काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाउँदै पार्टीभित्रको गुटगत सिफारिस र व्यक्तिगत पहुँचका आधारमा टिकट पाउने अभ्यासलाई अन्त्य गर्ने घोषणा गरेको छ।
सोमबार सभापति रवि लामिछानेको उपस्थितिमा ‘क्यान्डिडेट क्लब’ घोषणा गर्दै पार्टीले पहिलो चरणमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यका लागि आवेदन खुलाएको हो। पहिलो चरणमा ४६० गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, तीन हजार ६८५ वडाध्यक्ष र १४ हजार ७४० वडा सदस्यका लागि मात्रै आवेदन आह्वान गरिएको छ।
स्थानीय तह निर्वाचनमा देशभर ठूलो संख्यामा उम्मेदवार आवश्यक पर्ने भए पनि रास्वपाले सबै तह र पदका लागि एकैपटक आवेदन नखोल्ने नीति लिएको छ। महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुखसँगै बाँकी वडाका उम्मेदवारका लागि आवेदन प्रक्रिया पछि सार्वजनिक गरिने पार्टीले जनाएको छ।
सभापति लामिछानेले उम्मेदवार छनोटमा ‘पावर, पहुँच र पैसा’को प्रभाव स्वीकार्य नहुने स्पष्ट पारे। पार्टीभित्र कसैलाई व्यक्तिगत रूपमा उम्मेदवार घोषणा गर्ने, टिकटको आश्वासन दिने वा आफ्नो समूहको उम्मेदवारका रूपमा अघि सार्ने गतिविधि भए त्यस्ता दाबी स्वतः खारेज हुने उनको भनाइ छ।
लामिछानेले महाधिवेशनपछि पार्टीभित्रको समायोजन प्रक्रिया सकिएको दाबी गर्दै अब रास्वपामा कुनै गुट वा उपगुट नरहेको बताए। उनका अनुसार पार्टीमा एउटै संगठन, एउटै नेतृत्व र एउटै राजनीतिक संरचना रहने भएकाले आफूलाई कुनै विशेष गुटसँग जोडेर उम्मेदवारी दाबी गर्ने प्रयासको औचित्य छैन।
रास्वपाले यसपटक उम्मेदवार छनोटमा क्यान्डिडेट क्लबलाई पुनः प्रयोगमा ल्याएको हो। यसअघि पनि पार्टीले क्यान्डिडेट क्लब, लिडरशिप एकेडेमी र प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छनोट गर्ने घोषणा गरेको थियो। तर तत्कालीन राजनीतिक परिस्थितिका कारण घोषित विधि पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको पार्टी नेतृत्वले स्वीकार गरेको छ।
महामन्त्री विपिनकुमार आचार्यका अनुसार स्थानीय तहमा ठूलो संख्यामा उम्मेदवार छनोट गर्नुपर्ने भएकाले सबै पदका लागि एकैपटक आवेदन खुलाउँदा व्यवस्थापनमा कठिनाइ हुने देखिएपछि चरणबद्ध प्रक्रिया अपनाइएको हो। गाउँपालिका, नगरपालिका वा प्रदेशगत रूपमा उम्मेदवार छनोट गर्ने विभिन्न विकल्पमाथि छलफल गरेपछि पहिलो चरणमा गाउँपालिकाबाट प्रक्रिया सुरु गरिएको उनले बताए।
रास्वपाले विगतमा उम्मेदवार छनोटको विषयलाई लिएर उठेका प्रश्नलाई समेत यसपटक सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ। विशेषगरी उम्मेदवार छनोटमा पारदर्शिता, लोकप्रियता र पार्टीभित्रको पहुँचबीचको सन्तुलनलाई लिएर विगतमा नेतृत्वमाथि आलोचना भएको थियो।
२०७९ सालको स्थानीय तह निर्वाचनका बेला पार्टीले क्यान्डिडेट क्लब र लिडरशिप एकेडेमीको अवधारणा अघि सारे पनि उम्मेदवार छनोटको स्पष्ट र संस्थागत संरचना तयार नभइसकेकाले प्राइमरी इलेक्सनको विधि अपनाइएको आचार्यले बताएका छन्। अहिले भने विधानमै उम्मेदवार छनोटको व्यवस्था गरिएको र सोही आधारमा प्रक्रिया अघि बढाइएको पार्टीको दाबी छ।
रास्वपाले समानुपातिकतर्फ उम्मेदवार छनोट गर्दा नयाँ विधिको प्रयोग सफल भएको दाबी गरे पनि प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गर्दा सबै पक्षलाई समेट्नुपर्ने अवस्थाका कारण सोही विधि पूर्ण रूपमा लागू गर्न नसकिएको आचार्यको भनाइ छ।
यद्यपि, उम्मेदवार छनोटको संरचना बने पनि केन्द्रीय समितिको भूमिका भने पूर्ण रूपमा हटाइएको छैन। पार्टीको व्यवस्थाअनुसार १५ प्रतिशतसम्म उम्मेदवार केन्द्रीय समितिले छनोट गर्न सक्ने प्रावधान यथावत् रहेको आचार्यले जानकारी दिए।
रास्वपाले यसपटक महामन्त्री आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट कार्यदलसमेत बनाएको छ। महाधिवेशनअघि तयार गरिएको उम्मेदवार छनोटसम्बन्धी रुपरेखामा समेत धेरै संशोधन गरिएको पार्टीको भनाइ छ।
यसअघि रुपन्देही–३ मा हुने भनिएको उपनिर्वाचनका लागि समेत रास्वपाले यही प्रकारको विधि प्रयोग गर्ने तयारी गरेको थियो। तर त्यसपछि विकसित राजनीतिक घटनाक्रमले निर्वाचनको समय र स्वरूप नै परिवर्तन भएपछि प्रक्रिया अघि बढ्न सकेन।
फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि रास्वपाले समानुपातिक र प्रत्यक्षतर्फ छुट्टाछुट्टै चरणमा उम्मेदवार छनोटको प्रक्रिया अघि बढाएको थियो। तर पार्टीले पारदर्शिता र विधिको कुरा गरे पनि व्यवहारमा त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै पार्टीभित्रै असन्तुष्टि देखिएको थियो।
विशेषगरी प्राइमरी इलेक्सनमा राम्रो मत ल्याएका कतिपय आकांक्षीलाई पछि पार्दै शक्ति र पहुँच भएका व्यक्तिलाई अवसर दिइएको आरोप नेतृत्वमाथि लागेको थियो। क्यान्डिडेट क्लब र लिडरशिप एकेडेमीमा प्राप्त मत तथा छनोट प्रक्रियाको परिणाम पारदर्शी रूपमा सार्वजनिक नगरिएको भन्दै पनि प्रश्न उठेका थिए।
अब स्थानीय तह निर्वाचनका लागि सुरु गरिएको क्यान्डिडेट क्लबले ती पुराना प्रश्नको जवाफ दिनुपर्ने चुनौती रास्वपामाथि छ। पार्टीले विगतका कमजोरी सच्याएर पारदर्शी र संस्थागत रूपमा उम्मेदवार छनोट गर्न सकेमा उसको नयाँ राजनीतिक अभ्यासको दाबी बलियो बन्नेछ। तर फेरि पनि शक्ति, पहुँच र नेतृत्वनिकटताको प्रभाव देखिएमा यसपटक घोषणा गरिएको नयाँ प्रक्रियामाथि नै प्रश्न उठ्ने सम्भावना छ।
रास्वपाले बाँकी नगरपालिका तथा अन्य स्थानीय तहका पदका लागि उम्मेदवार आह्वानको प्रक्रिया छिट्टै सार्वजनिक गर्ने जनाएको छ। त्यससँगै क्यान्डिडेट क्लबमार्फत सुरु भएको नयाँ छनोट प्रणाली व्यवहारमा कति पारदर्शी र प्रभावकारी हुन्छ भन्ने परीक्षण पनि सुरु हुनेछ।