काठमाडौँ– नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन प्रक्रिया स्पष्ट उद्देश्य, प्राथमिकता र समस्या पहिचानका आधारमा मात्रै अघि बढाइनुपर्ने बताएका छन्। संशोधनको लक्ष्य नै स्पष्ट नगरी सम्पूर्ण संविधानलाई संशोधनको बहसमा लैजाँदा राजनीतिक अस्थिरता, दलीय ध्रुवीकरण तथा संवैधानिक जटिलता बढ्न सक्ने उनको चेतावनी छ।
बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली काँग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै थापाले सरकारले गठन गरेको संविधान संशोधनसम्बन्धी कार्यदलको कार्यप्रक्रिया, कार्यविधि र नेतृत्वबारे पनि प्रश्न उठाए।
उनले संविधान निर्माण मुलुकको लामो राजनीतिक संक्रमण, सशस्त्र द्वन्द्व र नागरिकको बलिदानपछि सम्भव भएको स्मरण गराउँदै त्यसको ऐतिहासिक तथा सामाजिक संवेदनशीलतालाई बेवास्ता गरेर संशोधनको बहस अघि बढाउन नहुने बताए।
सरकारले संविधान संशोधनमार्फत समाधान गर्न खोजिएको समस्या वा उद्देश्य स्पष्ट रूपमा प्रस्तुत गर्न नसकेको उल्लेख गर्दै थापाले प्राथमिकता निर्धारण नगरी समग्र संविधानलाई एकैपटक संशोधनको दायरामा ल्याउँदा अनपेक्षित कानुनी तथा संवैधानिक चुनौती सिर्जना हुन सक्ने धारणा राखे।
उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा जिम्मेवार, गम्भीर र तथ्यमा आधारित बहस आवश्यक रहेको बताउँदै राजनीतिक स्थायित्व र संविधानप्रतिको साझा सहमतिलाई कमजोर बनाउने कुनै पनि कदमबाट जोगिनुपर्नेमा जोड दिए।