कर्णालीतर्फ: जहाँ इतिहास नदीझैँ बगिरहन्छ - Chaitanya News
  • 2026-08-11
  • 18:19:59
  • मंगलबार,साउन २६, २०८३
  • कर्णालीतर्फ: जहाँ इतिहास नदीझैँ बगिरहन्छ

    कर्णालीतर्फ: जहाँ इतिहास नदीझैँ बगिरहन्छ

    (नियात्रा)

    तोमनाथ उप्रेती:

     काठमाडौंको बिहान सधैंझैँ व्यस्त थियो। सडकहरू विस्तारै मानिसहरूको चहलपहलले भरिँदै थिए। पूर्वतिरबाट उदाउँदै गरेको सूर्यको कोमल प्रकाशले उपत्यकालाई सुनौलो रङले रंगाइरहेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड, उद्घोषकको मधुरो आवाज र विमानहरूको निरन्तर आवतजावतले आधुनिक जीवनको गति अनुभव गराइरहेको थियो। तर बाहिरको त्यो कोलाहलभन्दा बिल्कुल फरक, मेरो मनभित्र एउटा अनौठो शान्ति थियो। यो यात्रा कुनै औपचारिक भ्रमण मात्र थिएन। यो कर्णालीतर्फको यात्रा थियो, त्यस्तो भूमितर्फ, जहाँ इतिहास अझै पनि ढुंगामा कुँदिएको छ, जहाँ नदीहरूले सभ्यताको कथा सुनाउँछन् र जहाँ हिमालहरूले हजारौँ वर्षदेखि मौन ध्यान गरिरहेका छन्।

    विमानमा आफ्नो सिटमा बसेपछि मैले झ्यालतिर हेरेँ। केही क्षणमै विमानले धावनमार्ग छोड्यो र बिस्तारै आकाशतिर उक्लिन थाल्यो। काठमाडौं उपत्यका विस्तारै सानो हुँदै गयो। घरहरू खेलौनाजस्ता देखिन थाले। सडकहरू धागोजस्ता लाग्न थाले। केहीबेरमै हरिया डाँडाहरू खुल्दै गए र क्षितिजमा सेता हिमालहरू एकपछि अर्को गर्दै देखापर्न थाले। त्यो दृश्य केवल प्राकृतिक सौन्दर्यको प्रदर्शन थिएन त्यो पृथ्वी र आकाशबीचको मौन संवादजस्तो लागिरहेको थियो। मलाई अनुभूति भयो म केवल स्थान परिवर्तन गरिरहेको छैन, म समयको तहहरू पार गर्दै एउटा प्राचीन सभ्यताको स्मृतिभित्र प्रवेश गरिरहेको छु। यही भावनाले मेरो यात्रालाई साधारण भ्रमणबाट आत्मिक खोजमा रूपान्तरण गरिदियो।

    विमान बादलमाथि स्थिर गतिमा अघि बढिरहेको थियो। झ्यालबाहिर अनन्त फैलिएको हिमशृङ्खलालाई हेर्दै गर्दा मेरो मनमा छान्दोग्य उपनिषद्को एउटा गहिरो वाक्य स्वतः उदायो, सर्वं खल्विदं ब्रह्म।” सम्पूर्ण अस्तित्व एउटै विराट चेतनाको अभिव्यक्ति हो। यदि यो सत्य हो भने हिमाल र म अलग छैनौँ। नदी र म अलग छैनौँ। वन, आकाश, माटो र मानव पनि कुनै विभाजित अस्तित्व होइनन्। हामी सबै एउटै चेतनाको विविध रूप मात्र हौँ। यही अनुभूतिले यात्रालाई बाहिरी दृश्यको अवलोकनबाट भित्री चेतनाको यात्रामा रूपान्तरण गरिदियो। प्रकृतिलाई जित्नुपर्ने वस्तु होइन, आत्मीयताका साथ बुझ्नुपर्ने गुरुका रूपमा अनुभव गर्न थालेँ।

    केहीबेरपछि विमान सुर्खेतको आकाशमाथि आइपुग्यो। तल हरियो उपत्यका विस्तारै खुल्दै गयो। चारैतिर फैलिएका वन, नदीका धर्साहरू र शान्त बस्तीहरूले कर्णालीको प्रवेशद्वारमा स्वागत गरिरहेका थिए। विमानस्थलमा पाइला टेक्नेबित्तिकै हावाको स्पर्श फरक लाग्यो। त्यो हावामा हिमालको शीतलता थियो। वनको सुगन्ध थियो। इतिहासको मौनता थियो। माटोले कुनै अपरिचित यात्रुलाई होइन, धेरैपछि फर्किएको आफ्नै मानिसलाई चिनेजस्तो अनुभूति भयो। त्यही क्षण मैले महसुस गरेँ,कर्णाली केवल एउटा प्रशासनिक प्रदेश होइन। यो स्मृतिको विशाल भण्डार हो। सभ्यताको जीवित संग्रहालय हो।

    इतिहासका पानाहरू पल्टाउँदै जाँदा कर्णालीको गौरवशाली अतीत झन् स्पष्ट हुँदै जान्छ। कुनै समय यही भूमि नेपालको सबैभन्दा शक्तिशाली राज्यको केन्द्र थियो। बार्हौँ शताब्दीमा राजा नागराजले पाल राज्यमाथि विजय प्राप्त गरेपछि शिंजालाई आफ्नो राजधानी बनाए। त्यही शिंजा नेपाली भाषा, खस सभ्यता र संस्कृतिको उद्गमस्थलका रूपमा विकसित भयो। यहाँबाट निस्किएको भाषिक र सांस्कृतिक चेतनाले पछि सम्पूर्ण नेपाललाई जोड्ने साझा पहिचान निर्माण गर्‍यो। आज पनि शिंजाको माटोमा उभिँदा इतिहास अनुभव गरिने वास्तविकता जस्तो लाग्छ।

    मैले केही क्षण आँखा चिम्लिएँ। समयका तहहरू एकाएक खुल्न थाले। मलाई लाग्यो, यही हावामा अझै पनि खस सेनाका घोडाहरूको टाप सुनिन्छ। व्यापारिक कारवाँका घण्टीहरू मन्द स्वरमा बजिरहेका छन्। हिमाली बाटो हुँदै नुन, ऊन, जडीबुटी र अन्न बोकेका व्यापारीहरू दक्षिणतर्फ झरिरहेका छन्। उत्तरबाट आएका यात्रुहरू गुगेको कथा सुनाइरहेका छन्। इतिहास हराएको थिएन; केवल मौन भएको थियो।

    तेह्रौँ शताब्दीमा खस राज्यको प्रभाव विशाल भूभागमा फैलिएको थियो। पूर्वमा गोर्खासम्म, पश्चिममा काश्मिरको लद्दाखसम्म, उत्तरमा तिब्बतको गुगेसम्म र दक्षिणमा भारतको गोमती नदीसम्म यसको राजनीतिक, आर्थिक र सांस्कृतिक प्रभाव पुगेको थियो। त्यो विस्तार केवल भूभागको विजय थिएन; व्यापार, भाषा, संस्कृति र सभ्यताको प्रवाह पनि थियो। त्यसैले कर्णालीलाई बुझ्नु भनेको केवल एउटा प्रदेशलाई बुझ्नु होइन, नेपालको ऐतिहासिक आत्मालाई बुझ्नु हो।

    कर्णालीको इतिहासलाई नजिकबाट बुझ्दै जाँदा मलाई एउटा कुरा झन् स्पष्ट हुँदै गयो। कुनै पनि सभ्यताको शक्ति केवल उसका युद्ध जित्ने सेनामा सीमित हुँदैन। वास्तविक शक्ति उसले निर्माण गरेको ज्ञान, व्यापार, संस्कृति र समाजको साझा विश्वासमा निहित हुन्छ। खस राज्यको समृद्धि पनि त्यही आधारमा उभिएको थियो। यहाँको अर्थतन्त्र हिमाल र मैदानलाई जोड्ने व्यापारिक मार्गमा आधारित थियो भने समाज सामूहिक श्रम, परस्पर सहयोग र सांस्कृतिक एकताले बलियो बनेको थियो। त्यसैले कर्णालीले आफ्नो प्रभाव केवल तरबारको धारले होइन, सभ्यताको उज्यालोले विस्तार गरेको थियो।

    कर्णाली नदीको किनारसँगै शताब्दीयौँसम्म एउटा जीवन्त व्यापारिक रेशम मार्ग प्रवाहित थियो। उत्तरतर्फ तिब्बतको गुगे र बराङबाट सुरु भएको व्यापारिक कारवाँ हुम्ला, जुम्ला, दुल्लु र सुर्खेत हुँदै दक्षिणमा भारतसम्म पुग्थ्यो। यही मार्गबाट नुन, ऊन, जडीबुटी, अन्न, धातु र हस्तकलाका सामग्री मात्र ओसारपसार हुँदैनथे; विचार, भाषा, संस्कृति, धर्म र जीवनदर्शन पनि एक सभ्यताबाट अर्को सभ्यतासम्म यात्रा गर्थे। त्यसैले कर्णाली नदीलाई हेर्दा मलाई लाग्यो नदीहरूले कहिल्यै पानी मात्र बगाउँदैनन्। उनीहरूले सभ्यताको स्मृति, समयको कथा र मानवताको साझा अनुभव पनि सँगै बगाइरहेका हुन्छन्। नदीको प्रवाह वास्तवमा इतिहासको प्रवाह रहेछ।

    यात्रा दुल्लुतर्फ अघि बढ्दै जाँदा समय अचानक मन्द गतिमा बग्न थालेको अनुभूति भयो। प्राचीन कीर्तिस्तम्भ मेरो सामुन्ने निस्पन्द उभिएको थियो। त्यसले कुनै शब्द बोलेन। तर त्यसको मौनताले हजारौँ वर्षको इतिहास सुनाइरहेको थियो। ढुङ्गामा कुँदिएका अक्षरहरू, क्षय हुँदै गरेका आकृतिहरू र त्यसको वरिपरि फैलिएको शान्त वातावरणले इतिहासलाई पुस्तकका पानाबाट निकालेर प्रत्यक्ष उपस्थित गराइदिएको थियो। त्यहाँ उभिँदा मैले बुझें कतिपय स्मारकहरू बोल्दैनन्, तर तिनको मौनता नै सबैभन्दा गहिरो भाषा हुन्छ।

    इतिहासले अर्को रोचक तथ्य पनि सम्झायो। खस राज्यले शिंजालाई आर्थिक तथा व्यापारिक केन्द्रका रूपमा विकास गरेको थियो भने दुल्लुलाई प्रशासनिक केन्द्रका रूपमा स्थापित गरेको थियो। आज विश्वका धेरै विकसित राष्ट्रहरूले आर्थिक राजधानी र प्रशासनिक राजधानीलाई फरक फरक सहरमा विकास गर्ने अवधारणा अपनाइरहेका छन्। तर कर्णालीले यो सोच मध्ययुगमै व्यवहारमा उतारिसकेको थियो। त्यसैले कहिलेकाहीँ वर्तमानले आफूलाई आधुनिक ठान्छ, तर इतिहास धेरै अघि पुगिसकेको हुन्छ। विकासका केही उत्कृष्ट अवधारणाहरू भविष्यले होइन, विगतले जन्माएका रहेछन्। कर्णाली त्यसको जीवन्त प्रमाण हो।

    दुल्लुबाट गाउँतिर यात्रा अघि बढ्दै गयो। सडक साँघुरिँदै गयो। पहाडहरू झन् नजिकिँदै गए। बाटोका दुवैतर्फ परम्परा अझै पनि जीवित देखिन्थी। गाउँका एक वृद्धले धर्मभकारीको कथा सुनाउनुभयो। कसैको घरमा अन्न अभाव भयो भने गाउँको सामूहिक भकारी उसको सहारा बन्थ्यो। अर्को ठाउँमा पर्मको कथा सुनियो, जहाँ खेत रोप्ने, बाली भित्र्याउने वा घर बनाउने काम एक्लै होइन, गाउँलेहरू मिलेर गर्थे। खिम्तीको अभ्यासले दुःख–सुखमा एकअर्काको साथ दिन सिकाएको थियो। नोरलाले सामूहिक श्रमको संस्कृतिलाई जीवन्त बनाएको थियो। सामूहिक पशुपालन, सामूहिक उत्पादन र सामूहिक व्यापार यहाँको जीवनपद्धतिको अभिन्न हिस्सा थिए। यी सबै अभ्यासहरूले एउटा समाजलाई केवल आर्थिक रूपमा होइन, नैतिक र भावनात्मक रूपमा पनि आत्मनिर्भर बनाएका थिए।

    म केहीबेर मौन भएँ। आधुनिक अर्थशास्त्रले आज सहकार्य, सामाजिक पूँजी, सहकारी आन्दोलन र दिगो विकासका सिद्धान्तहरू खोजिरहेको छ। तर कर्णालीका गाउँहरूले ती मूल्यहरू शताब्दीयौँदेखि जीवनकै व्यवहारमा उतारिसकेका रहेछन्। यहाँ आत्मनिर्भरता कुनै सरकारी नीति थिएन, कुनै विकास योजनाको शब्द पनि थिएन। त्यो त दैनिक जीवनको सहज संस्कार थियो। मानिसहरू एकअर्काको प्रतिस्पर्धी होइनन्; सहयात्री थिए। त्यही कारण यहाँको गरिबीले पनि सम्बन्धलाई गरिब बनाउन सकेको थिएन। मैले महसुस गरेँ।समृद्धि धनको सङ्कलन होइन, विश्वासको सञ्चय पनि रहेछ।

    यात्रा अझै उत्तरतर्फ लम्बिँदै गयो। कहिले घना वनले बाटो ढाक्थ्यो। कहिले अग्ला चट्टानहरूले यात्रुलाई आफ्नो सानोपनको अनुभूति गराउँथे। कहिले कर्णाली नदी तल गहिरो खोँचमा अविरल बगिरहेको देखिन्थी। नदीको गर्जन र हावाको सुसाइले प्रकृतिको आफ्नै संगीत रचिरहेका थिए। प्रत्येक मोडमा नयाँ दृश्य खुल्थ्यो र प्रत्येक दृश्यले जीवनलाई नयाँ ढङ्गले बुझ्न सिकाउँथ्यो।

    कर्णालीको विशालता केवल नक्सामा देखिने क्षेत्रफलमा सीमित छैन; यसको आत्मा पनि उत्तिकै विशाल छ। नेपालको सबैभन्दा ठूलो प्रदेश, जहाँ डोल्पा मुकुटझैँ उभिएको छ। रारा ताल यसको निर्मल आँखाजस्तो लाग्छ, जसले आकाशलाई आफ्नै हृदयमा सुरक्षित राखेको छ। शे–फोक्सुण्डो ताल भने यसको गहिरो मौन हो, जहाँ पानीभन्दा पनि शान्ति गहिरो देखिन्छ। टाढा चुरेन हिमाल बादलमाथि उज्यालो मुस्कान छर्दै उभिएको थियो। हिमालले कुनै शब्द बोलेन, तर त्यसको मौन उपस्थितिले धेरै कुरा भनिरहेको थियो। त्यही बेला मलाई लाग्यो प्रकृतिको सबैभन्दा गहिरो भाषा मौनता नै हो। जसले सुन्न जान्दछ, उसले हिमालको मौनतामा पनि दर्शन भेट्टाउँछ।

    कर्णालीले अर्को गहिरो सत्य पनि सम्झायो। यही प्रदेशमा समुद्री सतहबाट सबैभन्दा उच्च हिमशिखरहरू छन् भने सबैभन्दा होचो भूभाग जामु कुइने पनि यहीँ अवस्थित छ। एउटै भूमिले शिखर र गहिराइ दुवैलाई समान रूपमा अँगालेको छ। जीवन पनि यस्तै रहेछ। उचाइ र अवतरण, सफलता र सङ्घर्ष, उज्यालो र अँध्यारोयी सबै एउटै अस्तित्वका परिपूरक पक्ष हुन्। केवल शिखरलाई स्वीकार गर्नेले पृथ्वीलाई बुझ्न सक्दैन; भिरको गहिराइलाई पनि स्वीकार गर्नुपर्छ।

    जताततै हरिया वन फैलिएका थिए। कतै बाक्ला रुखहरू, कतै बुट्यानले ढाकेका पहाड, कतै टाढासम्म फैलिएका हिमक्षेत्रहरू। प्रकृतिले यहाँ उदार भएर आफ्ना सबै रूपहरू छरेकी थिई। वनले जीवनको ऊर्जा दिएको थियो। हिमालले धैर्य सिकाएको थियो। नदीले निरन्तरता सम्झाएको थियो। कर्णालीको यात्रामा प्रत्येक दृश्य एउटा पाठ थियो, प्रत्येक मोड एउटा ध्यान थियो र प्रत्येक पाइला आत्मबोधतर्फको अर्को यात्रा।

    यात्रा अझै अगाडि बढिरह्यो। कतै उर्वर कृषिभूमि देखिन्थ्यो। कतै खुला निलो आकाश धरतीमाथि अनन्त छाताजस्तै फैलिएको थियो। घना वन, बुट्यान, हिमक्षेत्र र खेतीयोग्य जमिनले कर्णालीलाई प्राकृतिक विविधताको अनुपम उपहार दिएका रहेछन्। समुद्री सतहदेखि अग्ला हिमालसम्म फैलिएको भूगोलले एउटै प्रदेशभित्र अनेक हावापानी, जैविक विविधता र जीवनशैलीलाई आश्रय दिएको छ। प्रकृतिले यहाँ विविधताभित्रको एकताको पाठ पढाउँछ। फरक–फरक स्वरूपहरू भए पनि सबै एउटै पृथ्वीका अभिव्यक्ति हुन् भन्ने अनुभूति स्वतः जाग्छ।

    तर यात्राको अर्को अनुहार पनि थियो। बाटोमा भेटिएका गाउँहरूले केवल प्राकृतिक सुन्दरता मात्र देखाएनन्; उनीहरूले विकासको असमान कथा पनि सुनाए। कतै विद्यालय थिए, तर पर्याप्त शिक्षक थिएनन्। कतै स्वास्थ्य चौकी थियो, तर आवश्यक सेवा थिएन। कतिपय युवाहरू अवसरको खोजीमा घर छोडिसकेका थिए। आँकडाहरूले पनि यही यथार्थ बोल्छन् मानव विकास सूचकाङ्क राष्ट्रिय औसतभन्दा तल, साक्षरता अपेक्षाकृत कम, स्वास्थ्य सेवाको पहुँच सीमित, बहुआयामिक गरिबीको दर उच्च। इतिहास गौरवशाली थियो, तर वर्तमान अझै पनि सम्भावनासँग संघर्ष गरिरहेको थियो। मेरो मन केहीबेर मौन भयो। प्रकृतिको यति धेरै सम्पत्ति भएको भूमिमा अवसरको अभाव किन रहिरह्यो? यो प्रश्न मनभित्र लामो समयसम्म घुमिरह्यो।

    त्यही बेला बाटोछेउको चौतारोमा बसेका एक जना वृद्धसँग भेट भयो। उहाँको अनुहारमा संघर्षका गहिरा रेखाहरू थिए, तर आँखामा आशाको उज्यालो बाँकी थियो। सामान्य कुराकानीका क्रममा मैले सहजै सोधेँ, “कर्णाली किन अझै पछाडि परेको होला?” उहाँ हल्का मुस्कुराउनुभयो र धेरै अनुभव समेटिएको स्वरमा भन्नुभयो, कर्णाली गरिब छैन बाबु, अवसर टाढा छ।” त्यो एउटा वाक्य मात्र थिएन; त्यो पूरै प्रदेशको पीडाको सार थियो। त्यसपछि मैले कर्णालीलाई गरिबीको दृष्टिले होइन, अवसरबाट वञ्चित सम्भावनाको दृष्टिले हेर्न थालेँ। वास्तवमा स्रोतको अभावभन्दा अवसरको अभावले समाजलाई बढी कमजोर बनाउँदो रहेछ।

    साँझ पर्दै गर्दा म सुर्खेत फर्किएँ। अस्ताउँदै गरेको सूर्यको सुनौलो प्रकाश प्रदेश सभाको भवनमा परिरहेको थियो। त्यो भवन संघीय नेपालको नयाँ यात्राको प्रतीकजस्तो देखियो। संविधानले निर्माण गरेको प्रदेश संरचनाले कर्णालीलाई आफ्ना आवश्यकता, प्राथमिकता र सम्भावनाअनुसार विकासको मार्ग तय गर्ने अवसर दिएको छ। प्रदेश सभाका सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति, सामाजिक विकास समिति र प्रदेश मामिला समितिजस्ता संरचनाहरूले लोकतन्त्रलाई व्यवहारमा उतार्ने जिम्मेवारी बोकेका छन्। त्यही बेला मैले महसुस गरेँ लोकतन्त्र संस्थागत उत्तरदायित्वले बन्छ। संस्थाहरू पारदर्शी, सक्षम र जवाफदेही भए मात्र प्रदेशको भविष्य बलियो हुन्छ।

    रात विस्तारै ओर्लियो। सुर्खेतको आकाश ताराहरूले भरिन थाल्यो। हिमाल अँध्यारोभित्र विलीन भए, तर उनीहरूको उपस्थिति अझै अनुभव गर्न सकिन्थ्यो। त्यही मौन क्षणमा मैले कर्णालीको वास्तविक सम्पत्तिबारे सोच्न थालेँ। यसको सम्पत्ति केवल हिमाल होइन। नदी पनि होइन। वन वा खनिज मात्र पनि होइन। यसको सबैभन्दा ठूलो सम्पत्ति यसको ऐतिहासिक स्मृति हो। सामूहिक श्रमको संस्कृति हो। परस्पर सहयोगको परम्परा हो। कठिनाइलाई धैर्यपूर्वक सामना गर्ने मानवीय शक्ति हो। सभ्यताको वास्तविक धन प्रकृतिभन्दा पनि मानिसको चेतनामा सुरक्षित रहँदो रहेछ।

    मलाई बुद्धको अनित्यको सिद्धान्त सम्झना आयो। संसारमा कुनै पनि अवस्था स्थायी छैन। परिवर्तन नै जीवनको शाश्वत नियम हो। कर्णाली पनि परिवर्तनको यात्रामा छ। सडकहरू थपिँदै छन्। शिक्षा विस्तार हुँदै छ। स्वास्थ्य सेवा सुधार हुँदै छ। लोकतान्त्रिक संस्थाहरू क्रमशः परिपक्व हुँदै छन्। तर परिवर्तनको यो यात्रामा एउटा कुरा कहिल्यै हराउनु हुँदैन—आफ्नो आत्मा। नदीले आफ्नो स्रोत बिर्सँदैन। रुखले आफ्नो जरा बिर्सँदैन। सभ्यताले पनि आफ्नो इतिहास, भाषा, संस्कृति र मूल्यलाई बिर्सियो भने त्यसको भविष्य पनि कमजोर हुन्छ।

    फर्कने दिन आयो। बिहानको चिसो हावासँगै विमान फेरि काठमाडौंतर्फ उड्न थाल्यो। झ्यालबाहिर कर्णालीका हिमालहरू विस्तारै टाढिँदै गए। नदीहरू फेरि साना रेखाजस्ता देखिन थाले। तर यसपटक टाढा भएको केवल भूगोल थियो; कर्णालीको अनुभूति भने मेरो मनभित्र अझै गहिरिँदै गइरहेको थियो। मैले यात्रा सुरु गर्दा एउटा प्रदेश हेर्न आएको थिएँ। फर्कँदा एउटा सभ्यता, एउटा दर्शन र एउटा जीवनपद्धति बोकेर फर्किरहेको थिएँ। मैले महसुस गरेँ—यात्राले परिवर्तन गरेको ठाउँ होइन, यात्रुले आफूभित्र भेटेको नयाँ चेतना नै यात्राको सबैभन्दा ठूलो उपलब्धि हो। म काठमाडौं फर्किरहेको थिएँ, तर वास्तवमा म पहिलेको मानिस रहेनछु। कर्णालीले मेरो दृष्टि परिवर्तन गरिसकेको थियो।

    मैले कर्णालीमा एउटा प्रदेश मात्र देखिनँ, एउटा जीवित सभ्यता पढेँ। ढुङ्गामा कुँदिएको इतिहास, नदीसँगै बगेको संस्कृति, गाउँको सामूहिक जीवन, हिमालको मौनता र मानिसहरूको अनुहारमा अंकित धैर्यले मलाई पुस्तकभन्दा धेरै गहिरो ज्ञान दिए। मैले नदी मात्र देखिनँ; समय निरन्तर बगिरहेको देखें। शताब्दीयौँदेखि सभ्यता, व्यापार, भाषा र संस्कृतिलाई बोकेर बगेका ती नदीहरूले मलाई सिकाए कि पानी कहिल्यै आफ्नो यात्रा रोक्दैन, तर त्यसले बोक्ने स्मृतिहरू पुस्तौँसम्म जीवित रहन्छन्। मैले हिमाल मात्र देखिनँ; मौनको दर्शन सुनेँ। त्यहाँ उभिएका शिखरहरूले शब्दबिना नै धैर्य, स्थिरता र विनम्रताको पाठ पढाइरहेका थिए। वनले सहअस्तित्वको अर्थ बुझायो, गाउँहरूले सहकार्यको शक्ति देखाए, र मानिसहरूले अभावका बीच पनि आशा जोगाइराख्ने साहस सिकाए।

    र अन्त्यमा मैले बुझेँ सभ्यताको निर्माण मानिसको चेतना, संस्कृति र साझा मूल्यहरूले गर्छ। समृद्धि धनको मात्र नाम होइन, विश्वास, सहकार्य र आत्मनिर्भरताको अर्को रूप पनि हो। इतिहास वर्तमानलाई मार्गदर्शन गर्ने र भविष्यलाई दिशा दिने जीवित स्मृति हो। नदीले आफ्नो स्रोत बिर्सँदैन, रुखले आफ्नो जरा बिर्सँदैन, त्यसैगरी कुनै पनि समाजले आफ्नो इतिहास, भाषा र संस्कृतिलाई बिर्सनु हुँदैन। काठमाडौं फर्किँदा मैले आफैँलाई नयाँ दृष्टिले चिन्न थालेको थिएँ। कर्णाली मेरो लागि नक्सामा सीमित एउटा प्रदेश रहेन, बरु आत्मबोध, सभ्यता र मानवीय चेतनाको अनन्त यात्रामा रूपान्तरण भइसकेको थियो।