्षाका कारण सडक अवरुद्ध हुने क्रम बढेसँगै लामो दूरी तथा पहाडी क्षेत्रमा यात्रा गर्ने यात्रु जोखिममा परेका छन्। सडक खुलाउने प्रयास भइरहे पनि पहिरो तथा बाढीको जोखिम कायमै रहेकाले तत्कालै सबै सडकमा नियमित यातायात सञ्चालन हुने अवस्था नरहेको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।