काठमाडौँ– युवा सहभागिता, उद्यमशीलता र रोजगारीका विषयलाई प्राथमिकतामा राख्दै आज देशभर विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि हरेक वर्ष अगस्ट १२ मा मनाइँदै आएको दिवस यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नाराका साथ मनाउन लागिएको हो।
दिवसका अवसरमा युवाको नीति निर्माण तथा कार्यान्वयनमा सहभागिता बढाउने, युवा केन्द्रित बहस तथा पैरवीलाई प्रभावकारी बनाउने र युवाका लागि लगानी तथा साझेदारी विस्तार गर्ने विषयमा जोड दिइएको छ। युवामैत्री शासन प्रवर्द्धनसँगै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीच सहकार्य र साझेदारी बढाउने उद्देश्यसमेत दिवसले बोकेको छ।
दिवसका अवसरमा काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोह आयोजना हुँदैछ। समारोहमा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसम्बन्धी प्रदर्शनीसहित युवा उद्यमशीलता र रोजगारी प्रवर्द्धनका विषयमा उच्चस्तरीय प्यानल छलफल गरिने कार्यक्रम छ।
यसअघि बिहान भृकुटीमण्डपदेखि कमलादीसम्म युवा जागरण दौड आयोजना हुँदैछ। दिवसकै अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न छवटा व्यवसायलाई पुरस्कृत गरिनेछ। सातै प्रदेशका युवा उद्यमीलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ।
अन्तर्राष्ट्रिय युवा दिवसले सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताबीच एकता र पारस्परिकता कायम गर्दै युवाको क्षमता र सम्भावनालाई विकासमा जोड्ने सन्देश दिँदै आएको छ।
दिवस मनाउनुको अर्को महत्वपूर्ण उद्देश्य युवालाई विकासको साझेदारका रूपमा स्थापित गर्नु हो। नीति निर्माणदेखि कार्यान्वयनसम्म युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै उनीहरूको क्षमता, सिर्जनशीलता र ऊर्जालाई राष्ट्र निर्माणमा उपयोग गर्ने विषयमा दिवसले बहस अघि बढाउने गरेको छ।
राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवं युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा साउन १ गते बसेको बैठकले यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवसलाई भव्यताका साथ मनाउने निर्णय गरेको थियो।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको संख्या एक करोड २४ लाख १२ हजार १७३ रहेको छ। यो कुल जनसंख्याको ४२ दशमलव ५६ प्रतिशत हो। युवालाई मानव जीवनको ऊर्जाशील, सिर्जनशील र सम्भावनायुक्त उमेर समूहका रूपमा लिइन्छ।
यसर्थ, अन्तर्राष्ट्रिय युवा दिवस केवल उत्सवको दिन मात्र नभई युवाका सवाल, अवसर, चुनौती र भविष्यबारे नीति तथा व्यवहारिक तहमा बहस गर्ने अवसरका रूपमा समेत मनाइँदै आएको छ।