निर्वाचन सफलतामा सुरक्षा, समन्वय र मतदाता शिक्षाको भूमिका प्रभावकारी - Chaitanya News
  • 2026-05-25
  • 17:42:20
  • सोमबार,जेठ ११, २०८३
  • निर्वाचन सफलतामा सुरक्षा, समन्वय र मतदाता शिक्षाको भूमिका प्रभावकारी

    निर्वाचन सफलतामा सुरक्षा, समन्वय र मतदाता शिक्षाको भूमिका प्रभावकारी

    काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षा संयन्त्र, प्रशासन, राजनीतिक दल र नागरिक तहबीचको समन्वय प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ।

    निर्वाचन आयोग, नेपालले सोमबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा सहभागीहरूले चुनौतीपूर्ण भौगोलिक अवस्थाका बीच पनि निर्वाचन प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन भएको बताएका हुन्। उनीहरूले हिमाली तथा पहाडी क्षेत्रदेखि तराईका मतदान केन्द्रसम्म मतपत्र र मतपेटिका सुरक्षित ढुवानीमा सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

    कार्यक्रममा प्रशासनिक संयन्त्र र सुरक्षा व्यवस्थापन समयमै सक्रिय हुँदा मतदान प्रक्रियामा देखिएका समस्या तत्काल समाधान गर्न सम्भव भएको धारणा व्यक्त गरिएको थियो। यसले निर्वाचनलाई भयरहित र विश्वसनीय बनाउन मद्दत पुगेको सहभागीहरूको भनाइ थियो।

    निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटी ले निर्वाचनलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले समेत निष्पक्ष र विश्वसनीय मानेको जानकारी दिए। उनले आगामी निर्वाचनलाई वातावरणमैत्री र प्रविधिमैत्री बनाउने लक्ष्यसहित ‘ग्रिन इलेक्सन’ अवधारणा अघि बढाइने बताए।

    मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल ले सबै सरोकारवाला निकायको सहकार्यका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरे।

    आयोगका सहसचिव कमल ज्ञवाली का अनुसार यस पटक बदर मतदर न्यून रहनु सकारात्मक उपलब्धि हो। मतदाता शिक्षालाई प्रभावकारी बनाउन देशभरका प्रत्येक वडामा प्रतिनिधि परिचालन गरिएको उनले जानकारी दिए।

    समीक्षा कार्यक्रममा निर्वाचन खर्चबारे पनि विवरण सार्वजनिक गरिएको थियो। आयोगका अनुसार निर्वाचनका लागि कुल करिब ४ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ खर्च भएको तथा प्रतिमतदाता औसत लागत करिब २६३ रुपैयाँ पुगेको उल्लेख गरिएको छ।

    कार्यक्रममा कोशी प्रदेशका १४ जिल्लाका निर्वाचन अधिकारी, निर्वाचन अधिकृत, पर्यवेक्षक, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए।