लोक सेवा आयोगप्रति जनविश्वास कायम राख्न राष्ट्रपतिको आग्रह - Chaitanya News
  • 2026-06-15
  • 17:14:28
  • सोमबार,आषाढ ०१, २०८३
  • लोक सेवा आयोगप्रति जनविश्वास कायम राख्न राष्ट्रपतिको आग्रह

    लोक सेवा आयोगप्रति जनविश्वास कायम राख्न राष्ट्रपतिको आग्रह

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनका माध्यमबाट प्रभावकारी सेवा प्रवाह गर्दै मुलुकलाई प्रगतिको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको बताएका छन्।

    लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि बलिदान गरेका जनताको चाहना मुलुकको चौतर्फी विकास रहेको उल्लेख गरे। उनले उक्त लक्ष्य हासिल गर्न राज्य संयन्त्रलाई समयानुकूल, जनमुखी, सेवामुखी, प्रविधिमैत्री तथा परिणाममुखी बनाउन आवश्यक रहेको बताए।

    राष्ट्रपति पौडेलले स्वउत्प्रेरित, अनुशासित, आचरणशील, नैतिकवान्, जिम्मेवार तथा राष्ट्रप्रति समर्पित कर्मचारीले मात्रै सार्वजनिक सेवालाई परिणाममुखी बनाउन सक्ने विश्वास व्यक्त गरे। उनले प्रविधि र ‘स्मार्ट’ सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्नेमा जोड दिए।

    संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुरूप स्थापित योग्यता प्रणालीको संरक्षण र सुदृढीकरण आवश्यक रहेको उल्लेख गर्दै उनले लोक सेवा आयोगप्रतिको विश्वास तथा आयोगले अवलम्बन गरेका सिद्धान्त र प्रणालीका कारण परिश्रमी युवाले लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो भविष्य सुरक्षित देख्न पाएको बताए।

    विगतमा हासिल गरिएको अनुभव, ज्ञान तथा विश्वव्यापी रूपमा विकसित सिद्धान्त र प्रणालीको अध्ययनका आधारमा आयोगले आफ्ना कार्यलाई अझ परिस्कृत गर्दै लैजानुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो।

    लोक सेवा आयोगको कार्यक्षेत्र विस्तारसँगै कार्यसम्पादनलाई प्रविधिमैत्री, वैज्ञानिक, व्यवस्थित र गुणस्तरीय बनाउँदै भावी योजना निर्धारण गर्नुपर्ने चुनौती रहेको उल्लेख गर्दै उनले वार्षिकोत्सवको अवसरमा विगतका कामको समीक्षा गरी आगामी योजनाहरू तर्जुमा गर्न सुझाव दिए।

    राज्य सञ्चालनका लागि आवश्यक सरकारी निकायमा स्थायी सरकारका रूपमा रहने योग्य कर्मचारी छनोट गर्ने संवैधानिक जिम्मेवारी पाएको लोक सेवा आयोगले साढे सात दशकदेखि योग्यता, निष्पक्षता र स्वच्छताको मूल सिद्धान्तमा आधारित रहेर प्रभावकारी रूपमा कार्य गर्दै आएको भन्दै राष्ट्रपति पौडेलले आयोगको प्रशंसा गरे।