कर्णालीको किनारमा उज्यालो टीका - Chaitanya News
  • 2026-06-28
  • 20:05:56
  • आइतबार,आषाढ १४, २०८३
  • कर्णालीको किनारमा उज्यालो टीका

    कर्णालीको किनारमा उज्यालो टीका

    (नियात्रा):

     तोमनाथ उप्रेती:

    बिहान अझै पूर्ण रूपमा जागेको थिएन। काठमाडौंको आकाशमा निद्राका केही अवशेष बाँकी थिए। गल्लीहरू अर्धनिद्रामा थिए। सडकबत्तीका पहेंला प्रकाशहरू धुम्म कुहिरोभित्र हराइरहेका थिए। त्यही बेला म यात्रामा निस्किएँ। यात्रा स्थान परिवर्तन होइन। यात्रा समयसँगको संवाद हो। यात्रा आफूलाई भेट्ने प्रक्रिया हो। र कहिलेकाहीँ यात्रा नै जीवनको सबैभन्दा ठूलो गुरु बन्छ।

     

    गाडीले काठमाडौंलाई बिस्तारै पछाडि छोड्यो। घरहरू पर सर्दै गए। मानिसहरू साना बिन्दुजस्ता देखिन थाले। शहर क्रमशः स्मृतिमा रूपान्तरित भयो। मैले झ्यालबाट बाहिर हेरेँ। मनभित्र एउटा मौन प्रश्न उठ्यो—”मानिस किन यात्रा गर्छ ?” के गन्तव्यका लागि ? कि आफूभित्र हराएको कुनै सत्य खोज्न ? उत्तर तत्काल आएन। यात्राले उत्तर दिन हतार गर्दैन। ऊ प्रश्नहरूलाई परिपक्व हुन दिन्छ।

    थानकोट उक्लँदै गर्दा पहाडहरू बिहानको सुनौलो घामले रङ्गिन थालेका थिए। कुहिराका सेता चादरहरू बिस्तारै हट्दै थिए। हरियालीका हजारौँ तहहरू एकपछि अर्को खुलिरहेका थिए। सडक सर्पजस्तो सल्बलाइरहेको थियो। पहाडहरू मौन साधकजस्ता उभिएका थिए। नदीहरू मन्त्रजस्ता बगिरहेका थिए। हावाले हिमालका पुराना कथाहरू सुनाइरहेको थियो। म सोच्न थालेँ यी पहाडहरू कति धैर्यवान् छन्। कति आँधी आए। कति वर्षा आए। कति साम्राज्य उठे। कति सभ्यता ढले। तर पहाडहरू स्थिर छन्। उपनिषद्ले भनेको “स्थितप्रज्ञ” सायद यही हो। जुन परिस्थिति बदलिँदा पनि नबदलियोस्।

     

    मुग्लिनतिर झर्दै गर्दा त्रिशूली नदी साथमा बग्न थाली। नदीको आवाज स्पष्ट सुनिन्थ्यो। कहिले गर्जना। कहिले गुनगुनाहट। कहिले करुण गीत। मैले नदीलाई हेरेँ। नदीले मलाई हेरेझैँ लाग्यो। मनभित्र संवाद सुरु भयो। “हे नदी, तिमी कहिल्यै थाक्दैनौ ?” नदी मुस्कुराएझैँ लाग्यो। “थाक्छु। तर रोकिन्न।” “किन ?” “किनकि मेरो धर्म बग्नु हो।” म मौन भएँ। गीताको वचन सम्झिएँ। कर्म नै जीवन हो। रोकिनु मृत्यु हो। बग्नु नै अस्तित्व हो। नदीले त्यो शिक्षा कुनै शास्त्रभन्दा गहिरो गरी दिइरहेकी थिई।

    मुग्लिन आइपुग्दा सूर्य पूर्ण रूपमा उदाइसकेको थियो। सडक किनारका चिया पसलहरू जागिसकेका थिए। धुवाँ उठिरहेको थियो। मानिसहरू हतारमा थिए। जीवन चलिरहेको थियो। एक वृद्ध चिया बेच्दै थिए। उनको अनुहारमा गहिरा चाउरीहरू थिए। तर आँखामा अद्भुत शान्ति थियो। मैले चिया पिएँ। उनी मुस्कुराए। त्यो मुस्कानमा कुनै व्यापार थिएन। त्यो मुस्कानमा आत्मीयता थियो। त्यस क्षण मैले बुझें  समृद्धि धनले होइन। हृदयले नापिन्छ।

    नारायणघाटतिर यात्रा बढ्यो। यहाँ पहाड र तराईको आलिङ्गन देखिन्छ। दुई भिन्न भूगोल। एकै अँगालो। म सोचिरहेँ। मानिसहरू किन विभाजित हुन्छन् ? प्रकृति त कहिल्यै विभाजित हुँदैन। नदीले जात सोध्दैन। हावाले धर्म सोध्दैन। सूर्यले वर्ग सोध्दैन। विभाजन मानिसको मनले बनाउँछ। एकता प्रकृतिको स्वभाव हो।

    नारायणी नदी पुलमुनि विराट् विस्तारमा फैलिएकी थिई। उनको प्रवाहमा कुनै हतार थिएन। कुनै प्रदर्शन थिएन। केवल निरन्तरता थियो। केवल प्रवाह थियो। केवल अस्तित्वको मौन संगीत थियो। बिहानको सूर्यका किरणहरू नदीको जलमाथि छरिएका थिए। पानीमा सुनका हजारौँ टुक्राहरू नाचिरहेका जस्ता देखिन्थे। त्यो दृश्यलाई शब्दले समात्न सकिँदैनथ्यो। त्यो दृश्य केवल अनुभूत गर्न सकिन्थ्यो।

    जल। ज्योति। जीवन।

    तीन शब्द। तर सम्पूर्ण सृष्टिको सार।

    जल बिना जीवन छैन। ज्योति बिना चेतना छैन। जीवन बिना अनुभूति छैन। नारायणीको विशाल काखमा यी तीनै तत्वहरू एउटै दिव्य दृश्यमा एकाकार भएका थिए। नदी बहिरहेकी थिई। सूर्य चम्किरहेको थियो। जीवन आफ्नै लयमा चलिरहेको थियो। प्रकृतिले मानौँ कुनै मौन उपनिषद् वाचन गरिरहेकी थिई।

    म पुलमाथि उभिएर तल हेर्दै थिएँ। नदीको गहिराइले मनलाई तानिरहेको थियो। अचानक मैले महसुस गरेँ मानिस आफूलाई जति ठूलो ठान्छ, प्रकृतिको अगाडि ऊ त्यति नै सानो छ। हामी आफ्ना उपलब्धिहरूमा गर्व गर्छौँ। आफ्ना पदहरूमा गर्व गर्छौँ। आफ्नो ज्ञानमा गर्व गर्छौँ। तर नदीको यो अनन्त प्रवाहको अगाडि ती सबै गर्वहरू बालुवाका घरहरूजस्ता लाग्छन्। एक छालले भत्काइदिन सक्ने।

    अहंकार वास्तवमा अज्ञानको अर्को नाम हो। आफूलाई केन्द्र ठान्नु अहंकार हो। आफूलाई सम्पूर्ण ठान्नु अहंकार हो। तर नदीले सिकाउँछ कुनै पनि वस्तु एक्लै पूर्ण छैन। नदी हिमालबाट आउँछे। बादलबाट जन्मिन्छे। वर्षासँग बढ्छे। साना खोल्साहरूलाई अँगाल्छे। अनि समुद्रमा गएर आफूलाई समर्पण गर्छे। उनको सम्पूर्ण अस्तित्व सम्बन्ध र समर्पणमा आधारित छ। यही प्रकृतिको धर्म हो।

    नदीको विशालता हेर्दा मेरो मनभित्र एउटा मौन प्रश्न उठ्यो।यो ब्रह्माण्डमा म को हुँ ? एउटा क्षणिक शरीर ? केही दशकको कथा ? वा त्योभन्दा पनि गहिरो केही ? यही प्रश्न आध्यात्मिकताको पहिलो ढोका हो। जब मानिसले आफ्नो सीमित अस्तित्वमाथि प्रश्न गर्न थाल्छ, त्यहीँबाट आत्मखोजको यात्रा सुरु हुन्छ। जब अहंकार पग्लिन थाल्छ, आत्मबोधको सूर्य उदाउन थाल्छ।

    नारायणी बहिरहेकी थिई। उनको प्रवाहमा कुनै घमण्ड थिएन। तर शक्ति थियो। कुनै दाबी थिएन। तर गहिराइ थियो। त्यही क्षण मैले बुझें।महानता ठूलो देखिनुमा होइन, विशाल भएर पनि विनम्र रहनुमा रहेछ। नदीजस्तै। प्रकृतिजस्तै। ब्रह्मजस्तै।

    दिउँसोतिर बुटवल पुगियो। सहर चहलपहलले भरिएको थियो। सवारीका स्वर। व्यापारका व्यस्तता। मानिसका आकांक्षा। सबै एकै ठाउँमा घुमिरहेका थिए। मैले सोचेँ मानिसको जीवन पनि बजारजस्तै रहेछ। यहाँ सपनाहरू किनबेच हुन्छन्। यहाँ समय खर्च हुन्छ। यहाँ इच्छाहरू बढ्छन्। तर अन्त्यमा सबैले खोज्ने कुरा एउटै हो शान्ति। शान्ति बाहिर कतै छैन। ऊ त मनको मौन मन्दिरभित्र लुकेकी हुन्छे।

    बुटवल पार गरेपछि भूगोलको स्वरूप मात्र फेरिएन, मानौँ यात्राको भावभूमि नै बदलियो। पहाडका घुम्तीहरू बिस्तारै पछाडि छुट्न थाले। सडक सीधा हुँदै गयो। क्षितिज फराकिलो हुँदै गयो। आकाश अझ विशाल हुँदै गयो। दृष्टि जहाँसम्म पुग्थ्यो, त्यहाँसम्म खुलापन मात्र थियो। हरियालीका समथर मैदानहरू पृथ्वीले आफ्ना फैलिएका बाहुहरूजस्तै विस्तार गरेका थिए। हावाको स्पर्श पनि फरक थियो। यसमा पहाडको कठोरता थिएन, तराईको कोमलता थियो। यसमा संघर्षको सुस्केरा थिएन, समर्पणको संगीत थियो।

    म झ्यालबाहिर हेर्दै थिएँ। अचानक मनभित्र एउटा गहिरो अनुभूति जाग्यो। मानिसको चेतना पनि यस्तै रहेछ। जबसम्म मनभित्र अहंकारका पहाडहरू उभिइरहन्छन्, दृष्टि सीमित रहन्छ। जबसम्म पूर्वाग्रहका पर्खालहरू खडा रहन्छन्, संसार सानो देखिन्छ। जबसम्म इच्छाका इन्द्रजालहरू चेतनामाथि छाइरहन्छन्, आत्माको आकाश साँघुरो रहन्छ। तर जब ती पहाडहरू बिस्तारै गल्न थाल्छन्, चेतनाको क्षितिज पनि यही तराईजस्तै असीम विस्तारिन थाल्छ।

    पूर्वीय दर्शनले यही सत्यलाई हजारौँ वर्षदेखि उद्घोष गरिरहेको छ। उपनिषद्हरूले भनेका छन् मानिस सीमित शरीर होइन, ऊ असीम चेतना हो। शरीरको सीमा छ। नामको सीमा छ। पदको सीमा छ। सम्पत्तिको सीमा छ। तर आत्माको कुनै सीमा छैन। नदी समुद्रमा पुगेर आफ्नो नाम गुमाउँछ, तर आफ्नो अस्तित्व गुमाउँदैन। बरु अझ विशाल बन्छ। त्यसैगरी मानिसले आफ्नो संकीर्ण अहंकार त्याग्न सके ऊ ब्रह्माण्डीय चेतनासँग एकाकार हुन सक्छ।

    सडक निरन्तर अगाडि बढिरहेको थियो। खेतहरू हरियो समुद्रझैँ फैलिएका थिए। कतै किसानहरू आफ्ना कर्ममा तल्लीन थिए। कतै चराहरू आकाशको स्वतन्त्रतामा रमाइरहेका थिए। प्रकृतिले मौन भाषामा एउटै शिक्षा दिइरहेकी थिई।विस्तार नै जीवन हो, सङ्कुचन मृत्यु हो। प्रेम विस्तार हो। करुणा विस्तार हो। ज्ञान विस्तार हो। घृणा सङ्कुचन हो। लोभ सङ्कुचन हो। अहंकार सङ्कुचन हो।

    त्यस विशाल तराईलाई हेर्दा मलाई लाग्यो, मानिसको वास्तविक यात्रा बाहिरी भूगोलको यात्रा होइन। यो त चेतनाको विस्तारको यात्रा हो। जस दिन मनका सबै पहाडहरू हट्नेछन्, त्यस दिन आत्माभित्र पनि यस्तै असीम आकाश खुल्नेछ। त्यस दिन मानिसले बुझ्नेछ सीमितता केवल भ्रम रहेछ, असीमता नै परम सत्य रहेछ।

    साँझको सुनौलो आभा बिस्तारै पश्चिमी क्षितिजमा विलीन हुँदै थियो। दिनभरिको यात्राले शरीरलाई थकित बनाएको थियो, तर मन अझै जागिरहेको थियो। त्यही बेला कोहलपुर आइपुगियो। पश्चिम नेपालको यात्रामार्गमा अवस्थित यो ठाउँ केवल एउटा सहर होइन, अनेकौँ यात्राहरूको संगमस्थल हो। यहाँ मानिसहरू भेटिन्छन्, छुटिन्छन्, रोकिन्छन्, फेरि अगाडि बढ्छन्। मानौँ समय स्वयं केही क्षणका लागि यहाँ विश्राम गर्छ र फेरि आफ्नो यात्रामा निस्कन्छ।

    चिया पसलहरू मानिसहरूले भरिएका थिए। कतै लामो यात्राबाट आएका यात्रुहरू थकान मेटाउँदै थिए। कतै नयाँ यात्राका योजनाहरू बनिरहेका थिए। बसहरू आइरहेका थिए। बसहरू गइरहेका थिए। सवारीका आवाजहरू, मानिसहरूको चहलपहल, सामान बोकिरहेका हातहरू, विदाइका मुस्कानहरू र पुनर्मिलनका आलिङ्गनहरू—सबै दृश्यहरू जीवनकै एउटा विशाल रूपकझैँ देखिन्थे।

    म बसको झ्यालबाट ती दृश्यहरू नियालिरहेको थिएँ। अचानक मनभित्र एउटा विचार उदायो।जीवन पनि वास्तवमा एउटा विशाल बसपार्क नै त रहेछ। यहाँ कोही स्थायी छैन। कोही केही समयका लागि आउँछन्। केही दूरीसम्म साथ दिन्छन्। अनि आफ्नै गन्तव्यतर्फ लाग्छन्। बाल्यकालका साथीहरू छुट्छन्। प्रियजनहरू टाढिन्छन्। नयाँ अनुहारहरू जीवनमा प्रवेश गर्छन्। समयका बसहरू आइरहन्छन्। जाँदै गर्छन्।

    मनले आफैसँग प्रश्न गर्‍यो।“यदि सबै छुट्ने हो भने सम्बन्धको अर्थ के हो ?”भित्रबाट उत्तर आयो।“यात्रालाई सुन्दर बनाउनु।”

    सायद सम्बन्धहरू अन्तिम गन्तव्यका लागि होइनन्। यात्रालाई अर्थपूर्ण बनाउनका लागि हुन्। नदी किनारका वृक्षहरूजस्तै। बाटोका चौतारीहरूजस्तै। यात्रुका लागि केही क्षणको छायाँ। केही क्षणको विश्राम। केही क्षणको आत्मीयता।

    कोहलपुर पछाडि छुट्दै गयो। साँझ झन् गहिरिँदै गयो। पश्चिमको आकाशमा रातो, सुनौलो र बैजनी रङहरूको अद्भुत समागम भइरहेको थियो। सूर्य अस्ताउँदै थियो। तर त्यो अन्त्यजस्तो लाग्दैनथ्यो। बरु नयाँ आरम्भको तयारीजस्तो लाग्थ्यो। प्रकृतिले हरेक साँझमा एउटा  दर्शन लुकाएकी छ।डुब्नु विनाश होइन, रूपान्तरण हो।

    केही समयपछि बर्दियाको क्षेत्र सुरु भयो। एकाएक दृश्य बदलियो। सहरको कोलाहल हरायो। सडकको दुवैतर्फ जंगल फैलिन थाल्यो। सालका विशाल वृक्षहरू शताब्दी पुराना प्रहरीजस्ता उभिएका थिए। उनीहरूको मौन उपस्थितिमा कुनै अदृश्य गरिमा थियो। ती वृक्षहरूले कति वर्षा देखे होलान् ? कति आँधी सहेका होलान् ? कति पुस्ताहरू जन्मिए र बिते होलान् ? तर उनीहरू अझै त्यहीँ उभिएका थिए अडिग, अविचल, अविराम।

    हावामा वनको गन्ध थियो। माटोको गन्ध। पातहरूको गन्ध। जीवनको गन्ध। त्यो सुगन्ध कृत्रिम थिएन। बजारमा पाइने इत्रजस्तो थिएन। त्यो प्रकृतिको आफ्नै श्वास थियो वनले लिएको लामो, गहिरो, शान्त श्वास।

    मौन। मधुर। मर्मस्पर्शी। ती तीन शब्दहरू सम्पूर्ण जंगललाई वर्णन गर्न पर्याप्त थिए।

    तर त्यो मौनता अचम्मको थियो। त्यहाँ पूर्ण निस्तब्धता थिएन। चराहरू बोलिरहेका थिए। कतै झ्याउँकिराहरू गाइरहेका थिए। कतै पातहरू सुसाइरहेका थिए। कतै हावाले रुखहरूलाई स्पर्श गरिरहेको थियो। तर यी सबै ध्वनिहरू भएर पनि जंगल मौन थियो।

    त्यस क्षण मैले बुझ्न थालेँ मौनता भनेको आवाजको अभाव होइन रहेछ। मौनता भनेको भित्री शान्तिको उपस्थिति रहेछ।

    मानिसहरू प्रायः शान्ति खोज्न टाढा जान्छन्। मन्दिरहरूमा जान्छन्। आश्रमहरूमा जान्छन्। हिमालहरूमा जान्छन्। तर मनभित्र कोलाहल बोकेर हिँडिरहेका हुन्छन्। बाहिरको मौनता प्राप्त गर्न सजिलो छ। भित्रको मौनता प्राप्त गर्न कठिन छ।

    जंगलले यही शिक्षा दिइरहेको थियो। उसले केही बोलेन, तर धेरै कुरा सिकायो। सालका वृक्षहरू आकाशतिर उठेका थिए। उनीहरू बोल्दैनथे, तर उनीहरूको मौन उचाइले भनिरहेको थियो “विकास हल्ला गरेर हुँदैन।”

    नदी गर्जन गर्न सक्छ। झरना गुन्जिन सक्छ। तर वृक्षहरू मौन भएर बढ्छन्। सूर्य मौन भएर उदाउँछ। चन्द्रमा मौन भएर चम्कन्छ। ताराहरू मौन भएर टिम्टिमाउँछन्। ब्रह्माण्डका सबैभन्दा महान् घटनाहरू मौनतामै घटिरहेका हुन्छन्।

    मानिसको अहंकार भने हल्ला मन पराउँछ। उसलाई प्रशंसा चाहिन्छ। उसलाई चर्चा चाहिन्छ। उसलाई प्रदर्शन चाहिन्छ। तर आत्मा मौनता खोज्छ। किनकि सत्य प्रायः कोलाहलमा सुनिँदैन। ऊ मौनतामा प्रकट हुन्छ।

    मलाई बुद्धको सम्झना आयो। बोधिवृक्षमुनि उनले कुनै ठूलो भाषण दिएर बुद्धत्व प्राप्त गरेका थिएनन्। उनले मौनतामा सत्य भेटेका थिए। ऋषिहरूले वेदका मन्त्रहरू बजारको भीडमा होइन, वनको निस्तब्धतामा सुनेका थिए। उपनिषद्का गहनतम् विचारहरू राजदरबारमा होइन, आश्रमका मौन प्राङ्गणहरूमा जन्मिएका थिए।

    जंगल गाढा हुँदै गइरहेको थियो।

    अचानक सूर्य पश्चिममा ढल्न थाल्यो। सुनौलो किरणहरू रुखहरूमा झरिरहेका थिए। वन सुनको समुद्रजस्तो देखिन्थ्यो। म एकटक हेर्दै बसेँ। मनले भन्यो “जीवन पनि यस्तै साँझतिर उन्मुख छ।” जन्म बिहान हो। यौवन मध्यान्ह हो। वृद्धावस्था साँझ हो। मृत्यु रात होइन। नयाँ प्रभातको तयारी हो।

    त्यसपछि चिसापानी आयो। र मेरो हृदय एकाएक स्तब्ध भयो। अगाडि कर्णाली थिई। विशाल। विराट। वन्दनीय। मानौँ पृथ्वीको नाडी। मानौँ युगहरूको स्मृति। मानौँ हिमालयको हृदय। कर्णाली पुलमा पुगेपछि मैले झ्याल खोलेँ। हावा आयो। त्यो हावा साधारण थिएन। त्यसमा हिमालका मन्त्रहरू थिए। त्यसमा ऋषिहरूका मौन ध्यानहरू थिए। त्यसमा समयका सुगन्धहरू थिए। मैले कर्णालीलाई हेरेँ। मनभित्र आवाज उठ्यो “हे महानदी, तिम्रो रहस्य के हो ?” उत्तर आयो “त्याग।” “कसरी ?” “हिमालले मलाई जन्म दियो। मैले आफूलाई समुद्रलाई समर्पण गरेँ।” त्यो उत्तर सुनेर म मौन भएँ। जीवनको सबैभन्दा ठूलो सौन्दर्य संग्रहमा होइन। समर्पणमा रहेछ।

    पुल पार गर्दा मन अकारण भावुक भयो। कर्णाली केवल नदी होइन। उनी एक दर्शन हुन्। एक चेतना हुन्। एक जीवित उपनिषद् हुन्। उनको प्रवाहमा वैराग्य छ। उनको गहिराइमा ब्रह्मज्ञान छ। उनको गर्जनमा अस्तित्वको उद्घोष छ।

    लम्की पुग्दा रात नजिकिइसकेको थियो। आकाशमा ताराहरू जाग्न थालेका थिए। सडक शान्त थियो। हावामा गाउँको मिठास थियो। थकान शरीरमा थियो। तर मन ताजा थियो। किनकि यात्रा केवल दूरी घटाउने प्रक्रिया होइन। चेतना विस्तार गर्ने साधना हो।

    लम्कीदेखि टीकापुरतिर मोडिँदा वातावरण फेरियो। यहाँको हावा फरक लाग्यो। यहाँको मौनता फरक लाग्यो। यहाँको आकाश फरक लाग्यो। मानौँ कर्णालीको स्पर्शले सम्पूर्ण भूभागलाई विशेष बनाएको हो। रात गहिरिँदै गइरहेको थियो। तर क्षितिजमा उज्यालोको अनुभूति थियो। अन्ततः टीकापुर आइपुगियो। घना इतिहास बोकेको भूमि। टिकाजस्तो गोलाकार बस्तीको कथा बोकेको भूमि। दशैंको टिकासँग जोडिएको स्मृति बोकेको भूमि। कर्णालीको करुणा बोकेको भूमि। मानव श्रमको महाकाव्य बोकेको भूमि। यहाँका सडकहरू शान्त थिए। रुखहरू निदाइरहेका थिए।

    हावाले बिस्तारै कानमा केही भनिरहेको थियो। मैले आँखा बन्द गरेँ। र मनभित्र एउटा गहिरो अनुभूति जन्मियो। काठमाडौंदेखि टीकापुरसम्मको यात्रा वास्तवमा बाहिरी यात्रा थिएन। यो आत्मयात्रा थियो। काठमाडौंले भीड सिकायो। मुग्लिनले प्रवाह सिकायो। नारायणघाटले एकता सिकायो। बुटवलले आकांक्षा सिकायो। कोहलपुरले अस्थिरता सिकायो। बर्दियाले मौनता सिकायो। चिसापानीले समर्पण सिकायो। कर्णालीले अनन्तता सिकाइन्। र टीकापुरले ? टीकापुरले घरको अर्थ सिकायो। घर केवल भवन होइन। घर एउटा अनुभूति हो। जहाँ पुगेर मन शान्त हुन्छ। जहाँ चेतना विश्राम पाउँछ। जहाँ यात्राले अर्थ पाउँछ। र त्यस रात, कर्णालीको शीतल समीर सुन्दै, मैले अन्तिम पटक आफूलाई भनेँ “जीवन पनि यस्तै यात्रा हो।” गन्तव्यभन्दा ठूलो यात्रा स्वयं हो। पुग्नुभन्दा ठूलो कुरा बुझ्नु हो। र अन्ततः मानिसले संसार घुम्दैन। संसार घुम्ने क्रममा उसले आफ्नै आत्माको परिक्रमा गर्छ।