काठमाडौँ– नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र देखिएका मतभेद समाधान गर्दै संगठनलाई एकताबद्ध रूपमा अघि बढाउन आवश्यक सबै विषयमा छलफल गर्न आफू तयार रहेको बताएका छन्।
आज (बुधबार) महोत्तरीको बर्दिबास मा आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले सहमतिका आधारमा पार्टी सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
थापाले पार्टीभित्रका साथीहरूको भावना सम्बोधन गर्दै संगठनलाई एकढिक्का बनाएर अघि बढाउने प्रयास जारी रहने बताए।
यस क्रममा उनले संस्थापनइतर समूहका नेताहरूलाई क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा अवरोध नगर्न आग्रह गरे। पार्टी सुदृढीकरणका लागि सदस्यता व्यवस्थापन महत्वपूर्ण भएकाले यसलाई विवादको विषय नबनाउन उनको भनाइ थियो।
क्रियाशील सदस्यता अद्यावधिकको विषयलाई लिएर भइरहेको विरोधप्रति आफू आश्चर्यचकित भएको उल्लेख गर्दै उनले पार्टीको कुनै पनि सदस्यले आवश्यकता अनुसार सदस्यता नवीकरण गर्न पाउनुपर्ने धारणा राखे।
नेपाली काँग्रेस भित्रको अनुशासन र संगठनात्मक प्रतिबद्धताबारे बोल्दै थापाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने वा समर्थन नगर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे। उनका अनुसार आम मतदाताले आफ्नो स्वविवेक प्रयोग गर्न पाउने भए पनि पार्टीका क्रियाशील सदस्य र नेताहरूले संगठनात्मक निर्णय पालना गर्नुपर्ने हुन्छ।
गत निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गर्ने नेताहरूलाई केही समयका लागि सदस्यताबाट अलग राख्ने नीति दोहोर्याउँदै उनले त्यसलाई संगठनात्मक अनुशासनको विषयका रूपमा व्याख्या गरे।