काठमाडौँ– आज आज (बिहिवार) एकै दिन पाँच वटा संसदीय समितिको बैठक बस्दै छन्।
जस अनुसार, अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ। बैठक बिहान ९ः ३० बजे बस्ने तय भएको छ । यस्तै, बिहान १० बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बस्दैछ । बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ मा परेको संशोधनहरूमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।
यसैगरी, बिहान ११ बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने तय भएको छ । बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा’ छलफल हुनेछ।
त्यसैगरी, पूर्वाधार विकास समितिको बैठकमा खानेपानी आपूर्ति कार्य योजनाको प्रतिवेदनमाथि छलफल गरिँदै छ। बैठक बिहान १० बजे बस्दैछ। बिहान ११ बजेका लागि तय भएको महिला तथा सामाजिक विकास समितिको बैठकमा ‘राष्ट्रिय दलित आयोगको काम कारबाही तथा प्रगति’ सम्बन्धमा छलफल हुने कार्यक्रम छ।