आर्थिक सर्वेक्षणको आवरणमा ‘नयाँ संकेत’, निलो परम्परा तोडेर सुनौलो गाता प्रयोग - Chaitanya News
  • 2026-05-27
  • 16:24:00
  • बुधबार,जेठ १३, २०८३
  • आर्थिक सर्वेक्षणको आवरणमा ‘नयाँ संकेत’, निलो परम्परा तोडेर सुनौलो गाता प्रयोग

    आर्थिक सर्वेक्षणको आवरणमा ‘नयाँ संकेत’, निलो परम्परा तोडेर सुनौलो गाता प्रयोग

    काठमाडौं– सरकारले हरेक वर्ष सार्वजनिक गर्ने आर्थिक सर्वेक्षणको पुस्तिका यसपटक बाह्य स्वरूपमै फरक देखिएको छ। दशकौँदेखि प्रयोग हुँदै आएको निलो रङको गाता तोड्दै यस वर्ष आर्थिक सर्वेक्षणलाई हल्का सुनौलो (नेपाली कागज झल्किने) रङमा प्रस्तुत गरिएको छ।

    अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार संघीय संसद्मा आर्थिक सर्वेक्षण २०८२/८३ प्रस्तुत गर्दै नयाँ डिजाइनको पुस्तिका सार्वजनिक गरेका हुन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार बजेटअघि चालु आर्थिक वर्षको आर्थिक अवस्थाबारे संसद्मा सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ।

    यसपटकको सर्वेक्षणको आवरणमा सुनौलो रङको सिक्का जस्तो प्रतीकात्मक डिजाइन समेत प्रयोग गरिएको छ, जसलाई केहीले आर्थिक नीतिमा “नयाँ सोच र रूपान्तरणको संकेत” का रूपमा व्याख्या गरेका छन्।

    आर्थिक सर्वेक्षणमा देशको वास्तविक, मौद्रिक, वित्तीय तथा बाह्य क्षेत्रका सूचकहरूको विश्लेषण गरिन्छ। संघीय, प्रदेश तथा स्थानीय तहका निकाय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, वित्तीय संस्था र विकास साझेदारहरूको तथ्यांकलाई आधार बनाएर समग्र आर्थिक अवस्था मूल्यांकन गरिन्छ।

    यस वर्षको सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रारम्भिक तथ्यांक र अघिल्लो आवको पूर्ण विवरण समेटिएको छ। राजस्व, खर्च, उत्पादन, व्यापार तथा समग्र आर्थिक प्रवृत्तिको विस्तृत विश्लेषण पनि प्रस्तुत गरिएको छ।

    सामान्य रूपमा प्राविधिक दस्तावेज मानिने आर्थिक सर्वेक्षणको बाह्य आवरण परिवर्तनले भने राजनीतिक तथा आर्थिक वृत्तमा छुट्टै चर्चा पाएको छ।

    पूर्वअर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत आवरण परिवर्तनलाई प्रतीकात्मक भन्दै “आवरणबाट परिवर्तन सुरु भयो, तर यो केवल कस्मेटिक नहोस्” भन्ने टिप्पणी गरेका छन्।

    त्यस्तै, अर्थ मन्त्रालयका केही पूर्वसचिवहरूले पनि लामो समयदेखिको निलो परम्परा तोडेर सुनौलो रङ प्रयोग गर्नुले नयाँ आर्थिक दृष्टिकोणको संकेत दिन खोजिएको हुन सक्ने टिप्पणी गरेका छन्।

    तर विज्ञहरूको भनाइमा, आवरण परिवर्तनले मात्र आर्थिक नीतिको दिशा परिवर्तन नहुने भएकाले वास्तविक सुधार तथ्यांक, कार्यान्वयन क्षमता र नीतिगत स्थायित्वमा निर्भर हुने बताइएको छ।

    यसरी आर्थिक सर्वेक्षणको बाह्य स्वरूपमा देखिएको परिवर्तनले सरकारको सन्देशात्मक शैली परिवर्तनको संकेत दिएको भए पनि यसको प्रभाव वास्तविक नीतिगत सुधारमा कति देखिन्छ भन्ने प्रश्न भने खुला नै रहेको छ।