धानमा आत्मनिर्भरता हासिल गर्न प्रविधि र सहकार्य आवश्यक : मन्त्री चौधरी - Chaitanya News
  • 2026-06-29
  • 11:39:20
  • सोमबार,आषाढ १५, २०८३
  • धानमा आत्मनिर्भरता हासिल गर्न प्रविधि र सहकार्य आवश्यक : मन्त्री चौधरी

    धानमा आत्मनिर्भरता हासिल गर्न प्रविधि र सहकार्य आवश्यक : मन्त्री चौधरी

    काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान र सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको जनाएकी छन्।

    आज (सोमबार) २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री चौधरीले यस वर्षको “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि“ भन्ने नाराले वर्तमान कृषि क्षेत्रको आवश्यकता र चुनौतीलाई सम्बोधन गरेको उल्लेख गरेकी हुन्।

    उनले धान नेपालीहरूको प्रमुख खाद्यबाली मात्र नभई धर्म, संस्कृति र परम्परासँग जोडिएको महत्त्वपूर्ण बाली भएको बताउँदै स्थानीय तथा जंगली धानका जातको संरक्षण, संवर्द्धन र उपयोगले जैविक विविधता, जलवायु सहनशीलता तथा दीर्घकालीन खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउने जनाइन्।

    मन्त्री चौधरीले धान तथा चामलको आयात घटाउन वर्षे र चैते धानको क्षेत्रफल विस्तार, उन्नत जातको विकास, प्रविधि हस्तान्तरण, सिँचाइ सुविधा विस्तार, उत्पादन सामग्रीमा सहज पहुँच तथा मूल्य सुनिश्चिततालाई प्राथमिकता दिनुपर्ने जनाइन्। साथै स्थानीय तथा जंगली धानका जातको पहिचान, संकलन, संरक्षण र जलवायुमैत्री जात विकासमा विशेष जोड दिनुपर्ने उल्लेख गरिन्।