काठमाडौँ– बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलतालाई व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ। केन्द्रीय बैंकले १८० दिन अवधिका लागि निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो।
राष्ट्र बैंकले बुधबार जारी गरेको सूचनाअनुसार निक्षेप सङ्कलनका लागि आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल हुनेछ। निक्षेप सङ्कलन उपकरणको निष्कासन मिति पनि आजै तोकिएको छ।
यस उपकरणको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले आफूले राख्न चाहेको रकमसँगै प्रस्तावित ब्याजदरसमेत उल्लेख गर्नुपर्नेछ। न्यूनतम १० करोड रुपैयाँदेखि १० करोडले भाग जाने रकममा अधिकतम आह्वान रकमसम्म बोल गर्न सकिने व्यवस्था छ।
राष्ट्र बैंकले बोल स्वीकार गर्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिनेछ। क्रमशः प्रस्तावित रकम बाँडफाँट गर्दै कुल ३५ अर्ब रुपैयाँसम्म निक्षेप सङ्कलन गरिनेछ। एउटै ब्याजदरमा आएका बोलको रकम कुल निष्कासित रकमभन्दा बढी भएमा उपलब्ध रकमलाई प्रो–राटा आधारमा बाँडफाँट गरिनेछ।
निक्षेप सङ्कलनको प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। आह्वान गरिएको रकमको सम्पूर्ण वा आंशिक बोल स्वीकार गर्ने वा अस्वीकार गर्ने अधिकार राष्ट्र बैंकको खुला बजार कारोबार सञ्चालन समितिलाई रहनेछ।
स्वीकृत बोलअनुसारको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकस्थित खाताबाट खर्च गरी निक्षेपको छुट्टै खातामा जम्मा गरिनेछ। बोल स्वीकृत भएपछि निष्कासनको दिन खातामा आवश्यक मौज्दात नपुगे सम्बन्धित संस्थालाई कालोसूचीमा राख्नुका साथै आगामी बोलकबोलमा सहभागी हुन रोक लगाइने व्यवस्था छ।
१८० दिनपछि अर्थात् आगामी फागुन ३ गते साँवा र ब्याज भुक्तानी हुनेछ। तोकिएको भुक्तानी मितिमा सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा ब्याजसहितको निक्षेप रकम जम्मा गरिनेछ।
राष्ट्र बैंकका अनुसार यस्तो निक्षेपलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाको लगानी पोर्टफोलियोमा गणना गर्न सकिनेछ। तर अनिवार्य नगद मौज्दात (सीआरआर) मा भने गणना गर्न पाइने छैन। राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने यसलाई गणना गर्न सकिनेछ।
बैंकिङ प्रणालीमा उपलब्ध तरलतालाई व्यवस्थापन गर्न राष्ट्र बैंकले समय–समयमा निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ। यसपटक ३५ अर्ब रुपैयाँ ६ महिनाका लागि सङ्कलन गर्न लागिएकाले बैंकिङ प्रणालीमा तत्काल उपलब्ध रकमको केही हिस्सा केन्द्रीय बैंकतर्फ तानिनेछ।