काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका विभिन्न भागमा देखिएको सामाजिक र धार्मिक सद्भाव बिथोलिने प्रयासप्रति चिन्ता व्यक्त गर्दै नेपालीहरूबीचको एकता र मेलमिलाप नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन्।
सुनसरी जिल्लाका केही गाउँबस्तीमा हालै उत्पन्न आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्रका अन्य भू–भागमा समेत फैलिएर जनजीवन अशान्त बनेको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उनले बिहीबार जारी गरेको ुसद्भाव सन्देशु उल्लेख छ।
निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी सद्भाव सन्देशमा पूर्वराजाले नेपालको निर्माणकालदेखि नै यहाँका विभिन्न जातजाति, भाषा र धर्मावलम्बीहरू एकापसमा मिलेर बस्दै आएको स्मरण गराएका छन्। नेपाली समाजको बहुजातीय र बहुभाषिक विशिष्टताका साथै आ(आफ्नो धर्म र संस्कृतिको सम्मान गर्ने परम्पराले नै विश्वमा नेपालको सम्मान रहेको उनको भनाइ छ। यो विशिष्ट गौरव र गरिमालाई कसैबाट पनि खलल पुर्याउने काम हुन नहुनेमा उनले जोड दिएका छन्।
समाजका सबै समुदायबीच सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस्ता अवाञ्छित घटना र दुर्घटना हुनु चिन्ताको विषय भएको पूर्वराजाले बताएका छन्। यस्ता गतिविधिहरू नेपालको मौलिक मूल्य र मान्यता विपरीत रहेको उल्लेख गर्दै उनले जुनसुकै भू–भागमा रहेका नेपालीहरूलाई पनि एकापसमा मिलेर बस्न विशेष आग्रह गरेका छन्। हाम्रो यही आग्रह छ, यही आजको आवश्यकता हो, सन्देशमा भनिएको छ।
उनले सामाजिक सद्भाव कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन्।