धेश प्रदेशमा मनसुन सक्रिय भए पनि ४ प्रतिशत मात्रै रोपाइँ - Chaitanya News
  • 2026-06-29
  • 13:18:36
  • सोमबार,आषाढ १५, २०८३
  • धेश प्रदेशमा मनसुन सक्रिय भए पनि ४ प्रतिशत मात्रै रोपाइँ

    धेश प्रदेशमा मनसुन सक्रिय भए पनि ४ प्रतिशत मात्रै रोपाइँ

    जनकपुरधाम– मधेश प्रदेशमा मनसुन सक्रिय भए पनि धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार १२ गतेसम्म प्रदेशमा कुल धान रोपाइँ हुने क्षेत्रफलको ४.३६ प्रतिशत रोपाइँ भएको छ।

    मन्त्रालयका सूचना अधिकारी यज्ञ ज्ञावालीका अनुसार असरा १२ गतेसम्म १६ हजार ९११ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ।

    मधेश प्रदेशमा कुल ५ लाख ४९ हजार ३५६.३८ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ८७ हजार ९३३ हेक्टर क्षेत्रमा धान खेती हुने अनुमान गरिएको छ।

    जिल्लागत रूपमा हालसम्म महोत्तरीमा सबैभन्दा बढी ८.१७ प्रतिशत धान रोपाइँ भएको छ। त्यहाँ ४० हजार हेक्टर धान खेती हुने क्षेत्रमध्ये ३ हजार २६६ हेक्टरमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। त्यसपछि धनुषा र बारामा समान ७–७ प्रतिशत प्रगति भएको छ। धनुषामा ४३ हजार ७ सय हेक्टरमध्ये ३ हजार ५९ हेक्टर तथा बारामा ४५ हजार १ सय हेक्टरमध्ये ३ हजार २ सय ५० हेक्टर क्षेत्रमा रोपाइँ भएको छ।

    सिराहा र सप्तरीमा समान ५ प्रतिशत रोपाइँ भएको छ। सिराहामा ५४ हजार हेक्टरमध्ये २ हजार ७ सय हेक्टर तथा सप्तरीमा ६८ हजार हेक्टरमध्ये ३ हजार ४ सय हेक्टरमा धान रोपिएको तथ्यांक छ।

    यस्तै सर्लाहीमा ४२ हजार ६ सय १५ हेक्टर धान क्षेत्रमध्ये १ हजार ३६ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भई २।५ प्रतिशत प्रगति भएको छ।

    यता पर्सा र रौतहटमा भने हालसम्म धान रोपाइँ सुरु नै हुन नसकेको सूचना अधिकारी ज्ञवालीले बताए। चैते धान नकाटेकोले त्यता तपर रोपाइँ हुन नसकेको सूचना अधिकारी ज्ञवालीको भनाइ छ।

    मन्त्रालयका अनुसार पर्सामा ५२ हजार ३ सय ३८ हेक्टर र रौतहटमा ३५ हजार हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ। ‘पानी परिरहेको र जलवायु परिवर्तनको हिसाबले अहिलेसम्मको रोपाइलाई अपेक्षित मान्न सकिन्छ’ सूचना अधिकारी ज्ञवालीले भने, ‘अहिलेको वर्षाले रोपाइँले गति लिन्छ।’