तोमनाथ उप्रेती:
नम्रता कमजोर हुनु होइन। नम्रता हार मान्नु पनि होइन। नम्रता भनेको आत्माको परिपक्व अवस्था हो। जहाँ मानिसलाई आफ्नो सीमितता स्वीकार गर्न डर लाग्दैन। जहाँ ऊ अरूको अस्तित्वलाई सम्मान गर्न सिक्छ। जहाँ ऊ “म मात्र सही हुँ” भन्ने भ्रमबाट मुक्त हुन्छ।जब यो अवस्था आउँछ, तब जीवनको स्वरूप बदलिन्छ। पहिले जहाँ द्वन्द्व थियो, त्यहाँ संवाद सुरु हुन्छ। पहिले जहाँ प्रतिस्पर्धा थियो, त्यहाँ सहकार्य जन्मिन्छ। पहिले जहाँ घृणा थियो, त्यहाँ समझदारी पलाउन थाल्छ। यही परिवर्तनले मानिसलाई भित्रैदेखि हलुका बनाउँछ।
नम्रताको अर्थ आत्मगौरवलाई नअस्वीकार गर्दै, तर अहंकारलाई त्याग्दै, जीवनलाई सन्तुलनमा राख्नु हो। यो आत्मज्ञानको पहिलो सीढी हो। उपनिषदहरूले “विद्या विनयेन शोभते” प्रसङ्गले स्पष्ट गर्छ ज्ञानको सौन्दर्य नम्रतामा मात्र चम्किन्छ।
नम्रता आत्मसम्मानको नाश होइन बरु आत्मसम्मानलाई सही धरातलमा राख्ने कला हो। अहंकारले व्यक्तिलाई अन्धो बनाउँछ भने नम्रताले उसको दृष्टि स्पष्ट पार्छ। दर्शनशास्त्रमा नम्रतालाई आत्मसाक्षात्कारको दार्शनिक प्रवेशद्वार मानिन्छ, किनकि जब मानिसले आफूलाई सीमित प्राणीका रूपमा स्वीकार्छ, त्यतिबेला मात्र उसले अनन्त सत्यतर्फ दृष्टि दिन सक्छ।नम्रता सामाजिक सम्बन्धलाई मधुर बनाउने अदृश्य सूत्र हो। समाजमा अहंकारी व्यक्तिले दूरी सिर्जना गर्छ, जबकि नम्र स्वभावले नजिक्याउँछ। नम्र व्यक्ति अरूको पीडा बुझ्छ, अरूको सानो योगदानलाई पनि कृतज्ञतापूर्वक स्वीकार्छ।
मानव जीवनको वास्तविक यात्रा आत्मज्ञान र सामाजिक सामञ्जस्यतिर केन्द्रित हुन्छ। धन, शक्ति वा प्रसिद्धि जति भए पनि यदि नम्रता अनुपस्थित छ भने त्यो जीवन अधुरो हुन्छ। नम्रता आत्मसम्मानलाई दबाउने होइन, अहंकारलाई नियन्त्रण गर्ने आन्तरिक कला हो। जब मानिस नम्र हुन्छ, तब उसको जीवनमा आत्मसन्तुष्टि, सामाजिक सद्भाव र आध्यात्मिक आनन्द जन्मिन्छ। यही कारण, नम्रतालाई मानव अस्तित्वको शाश्वत आभूषण भनिन्छ।
नम्रता आत्मसाक्षात्कारको पहिलो सीढी हो। उपनिषदहरूले ज्ञानको सौन्दर्य विनयमा रहेको बताएका छन्। अहंकारले आत्मालाई अन्धकारतर्फ धकेल्छ भने नम्रताले चेतनालाई प्रकाशतर्फ उन्मुख गराउँछ। नम्रता स्वगौरवलाई अस्वीकार होइन, बरु त्यसलाई शुद्ध गर्ने अभ्यास हो। प्लेटोले ज्ञानलाई विनम्रताको अभ्यास बिना अधुरो ठानेका थिए, कन्फ्युसियसले पनि साँचो ज्ञानीलाई जीवनभर विद्यार्थीझैँ नम्र रहने व्यक्ति मानेका थिए। नम्रता व्यक्तिगत गुण होइन, सार्वभौमिक दर्शन हो।
मानव सम्बन्धको वास्तविक सौन्दर्य विश्वास, प्रेम र सहिष्णुतामा हुन्छ। मित्रता होस् वा पारिवारिक बन्धन, नम्रता बिना ती सम्बन्धहरूलाई स्थायित्व दिन सकिँदैन। मित्रतालाई पानी दिने जल भनेकै सादगी र नम्रता हो, जसले आपसी बन्धनलाई जीवन्त र हरियो राख्छ। जब मानिसहरू अहंकारमा फस्छन्, तब उनीहरूबीचको संवाद कठोर बन्छ, जसले सम्बन्धलाई क्रमशः टुटाउने काम गर्छ। कठोर वचनले आत्मामा नदेखिने घाउ पनि दिन्छ। परिवारमा मातापिता, दाजुभाइ, दिदीबहिनी वा पति–पत्नीबीच नम्र व्यवहार भए सम्बन्धमा मिठास कायम रहन्छ। नम्र शब्द घाउमा मलहमझैँ हुन्छ, जसले पीडा शान्त पार्छ र आपसी विश्वासलाई पुनर्जीवित गर्छ। सानो कुरामा झगडा भए पनि नम्रताले त्यसलाई ठुलो संकट बन्न दिँदैन। मित्रतामा पनि यस्तै हुन्छ नम्र मित्रले अरूको कमजोरीलाई धिक्कार्दैन, बरु सहानुभूतिपूर्वक बुझ्छ। नम्रता नै हो जसले असल साथीलाई जीवनपर्यन्त टिकाइराख्छ। यसैले, मित्रता र पारिवारिक जीवनमा नम्रता केवल विकल्प होइन, अस्तित्वकै आधार हो। यही आधारबाट आत्मिक शान्ति र आनन्द उत्पन्न हुन्छ।
मानव जीवनको सबैभन्दा गहिरो विरोधाभास यही हो ऊ सुख खोज्छ, तर अहंकारमा बाँधिन्छ। ऊ शान्ति चाहन्छ, तर प्रतिस्पर्धामा हराउँछ। ऊ प्रेम खोज्छ, तर स्वार्थमा अड्किन्छ। यही विरोधाभासभित्र एउटा गहिरो सत्य लुकेको हुन्छ। जब अहंकार शून्य हुन्छ, तब मात्र सुखको वास्तविक संसार देखिन थाल्छ। त्यो संसार बाहिर होइन, भित्र हुन्छ। त्यो ध्वनिमा होइन, मौनतामा हुन्छ। त्यो जितमा होइन, समर्पणमा हुन्छ।
अहंकार मानव मनको सबैभन्दा सूक्ष्म आवरण हो। यो देखिँदैन, तर सबै कुरा ढाक्छ। यो बोल्दैन, तर सबै निर्णय गर्छ। यो आफूलाई ठूलो देखाउन अरूलाई सानो बनाउँछ। तर विडम्बना यही हो जति ठूलो अहंकार हुन्छ, त्यति सानो सुख हुन्छ। किनकि अहंकारले सधैं तुलना गर्छ। तुलना भएको ठाउँमा शान्ति रहँदैन।
जब मानिसले आफूलाई मात्र केन्द्रमा राख्छ, तब संसार उसलाई संघर्षको मैदान जस्तो लाग्छ। प्रत्येक व्यक्ति प्रतिद्वन्द्वी जस्तो देखिन्छ। प्रत्येक सफलता खतरा जस्तो लाग्छ। प्रत्येक सम्बन्ध सर्तजस्तो लाग्छ। यही अवस्थाले मनलाई थकाउँछ। थकान बढ्दै जाँदा मानिस बाहिरबाट सफल देखिए पनि भित्रबाट खाली हुँदै जान्छ।
तर जब अहंकार बिस्तारै गल्न थाल्छ, तब एक अनौठो परिवर्तन सुरु हुन्छ। मानिसले पहिलो पटक अरूलाई साँच्चिकै देख्न थाल्छ। पहिले ऊ आफ्नो दृष्टिबाट मात्र संसार हेर्थ्यो। अब ऊ संसारलाई अनुभूति गर्न थाल्छ। यही अनुभूति नै नम्रताको सुरुवात हो।
अहंकार शून्य भएपछि सुख कुनै ठूलो उपलब्धि जस्तो लाग्दैन। सुख साना कुरामा भेटिन थाल्छ। बिहानको प्रकाशमा। एक साधारण मुस्कानमा। कसैको धन्यवादमा। कसैको मौन सहयोगमा। जीवन अचानक भारी हुन छोड्छ। किनकि अब बोक्नुपर्ने कुनै छवि बाँकी रहँदैन।
अहंकारले मानिसलाई सधैं “म को हुँ?” भन्ने प्रश्नमा अल्झाउँछ। नम्रताले त्यस प्रश्नलाई “म यहाँ किन छु?” भन्ने गहिरो प्रश्नमा रूपान्तरण गर्छ। यही परिवर्तन नै आध्यात्मिक यात्राको सुरुवात हो। किनकि पहिलो प्रश्नले तुलना जन्माउँछ, दोस्रो प्रश्नले अर्थ जन्माउँछ।मानव सम्बन्धहरूमा पनि अहंकार सबैभन्दा ठूलो अवरोध हो। जहाँ अहंकार हुन्छ, त्यहाँ प्रेम शर्तमा बाँधिन्छ। त्यहाँ “यदि तिमीले मलाई सम्मान गर्यौ भने मात्र म तिमीलाई सम्मान गर्छु” भन्ने मानसिकता हुन्छ। तर नम्रतामा प्रेम स्वतन्त्र हुन्छ। त्यहाँ कुनै सर्त हुँदैन। त्यहाँ स्वीकार हुन्छ।नम्र मानिसले अरूलाई सुधार्न खोज्दैन। ऊ पहिले आफूलाई बुझ्छ। उसले जान्दछ कि प्रत्येक व्यक्ति आफ्नो यात्रामा छ। प्रत्येक मनको आफ्नै युद्ध छ। यही बुझाइले उसलाई कठोर बनाउँदैन, बरु करुणामय बनाउँछ।
करुणा नै नम्रताको उच्चतम रूप हो। करुणा त्यस्तो अवस्था हो जहाँ मानिस अरूको दुःखलाई आफ्नो जस्तो महसुस गर्छ, तर त्यसमा डुब्दैन। ऊ सहयोग गर्छ, तर अहंकार बिना। ऊ बोल्छ, तर चोट नपुर्याउने गरी। ऊ मौन बस्छ, तर उपेक्षा होइन, समझदारीका साथ।
नम्रता भएको जीवनमा तुलना हराउँछ। तुलना हराएपछि ईर्ष्या हराउँछ। ईर्ष्या हराएपछि मन हलुका हुन्छ। हलुका मन नै सुखको वास्तविक आधार हो। भारी मनले संसार जिते पनि भित्र शान्ति पाउन सक्दैन।
अहंकारले मानिसलाई सधैं भविष्यतर्फ धकेल्छ। “म अझै बन्नुपर्छ”, “म अझै ठूलो हुनुपर्छ”, “म अझै प्रमाणित हुनुपर्छ”। तर नम्रता वर्तमानमा बस्छ। वर्तमानमा बस्ने मानिसले मात्र जीवनलाई प्रत्यक्ष अनुभव गर्न सक्छ। भविष्यको दौडमा जीवन हराइरहेको हुन्छ।
नम्र मानिसलाई सानो काम पनि अर्थपूर्ण लाग्छ। किनकि उसले कामलाई आफ्नो प्रतिष्ठासँग जोड्दैन। उसले कामलाई सेवा बनाउँछ। सेवा भएपछि काममा शान्ति आउँछ। र जहाँ शान्ति हुन्छ, त्यहीँ सुख जन्मिन्छ।
मानिसले प्रायः सोच्दछ सुख बाहिर कतै छ। ठूलो घरमा। धेरै पैसामा। प्रसिद्धिमा। तर समयले सिकाउँछ, ती सबै अस्थायी हुन्। ती आउँछन् र जान्छन्। तर भित्रको शान्ति मात्र स्थायी हुन्छ। त्यो शान्ति अहंकार घटेपछि मात्र सम्भव हुन्छ।
नम्रता भनेको आत्मस्वीकृति हो। आफूलाई जस्तो छ त्यस्तै स्वीकार गर्नु। न बढी बनाउनु, न घटाउनु। यही स्वीकारले मानसिक तनाव कम गर्छ। किनकि धेरै दुःख अस्वीकारबाट जन्मिन्छ।जब मानिस आफूलाई स्वीकार गर्छ, उसले अरूलाई पनि स्वीकार गर्न सिक्छ। यही स्वीकारले सम्बन्धहरूलाई स्वस्थ बनाउँछ। स्वस्थ सम्बन्धमा प्रतिस्पर्धा हुँदैन। त्यहाँ सहअस्तित्व हुन्छ।सहअस्तित्व नै नम्रताको सामाजिक रूप हो। यो केवल व्यक्तिगत गुण होइन। यो समाज निर्माणको आधार हो। जहाँ नम्रता हुन्छ, त्यहाँ हिंसा कम हुन्छ। त्यहाँ संवाद बढ्छ। त्यहाँ न्याय सम्भव हुन्छ।नम्रता मौन हुन्छ, तर कमजोर हुँदैन। यो मौनता भित्र शक्ति हुन्छ। त्यो शक्ति अरूलाई दबाउन प्रयोग हुँदैन। त्यो शक्ति आफूलाई स्थिर राख्न प्रयोग हुन्छ।
अहंकार शून्य भएपछि मानिसले पहिलो पटक वास्तविक स्वतन्त्रता अनुभव गर्छ। किनकि अब उसलाई कसैसँग आफूलाई प्रमाणित गर्नु छैन। अब उसलाई कसैलाई जित्नु छैन। अब उसलाई केवल बाँच्नु छ।त्यो बाँचाइ सरल हुन्छ। तर गहिरो हुन्छ। त्यसमा कुनै प्रदर्शन हुँदैन। कुनै बनावट हुँदैन। केवल सत्य हुन्छ।त्यही सत्य नै सुख हो।
पूर्वीय दर्शनले पनि यही कुरा बारम्बार दोहोर्याएको छ—अहंकार नै बन्धन हो। अहंकार घटेपछि आत्मा स्वतन्त्र हुन्छ। स्वतन्त्र आत्मा नै शान्त हुन्छ। शान्त आत्मा नै आनन्दित हुन्छ।
नम्र मानिसले जीवनलाई युद्ध होइन, यात्रा बनाउँछ। यात्रामा सबै कुरा स्थायी हुँदैन। साथीहरू आउँछन्, जान्छन्। अवस्थाहरू बदलिन्छन्। तर अनुभव बाँकी रहन्छ। नम्र मानिस यही अनुभवलाई सम्मान गर्छ।
ऊ सिक्छ कि प्रत्येक व्यक्ति शिक्षक हो। प्रत्येक घटना पाठ हो। प्रत्येक पीडा बुझाइ हो। यही दृष्टिले जीवनलाई गहिरो बनाउँछ।अहंकार शून्य भएपछि मानिस कुनै ठूलो उपलब्धिमा होइन, साधारण अस्तित्वमा आनन्द पाउन थाल्छ। उसलाई सूर्य उदाएको देख्दा खुशी लाग्छ। वर्षा पर्दा शान्ति मिल्छ। कसैको मुस्कानले दिन उज्यालो हुन्छ।
यो नै वास्तविक सुख हो। यो कुनै बाहिरी पुरस्कार होइन, न त सामाजिक मान्यता हो। यो भित्रै उत्पन्न हुने मौन उत्सव हो, जहाँ मन आफ्नै शान्तिमा रमाउन थाल्छ। यो उत्सव त्यहीँ सुरु हुन्छ, जहाँ अहंकार समाप्त हुन्छ र आत्मा हलुका बन्छ। नम्रता कुनै अन्त्य होइन, बरु मानवता, करुणा र वास्तविक सुखको आरम्भ सुरुवात हो। जब अहंकार शून्य हुन्छ, संसार परिवर्तन हुँदैन तर दृष्टि परिवर्तन हुन्छ। यही बदलिएको दृष्टिले सामान्य जीवनलाई पनि असामान्य सौन्दर्य दिन्छ। र त्यही संसार स्वर्गजस्तै लाग्न थाल्छ। ( उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)