जोगियानाः जीवन, मृत्यु, प्रेम, शून्यता र अस्तित्वको दस्तावेज - Chaitanya News
  • 2026-05-21
  • 19:16:57
  • बिहिबार,जेठ ०७, २०८३
  • जोगियानाः जीवन, मृत्यु, प्रेम, शून्यता र अस्तित्वको दस्तावेज

    जोगियानाः जीवन, मृत्यु, प्रेम, शून्यता र अस्तित्वको दस्तावेज

    तोमनाथ उप्रेती:

    १. बिषय प्रवेश

    कुमार नगरकोटी समकालीन नेपाली साहित्यका एक विशिष्ट, प्रयोगवादी र उत्तरआधुनिक चेतनाका लेखक हुन्। उनी विशेषतः कथा, निबन्ध, नाटक र उपन्यासमा परम्परागत संरचनालाई भत्काएर नयाँ भाषिक र शैलीगत प्रयोग गर्ने लेखकका रूपमा चिनिन्छन्। उनको लेखनमा भाषा सञ्चारको माध्यम नभई चेतना, अनुभूति र दर्शनको खेल देखिन्छ।

    नगरकोटीको साहित्यिक यात्रा नेपाली प्रयोगवादी साहित्यको महत्वपूर्ण मोड हो। उनका कृतिहरूमा कथानकभन्दा बढी संरचनात्मक भङ्ग, बहुल अर्थ र चेतनाको प्रवाह प्रमुख देखिन्छ। उनले लेखनमा पूर्वीय दर्शन, बौद्ध शून्यता, सूफी रहस्यवाद र पश्चिमी अस्तित्ववादको अनौठो मिश्रण प्रस्तुत गरेका छन्।

    उनको चर्चित कृति ‘जोगियाना’ नेपाली साहित्यमा प्रयोगवादी लेखनको एउटा महत्वपूर्ण उदाहरण मानिन्छ, जहाँ कथा परम्परागत रूपमा होइन, टुक्रा-टुक्रा अनुभूति र दार्शनिक विचारहरूको रूपमा प्रस्तुत हुन्छ। यस कृतिमा जीवन, मृत्यु, प्रेम, शून्यता र अस्तित्वको प्रश्नहरूलाई कविता जस्तो भाषामा प्रस्तुत गरिएको छ।

    नगरकोटीको लेखनमा आधुनिक जीवनका साधारण तत्वहरू जस्तै यात्रा, संगीत, मदिरा, सिनेमा, सामाजिक सञ्जाललाई पनि दार्शनिक गहिराइसँग जोडिन्छ। यसले उनको साहित्यलाई अत्यन्त समकालीन र वैश्विक बनाएको छ।

    उनको प्रमुख योगदान नेपाली साहित्यलाई सीमित कथात्मक ढाँचाबाट बाहिर निकालेर अनुभवात्मक र बहुल अर्थयुक्त बनाउनु हो। उनी पाठकलाई निष्क्रिय ग्रहणकर्ता होइन, सहनिर्माता बनाउँछन्। यही कारण उनका कृतिहरू प्रत्येक पाठमा फरक अर्थ दिन्छन्।

    जोगियानाको दार्शनिक आधार अस्तित्ववाद र सूफी चेतनाको संगममा उभिएको छ। यहाँ जीवनलाई निश्चित अर्थले बाँधिएको छैन बरु अर्थ आफैँ प्रश्न बनेको छ। मानिस को हो भन्ने प्रश्नको उत्तर खोज्ने होइन, प्रश्नलाई नै बाँच्ने अभ्यास यहाँ प्रस्तुत गरिएको छ। स्मृति र विस्मृति एकअर्काका विरोधी होइनन्, बरु एउटै चेतनाका दुई रूप हुन्, जसले अस्तित्वलाई निरन्तर पुनःनिर्माण गर्छन्।

    यस कृतिमा भाषा स्वयं सृजनात्मक शक्ति हो। शब्दहरू स्थिर अर्थका संरचना होइनन्, बरु भावनात्मक तरंग हुन्, जसले पाठकलाई तर्कभन्दा पर अनुभूतिमा पुर्‍याउँछन्। त्यसैले जोगियाना पढ्दा अर्थ खोज्ने प्रयास आफैँमा विघटन हुन्छ र त्यहाँ अनुभूतिको बहाव मात्र बाँकी रहन्छ।

    नगरकोटीले संस्मरणलाई व्यक्तिगत कथाबाट उठाएर सार्वभौमिक चेतनाको क्षेत्रमा पुर्‍याएका छन्। यहाँ जीवन निजी होइन, सामूहिक र प्रतीकात्मक छ। प्रत्येक घटना दर्शनमा रूपान्तरित हुन्छ र प्रत्येक स्मृति अस्तित्वको प्रश्नमा बदलिन्छ। यही कारण जोगियाना चेतनाको प्रयोगशाला हो जहाँ जीवन आफैँ लेखिँदै, मेटिँदै र पुनः लेखिँदै जान्छ।

    २. शैली र संरचना :

    जोगियानाको संरचना परम्परागत संस्मरणात्मक लेखनको सीमाभन्दा पूर्ण रूपमा बाहिर उभिएको छ। यहाँ कथा सुरु हुन्छ भन्ने निश्चित बिन्दु छैन, न त अन्त्य हुने स्पष्ट गन्तव्य नै। बरु यो कृति टुक्रा–टुक्रा अनुभूतिहरूको यस्तो संग्रह हो, जसले मिलेर एउटा अस्थिर तर अत्यन्त जीवन्त चेतनात्मक चित्र बनाउँछ। प्रत्येक टुक्रा आफैँमा पूर्ण लाग्छ, तर समग्रमा ती सबै मिलेर जीवनको अनिश्चितता र बहुलताबोध प्रस्तुत गर्छन्। यही अस्थिरता नै यसको संरचनात्मक सौन्दर्य हो।

    नगरकोटीको लेखन शैली अन्तर्मनको निरन्तर विचार प्रवाहमा आधारित छ, जहाँ विचारहरू तार्किक क्रमभन्दा पनि अनुभूतिको प्रवाहमा बग्छन्। कहिले वाक्य कविता बन्छ, कहिले निबन्ध, कहिले संवाद, कहिले मौनताको रूप लिन्छ। यो प्रवाहभित्र पाठकलाई कुनै स्थिर स्थान दिइँदैन। उसले पनि लेखनसँगै बग्नुपर्छ।

    नगरकोटीको लेखन नेपाली साहित्यमा अलग्गै पहिचान बनाएको प्रयोगात्मक चेतना हो। जोगियानामा यो शैली अझ अझ खुला र आत्मविश्लेषणात्मक बनेको देखिन्छ। यहाँ उनी कहिले सूफियाना बन्छन्, कहिले मदिराना, कहिले फकिराना, कहिले मिस्टिकाना। यी सबै मुडहरू कुनै बाहिरी परिवर्तन होइनन्, बरु एउटै आत्माको विभिन्न तहहरू हुन्, जसले जीवनलाई स्थिर सत्य होइन, तरल अनुभूतिको रूपमा बुझ्न आग्रह गर्छन्।

    यस कृतिमा भाषा पनि स्थिर छैन। त्यो पनि पात्रजस्तै बदलिरहन्छ। अर्थ यहाँ तयार हुँदैन, भत्किन्छ र पुनः जन्मिन्छ। त्यसैले जोगियाना पाठकलाई उत्तर दिन होइन, प्रश्नमै बाँधिराख्छ। यो कृति अन्ततः अर्थ खोज्ने होइन, अर्थमा हराउने कला सिकाउने साहित्यिक अनुभव हो।

    ३. भाषा :

    जोगियानाको सबैभन्दा बलियो र निर्णायक पक्ष यसको भाषा हो, जसले परम्परागत साहित्यिक सीमालाई भत्काएर नयाँ सौन्दर्य–अनुभूतिको निर्माण गर्छ। यहाँ भाषा संगीत, लय र चेतनाको कम्पन हो। मुड मदिराना, मुड मिस्टिकाना, मन सुफियाना जस्ता शब्दहरू सामान्य अर्थको संरचनाबाट बाहिर निस्केर एक प्रकारको भाव–संगीतमा रूपान्तरित हुन्छन्। यी शब्दहरूले अर्थ बुझाउने भन्दा बढी अनुभूति जगाउँछन्, जसले पाठकलाई तार्किक सोचभन्दा भावनात्मक चेतनातर्फ डोर्‍याउँछ।

    नगरकोटीले शब्दलाई स्थिर वस्तु होइन, गतिशील ऊर्जा बनाउँछन्। उनका वाक्यहरू बनिँदैनन्, बग्छन्। भाषा यहाँ कहिले नदीझैँ प्रवाहित हुन्छ, कहिले तरंगझैँ टुट्छ, कहिले आफैँलाई पुनः सिर्जना गर्छ। यही भाषिक अस्थिरताले जोगियानालाई जीवित बनाउँछ। यसमा शब्दहरू अर्थको सीमा भत्काएर नयाँ अनुभूतिको सम्भावना खोल्छन्।

    यस कृतिको केन्द्रमा रहेको गहन प्रश्न अस्तित्वसँग सम्बन्धित छ। मानिस आखिर के हो? नगरकोटी यस प्रश्नको कुनै निश्चित उत्तर दिँदैनन्। बरु उनी अनन्त सम्भावनाहरूको ढोका खोलिदिन्छन्। “म जन्म र मृत्युको बीचको अनन्त सिलसिला हुँ” भन्ने वाक्य यहाँ अस्तित्ववादी घोषणाजस्तै लाग्छ। यसले मानिसलाई स्थिर पहिचान होइन, निरन्तर बन्दै जाने प्रक्रिया रूपमा प्रस्तुत गर्छ।

    यस दृष्टिले जोगियाना’ अस्तित्ववादसँग गहन रूपमा जोडिन्छ, जहाँ अर्थ बाहिरबाट थोपिँदैन, बरु भित्रबाट जन्मिन्छ। जीवन यहाँ निश्चित संरचनामा बन्द छैन। यो सम्भावनाहरूको विशाल र अनिश्चित मैदान हो। प्रत्येक अनुभव, प्रत्येक स्मृति र प्रत्येक भाषा अस्तित्वको नयाँ रूप बन्छ।

     

    ४. सूफी चेतना : प्रेम र शून्यताको दर्शन

    जोगियानामा सूफी दर्शनको गहन र सूक्ष्म प्रभाव स्पष्ट रूपमा अनुभूत हुन्छ। यहाँ मन सुफियाना चेतनाको एक उच्च अवस्थाको संकेत हो। सूफी परम्परामा जस्तै, यहाँ पनि आत्मा, प्रेम र शून्यताको खोज केन्द्रमा रहेको छ। यो खोज कुनै बाहिरी ईश्वरतर्फको यात्रा होइन, बरु भित्री चेतनाको गहिराइतर्फको अवतरण हो, जहाँ व्यक्ति स्वयं आफैँलाई भेट्न नपुगेसम्मको लामो साधनामा हुन्छ।

    नगरकोटीको लेखनमा परमात्मा कुनै बाह्य सत्ता वा ठोस धार्मिक संरचना होइन। बरु त्यो अनुभवको तरंग हो कहिले प्रेममा प्रकट हुने, कहिले पीडामा, कहिले मौनतामा हराउने। यही कारणले यहाँ जीवन पूजा बन्छ, प्रेम प्रार्थना बन्छ र पीडा स्वयं साधनामा रूपान्तरण हुन्छ। यस कृतिमा भोगाइ र साधना अलग छैनन् दुवै एउटै आध्यात्मिक प्रक्रियाका रूप हुन्।

    नगरकोटीले जोगियानालाई संस्मरणको सीमाबाट माथि उठाएर एक प्रकारको आध्यात्मिक डायरी बनाएका छन्। यहाँ लेखक आफूलाई लेख्दै, हराउँदै, फेरि पुनः भेट्दै जान्छन्। आत्मको खोज कुनै निश्चित गन्तव्यमा पुगेर समाप्त हुँदैन बरु निरन्तर खुलिरहने प्रक्रिया बन्छ।

    सूफी दृष्टिमा प्रेम व्यक्तिगत सम्बन्ध होइन अस्तित्वगत एकत्व हो। जोगियानामा प्रेम कुनै व्यक्ति, शरीर वा नाममा सीमित छैन। यो सम्पूर्ण अस्तित्वसँगको सम्बन्ध हो। त्यसैले यहाँ प्रेम र ईश्वर अलग छैनन् बरु एउटै अनुभूतिको दुई रूप हुन्।

    यस कृतिमा शून्यता पनि महत्वपूर्ण अवधारणा हो। तर यो शून्यता खालीपन होइन, बरु पूर्णताको गहन रूप हो। जहाँ सबै अर्थ हराएपछि मात्र वास्तविक अनुभूति बाँकी रहन्छ। यही कारण जोगियाना गहन आध्यात्मिक अनुभवको साहित्यिक रूप हो जहाँ जीवन स्वयं साधना बन्छ र अस्तित्व स्वयं ध्यान।

    ५. अस्तित्ववाद :

    जोगियानालाई विश्व साहित्यिक परम्परासँग तुलना गर्दा यो कृति कुनै एक धारा वा विद्यालयमा सीमित रहँदैन, बरु बहु–धारात्मक चेतनाको प्रतिनिधि बनेको देखिन्छ। नगरकोटीको लेखनमा देखिने अन्तरपाठीयता, शैलीगत खण्डन र चेतनाको प्रवाह विश्व साहित्यका केही महान लेखकहरूको परम्परासँग गहन संवाद गर्छ। विशेषतः होर्खे लुइस बोर्खेसको ग्रन्थहरूमा जस्तै यहाँ पनि पाठ र वास्तविकता बीचको सीमा धमिलो हुन्छ, जहाँ पुस्तक स्वयं अनन्त पुस्तकालयको प्रतीक बन्न पुग्छ। त्यस्तै, Italo Calvino को If on a winter’s night a traveler मा जस्तो पाठकीय विखण्डन र बहुविध कथन जोगियानामा पनि स्पष्ट रूपमा अनुभूत हुन्छ।

    तर नगरकोटीको शैली केवल पश्चिमी पोस्टमोडर्न परम्परामा सीमित छैन। उनी पूर्वीय काव्य, सूफी चेतना र मिथकीय प्रतीकहरूको गहन प्रयोग गर्छन्, जसले उनलाई रबिन्द्रनाथ टागोर जस्ता वैश्विक काव्य दार्शनिक परम्परासँग पनि नजिक ल्याउँछ। टागोरको जस्तै यहाँ पनि आत्मा, प्रकृति र ब्रह्माण्डबीचको संवाद छ, तर नगरकोटीमा त्यो संवाद अझ विखण्डित, अझ शहरी र अझ अस्तित्ववादी बनेको छ।

    अस्तित्ववादी प्रश्नहरूको सन्दर्भमा जोगियानालाई अल्बेयर काम्यू र फ्रान्ज काफ्काको परम्परासँग तुलना गर्न सकिन्छ। क्याम्युको जस्तै यहाँ जीवनको अर्थ स्थिर छैन बरु अर्थहीनतामै अर्थ खोज्ने प्रयास छ। काफ्काको जस्तै यहाँ वास्तविकता र कल्पनाको सीमाहरू टुटेका छन्, जहाँ साधारण अनुभव पनि रहस्यमय प्रतीकमा रूपान्तरण हुन्छ।

    तर फरक के हो भने नगरकोटी पूर्ण निराशावादी होइनन् उनी खेलात्मक दार्शनिक हुन्। उनी प्रश्नलाई बोझ होइन, उत्सव बनाउँछन्। यही कारण जोगियानालाई अस्तित्ववादी निराशा होइन, अस्तित्वको उत्सव पनि भन्न सकिन्छ।

    विश्व साहित्यमा जस्तै, यहाँ पनि विधाहरूको विघटन छ। कविता, निबन्ध, संस्मरण र दर्शन सबै मिसिएका छन्। तर यो मिश्रण अराजक होइन यो चेतनाको संरचित तरलता हो। जहाँ स्थानीय अनुभव पनि वैश्विक भाषामा बोल्छ र वैश्विक दर्शन पनि व्यक्तिगत स्मृतिमा रूपान्तरण हुन्छ।

    ६. स्मृति र विस्मृति:

    जोगियानामा प्रस्तुत स्मृति र विस्मृतिको तरल अवधारणा विश्व साहित्यका महान उपन्यासकारहरूको दृष्टिसँग तुलना गर्दा अत्यन्त रोचक र बहुआयामिक सम्बन्ध देखिन्छ। यहाँ स्मृति कुनै स्थिर अभिलेख होइन बरु निरन्तर पुनःनिर्माण हुने चेतनाको प्रवाह हो। यो दृष्टि फ्रान्सेली उपन्यासकार मार्सेल प्रुस्तको इन सर्च अफ लस्ट टाइमसँग गहन संवादमा आउँछ। प्रुस्टमा स्मृति स्वाद र सुगन्धमार्फत आकस्मिक रूपमा जागृत हुन्छ, तर नगरकोटीमा स्मृति आफैँ विखण्डित, खेलात्मक र आत्मसचेत प्रक्रियामा बदलिन्छ। प्रुस्टको स्मृति अतीतमा फर्किन्छ भने नगरकोटीको स्मृति वर्तमानलाई नै पुनः लेख्छ।

    त्यस्तै, जेम्स जोयसको युलिसिसमा देखिने चेतनाको प्रवाह शैलीसँग पनि जोगियानाको स्मृति–प्रवाह गहन रूपमा सम्बन्धित छ। जोइसमा समय र चेतना एउटै क्षणमा विस्फोट हुन्छ। नगरकोटीमा पनि स्मृति र वर्तमान छुट्टिँदैनन्। तर फरक के हो भने जोइसको लेखन अधिक संरचनात्मक जटिलतामा केन्द्रित छ भने नगरकोटीको लेखन भावनात्मक र दार्शनिक तरलतामा बढी झुकेको छ।

    विस्मृतिको सन्दर्भमा जोगियाना होर्खे लुइस बोर्खेसको कथन–परम्परासँग नजिक आउँछ। बोर्हेसमा विस्मृति अनन्त सम्भावनाको ढोका खोल्नु हो। नगरकोटीमा पनि विस्मृति नकारात्मक अवस्था होइन बरु सिर्जनात्मक शून्यता हो, जहाँ नयाँ अनुभूति जन्मिन्छ। यही कारण स्मृति र विस्मृति यहाँ विरोधी होइनन्, सह–अस्तित्वमा रहेका दुई ऊर्जा हुन्।

    वर्जिनिया वुल्फको उपन्यासहरूमा जस्तै जोगियानामा पनि समय र चेतना रेखीय छैनन्। वुल्फमा क्षणहरू मनोवैज्ञानिक तरंगमा बग्छन्। नगरकोटीमा ती तरंगहरू अझ खण्डित, काव्यात्मक र आत्ममन्थनशील बनेका छन्। यहाँ विगत, वर्तमान र भविष्य एउटै चेतनात्मक सतहमा मिसिन्छन्।

    त्यसैगरी, गाब्रियल गार्सिया मार्केजको जादुई यथार्थवादसँग तुलना गर्दा ‘जोगियाना’मा स्मृति आफैँ मिथक बन्ने प्रक्रिया देखिन्छ। मार्खेजमा इतिहास चक्रीय र जादुई हुन्छ; नगरकोटीमा स्मृति व्यक्तिगत भए पनि सार्वभौमिक प्रतीकमा रूपान्तरण हुन्छ।

    यसरी हेर्दा जोगियानाको स्मृति–विस्मृति दर्शनले प्रुस्टको गहन आत्मचेतना, जोइसको चेतनाको प्रवाह, बोर्हेसको दार्शनिक भूलभुलैया, वुल्फको मनोवैज्ञानिक समय र मार्खेजको मिथकीय यथार्थ जस्ता विश्व साहित्यका विभिन्न परम्परासँग संवाद गर्छ । तर नगरकोटीको विशिष्टता के हो भने उनले यी सबै प्रभावहरूलाई स्थानीय संवेदनासँग मिसाएर एउटा नयाँ तरल अस्तित्ववादी भाषा निर्माण गरेका छन्।

    ७. बहुपाठीयता : संस्कृतिहरूको संगम

    ‘जोगियाना’को भाषिक प्रयोगलाई विश्व साहित्यिक परम्परासँग तुलना गर्दा यो कृति नेपाली प्रयोगवादी लेखनको सीमाभित्र मात्र सीमित देखिँदैन बरु यो विश्व साहित्यका केही महान प्रयोगशील लेखकहरूको चेतनासँग संवाद गर्छ। नगरकोटीले जसरी भाषा भत्काएर पुनःनिर्माण गर्छन्, त्यही प्रवृत्ति हामीलाई आधुनिकतावादी र उत्तरआधुनिक साहित्यिक परम्परामा देखिन्छ।

    जसरी गालिब ले उर्दू गजलमा भाव र दर्शनको सूक्ष्म तहहरू मिसाएर प्रेम, पीडा र अस्तित्वलाई एउटै शेरमा समेटे, त्यसरी नै जोगियानाले पनि शब्दलाई अर्थको वाहक होइन, अनुभूतिको कम्पन बनाउँछ। गालिबको भाषिक गहिराइ जस्तै यहाँ शब्दहरू बहुस्तरीय छन्। एकै वाक्यले अनेक अर्थ खोल्छ।

    त्यस्तै कबीर ले लोकभाषा र आध्यात्मिक विद्रोहलाई मिसाएर जुन सरल तर तीक्ष्ण अभिव्यक्ति दिए, नगरकोटीको प्रयोगमा पनि त्यही प्रकारको निर्भीकता देखिन्छ। कबीरले जसरी संस्थागत धर्मभाषालाई चुनौती दिए, जोगियानाले पनि परम्परागत नेपाली कथन संरचनालाई भत्काएर नयाँ लय सिर्जना गर्छ।

    शास्त्रीय परम्परामा कालिदासले संस्कृत भाषालाई सौन्दर्य, उपमा र प्रकृतिको उच्चतम शिखरमा पुर्‍याए। कालिदासमा भाषा सौन्दर्य र शिल्पको पराकाष्ठा हो भने जोगियानामा भाषा विघटन र पुनर्निर्माणको खेल हो। एउटा शास्त्रीय सौन्दर्यको प्रतिनिधि हो भने अर्को उत्तरआधुनिक चेतनाको।

    जोगियाना पूर्वीय र पाश्चात्य साहित्यिक चेतनाको संगम बिन्दुमा उभिन्छ। यो नेपाली प्रयोगवादी साहित्यको दस्तावेज होइन, बरु विश्व साहित्यको त्यही परम्पराको हिस्सा हो जहाँ भाषा सीमित अर्थ होइन अनन्त सम्भावना हो। नगरकोटीले साहित्यलाई अनुभव बनाएका छन् जहाँ पाठक पढ्दैन, यात्रा गर्छ।

    ८. दर्शन र विडम्बना :

    दार्शनिक दृष्टिले जोगियानालाई पढ्दा यो कृति कुनै स्थिर अर्थ वा निश्चित सत्यको खोज होइन, बरु अर्थको विघटन र पुनःअनुभव हो। यहाँ जीवनलाई रेखीय यात्रा होइन, तर टुक्रिएको समय, अस्थिर चेतना र निरन्तर बदलिँदो अनुभूतिको जालका रूपमा प्रस्तुत गरिएको छ। यही कारण यसले पाठकलाई उत्तर दिनुभन्दा बढी प्रश्नहरूमा छोड्छ।

    नगरकोटीको लेखनमा जीवनको अनिश्चितता संरचना नै हो। पात्रहरू, विचारहरू र अनुभूतिहरू स्थिर छैनन् तिनीहरू चेतनाको प्रवाह आफैं सरे झैं निरन्तर सरिरहेका छन्। यो दृष्टि पश्चिमी अस्तित्ववादसँग गहन संवादमा छ, विशेषतः क्यामुको विसंगत चेतनासँग। क्यामुको दृष्टिमा जीवन अर्थहीन छ, तर मानिस निरन्तर अर्थ खोज्न बाध्य छ। जोगियानामा पनि यही द्वन्द्व देखिन्छ अर्थ खोजिन्छ, तर अर्थ आफैं विघटित हुन्छ।

    तर यसलाई केवल निराशावादी दृष्टिकोण भन्न मिल्दैन, किनकि यहाँ पूर्वीय अध्यात्मको गहन छाया पनि छ। बौद्ध दर्शनको शून्यता जस्तै, यहाँ अस्तित्व कुनै ठोस वस्तु होइन, तर सम्बन्धहरूको प्रवाह हो। शून्यता यहाँ रिक्तता होइन, सम्भावनाको खुला आकाश हो। यही ठाउँमा जीवनको अस्थिरता पीडा होइन, सौन्दर्य बन्छ।

    सूफी परम्पराको प्रेम चेतना पनि यस कृतिमा प्रतिध्वनित हुन्छ जहाँ विरोधाभास नै सत्य हो। “म पाप पनि हुँ, पुण्य पनि हुँ” भन्ने कथन अस्तित्वको सीमालाई भत्काउने घोषणा हो। यो दृष्टिले नैतिक द्वैतलाई स्थायी संरचना होइन, अनुभवको तरल अवस्था बनाइदिन्छ। सूफी परम्परामा जस्तै यहाँ प्रेम र विघटन एउटै बिन्दुमा भेटिन्छ।

    जोगियानाको दार्शनिक आत्मा विडम्बनामा बाँच्दछ। यहाँ गम्भीरता आफैं हास्यमा बदलिन्छ र हास्यभित्र गहन अस्तित्व प्रश्न लुकेको हुन्छ। यो दृष्टि उत्तरआधुनिक चेतनासँग नजिक छ, जहाँ सत्य एकल हुँदैन, बहुल हुन्छ। यसरी हेर्दा, जोगियाना पूर्वीय शून्यता र पश्चिमी अस्तित्ववादबीचको सेतु जस्तो देखिन्छ। एकातिर शून्यतामा विलीन हुने अध्यात्म, अर्कोतिर अर्थ खोज्दै संघर्ष गर्ने आधुनिक मानव चेतना दुवै यहाँ एकै पाठमा मिसिन्छन्। नगरकोटीले जीवनलाई परिभाषित गर्न खोजेका छैनन् बरु त्यसको अस्थिरतालाई नै सौन्दर्यमा रूपान्तरण गरेका छन्।

    जोगियानाको दार्शनिक योगदान यही हो कि यसले जीवनलाई समाधानको रूपमा होइन, प्रश्नको निरन्तर प्रवाहको रूपमा प्रस्तुत गर्छ जहाँ अनिश्चितता नै अन्तिम सत्य हो र भटकाइ नै सबैभन्दा प्रामाणिक यात्रा हो।

    ९. आधुनिकता र दैनिक जीवन:

    जोगियानाको संरचनात्मक सौन्दर्य यसको सबैभन्दा क्रान्तिकारी पक्ष हो। परम्परागत उपन्यास वा कथाजस्तो यहाँ कुनै स्पष्ट आरम्भ, मध्य र अन्त्य छैन। बरु, यो टुक्रा-टुक्रा अनुभूतिहरूको यस्तो संरचना हो, जसले आफैंमा पूर्णता खोज्दैन, तर अनन्त सम्भावनाको संकेत दिन्छ। यही कारण यसलाई रेखीय कथा होइन, चेतनाको मोजाइक भन्न सकिन्छ।

    यो संरचना पोस्टमोडर्न साहित्यको मूल विशेषतासँग गहन रूपमा जोडिन्छ। अर्थ यहाँ स्थिर छैन त्यो निरन्तर सर्ने, बदलिने र पाठकसँगै पुनःनिर्मित हुने प्रक्रिया हो। प्रत्येक पढाइले नयाँ जोगियाना जन्माउँछ, किनकि पाठ आफैं बन्द प्रणाली होइन, खुला अनुभव हो। यही दृष्टिले पाठकलाई निष्क्रिय उपभोक्ता होइन, सह-निर्माता बनाउँछ अर्थ निर्माणको सक्रिय सहभागी।

    नगरकोटीको लेखनमा आधुनिक जीवनका साधारण तत्वहरू फेसबुक, मदिरा, यात्रा, संगीत, सिनेमा अचानक दार्शनिक गहिराइमा रूपान्तरित हुन्छन्। यहाँ कुनै विषय सामान्य रहँदैन। यात्रा एउटा भौगोलिक गतिशीलता होइन अस्तित्वको प्रश्न बन्छ। एउटा भेटघाट केवल सामाजिक घटना होइन आत्मीयताको विखण्डन र पुनःनिर्माण बन्छ।जोगियाना’ले आधुनिक जीवनलाई विभाजित र तुच्छ होइन बरु ध्यानमय रूपमा पुनःव्याख्या गर्छ। नगरकोटीको दृष्टिमा ध्यान मन्दिरमा मात्र हुँदैन त्यो सडक, बार, सिनेमा हल वा सामाजिक सञ्जालको स्क्रोलिङमा पनि सम्भव छ यदि चेतना जागृत छ भने।

    यो दृष्टि पूर्वीय ध्यान परम्परा र उत्तरआधुनिक संवेदनशीलताको अद्भुत संगम हो। यहाँ साधारणता र गम्भीरता बीचको सीमाना मेटिन्छ। जीवनका साना घटनाहरू जस्तै यात्राको थकान, अनायास भेटिएको मान्छे वा एक क्षणको मौनता यहाँ अस्तित्वको ठूलो प्रश्नमा रूपान्तरित हुन्छन्।

    १०. मृत्युको पुनःपरिभाषा : अन्त होइन रूपान्तरण

    जोगियानामा मृत्यु कुनै अन्तिम रेखा होइन बरु चेतनाको अर्को तहमा प्रवेश गर्ने द्वार हो। यहाँ मृत्युको परम्परागत भयात्मक अर्थ जसले जीवनलाई अन्त्य, शून्यता वा विनाशका रूपमा बुझ्छ त्यो संरचना भत्काइन्छ। यसको सट्टा मृत्युलाई निरन्तर रूपान्तरणको प्रक्रिया बनाइन्छ। यही कारण यो कृतिमा मृत्यु स्थिर घटना होइन, प्रवाहमान अनुभव हो।

    “म मृत्युको मृत्युमा मृत्युलाई दिइने समवेदना हुँ” यो कथन काव्यिक अतिशयोक्ति होइन, बरु अस्तित्वको उल्ट्याइ हो। यहाँ मृत्यु आफैं प्रश्न बनाइन्छ र त्यसको पनि मृत्यु हुन्छ। यसरी मृत्युको अन्त्य नै अर्को सुरुवात बन्छ। यस दृष्टिले जीवन र मृत्युबीचको कडा सीमाना भत्किन्छ र दुवै एउटै निरन्तर चेतनाको दुई स्वरूप मात्र बन्न पुग्छन्।

    यो दृष्टि पूर्वीय दार्शनिक परम्परासँग गहन रूपमा संवाद गर्छ। हिन्दू दर्शनमा आत्मा अमर छ शरीर मात्र परिवर्तनशील आवरण हो। उपनिषद् परम्परामा मृत्यु अन्त होइन एक अवस्थाबाट अर्को अवस्थामा रूपान्तरणको यात्रा हो । त्यस्तै बौद्ध दर्शनमा मृत्यु कुनै स्थायी अन्त्य होइन, तर अनित्यताको निरन्तर पुष्टि हो जहाँ कुनै पनि अस्तित्व स्थिर रहँदैन, सबै प्रवाहमा बगिरहन्छ।

    त्यसैगरी सूफी दर्शनमा मृत्यु प्रेमसँग जोडिएको हुन्छ जहाँ अहंको विघटनपछि मात्र परम सत्यसँग मिलन सम्भव हुन्छ। यहाँ मृत्यु डर होइन, मिलन हो। विघटन होइन, विलय हो। यही सूफी दृष्टिले जोगियानामा मृत्युको अर्थलाई भावनात्मक रूपमा पनि रूपान्तरण गर्छ।

    यसरी जोगियानाले हिन्दू, बौद्ध र सूफी तीनै परम्पराहरू लाई एउटै दार्शनिक बिन्दुमा ल्याउँछ। मृत्यु अन्त होइन, रूपान्तरण हो। तर नगरकोटी यहाँ परम्परागत धार्मिक व्याख्यामा रोकिँदैनन् उनी यसलाई आधुनिक अस्तित्व चेतनासँग मिसाउँछन्। मृत्यु यहाँ केवल आध्यात्मिक विषय होइन, मनोवैज्ञानिक र अस्तित्वगत अनुभव पनि हो जहाँ मानिस आफ्नो भय, स्मृति र अस्थिरतासँग साक्षात्कार गर्छ।

    यस दृष्टिले मृत्युको भयात्मक संरचना भत्किन्छ र त्यसको ठाउँमा एक प्रकारको सौन्दर्यपूर्ण स्वीकार आउँछ। मृत्यु अब अन्धकार होइन, चेतनाको अर्को उज्यालो तह हो जहाँ अस्तित्व आफैंलाई पुनः परिभाषित गर्छ।

    ११. प्रेमको पुनःअर्थ :

    जोगियानामा प्रेम कुनै परम्परागत रोमान्टिक कथानकको केन्द्र होइन। यहाँ प्रेम प्रेमिकाको प्रतीक्षा, सम्बन्धको स्थायित्व वा भावनात्मक पूर्णताको चाहना मात्र होइन बरु अस्तित्वसँगको गहन संवाद हो। नगरकोटीको दृष्टिमा प्रेम कुनै व्यक्ति होइन चेतनाको अवस्था हो। यस्तो अवस्था जहाँ मानिस आफैं, आफ्ना विखण्डित अनुभवहरू, स्मृतिहरू र पीडासँग पनि प्रेम गर्न थाल्छ।

    यो प्रेम शरीरको सीमामा अडिँदैन, न त सामाजिक सम्बन्धको संरचनामा मात्र सीमित हुन्छ। यो प्रेम भाषा स्वयं हो जहाँ शब्दहरू अर्थ बोकेर होइन, अनुभूति बोकेर बाँचिरहेका हुन्छन्। यो स्मृति हो जसले समयलाई पुनः लेख्छ। यो पीडा हो जसले अस्तित्वलाई गहन बनाउँछ। र यो शून्यता हो जसले सबै अर्थहरूलाई सम्भावनामा रूपान्तरण गर्छ।यस दृष्टिले प्रेम र पीडा विरोधी होइनन्, बरु एउटै अस्तित्वीय प्रवाहका दुई रूप हुन्। प्रेमभित्र पीडाको बीउ हुन्छ र पीडाभित्र प्रेमको सम्भावना। यही द्वैतको सहअस्तित्वले जोगियानालाई भावनात्मक मात्र होइन, दार्शनिक रूपमा पनि गहन बनाउँछ। यहाँ आनन्द र पीडा अलग अनुभूति होइनन्, बरु एउटै चेतनाको फरक तरंगहरू हुन्।

    यस प्रकारको दृष्टि पूर्वीय अद्वैत दर्शनसँग पनि मिल्दोजुल्दो छ, जहाँ विभाजन अन्ततः माया हो। तर नगरकोटी यसलाई केवल आध्यात्मिक निष्कर्षमा सीमित राख्दैनन् उनी यसलाई आधुनिक संवेदनशीलताको स्तरमा ल्याउँछन्। प्रेम यहाँ ध्यान जस्तै हुन्छ तर सक्रिय ध्यान, जहाँ जीवनका साधारण क्षणहरू नै साधना बन्छन्।

    जोगियानाको प्रेम कुनै आदर्शीकृत भावना होइन, बरु अस्तित्वसँगको निरन्तर सहअस्तित्व हो। यहाँ मानिस कसैलाई मात्र होइन, आफूभित्रका टुक्रा–टुक्रा अवस्थाहरूलाई पनि स्वीकार गर्न सिक्छ। प्रेमको अर्थ सम्बन्धमा होइन, स्वीकारमा रूपान्तरित हुन्छ।नगरकोटीको प्रेम दृष्टि यही हो कि प्रेम कुनै लक्ष्य होइन, कुनै पूर्णता होइनयो त निरन्तर बाँच्ने तरिका हो। जहाँ मानिस आफ्नो अस्थिरता, आफ्ना भंगुर अनुभवहरू र आफ्नै शून्यतासँग पनि प्रेम गर्न सिक्छ र यही क्षणमा जोगियानाको प्रेम रोमान्सभन्दा माथि उठेर अस्तित्वको सबैभन्दा गहन अनुभूति बन्न पुग्छ।

    १२. निष्कर्ष :

    जोगियाना अन्ततः कुनै परम्परागत कथा होइन, बरु जीवनको काव्यात्मक पुनःअनुभूति हो। यसले पाठकलाई जीवन आफैंभित्र प्रवेश गराउने प्रयास गर्छ। यहाँ साहित्य अस्तित्वको पुनःनिर्माण हो जहाँ भाषा, स्मृति, पीडा र शून्यता एउटै चेतनात्मक प्रवाहमा मिसिन्छन्। नगरकोटीले साहित्यलाई सीमित संरचनाबाट मुक्त गरेर अनुभवको खुला आकाश बनाइदिएका छन्, जहाँ अर्थ स्थिर छैन, तर निरन्तर बगिरहेको छ।

    यो कृति पढिसकेपछि पाठक उही रहँदैन। उसको भाषा बदलिन्छ, किनकि शब्दहरू अब अनुभूति बन्छन्। उसको सोच बदलिन्छ, किनकि सत्य अब एकल होइन, बहुल हुन्छ र उसको अनुभूति बदलिन्छ, किनकि जीवन अब बुझिने वस्तु होइन, महसुस गरिने रहस्य बन्छ।

    ‘जोगियाना’ त्यसैले केवल किताब होइन, एक चेतनात्मक यात्रा हो—जहाँ मन सूफियाना हुन्छ, र अस्तित्व स्वयं प्रश्न र उत्तरबीचको निरन्तर नृत्यमा परिणत हुन्छ। यहाँ जीवन स्थिर छैन; त्यो कविता जस्तै बगिरहन्छ, कहिले मौन, कहिले विस्फोटक, तर सधैं जीवित। यही कारण ‘जोगियाना’ अन्ततः साहित्य होइन, जीवनकै अनन्त रूप हो।