काठमाडौँ– नेपाल न्याय सेवा अन्तर्गत सहसचिव वा सो सरह पदको योग्यताक्रम सूचीबाट एक उम्मेदवारको नाम हटाउने निर्णय गरेको छ।
लोक सेवा आयोगका अनुसार विज्ञापन नं. १६६५७–०८२–८३ (मधेशी), नेपाल न्याय सेवा, कानून समूह, राजपत्र प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका उम्मेदवार इन्दीरा यादव (रोल नं.८७०१५१) को अदालतबाट प्राप्त फैसलापछि उक्त निर्णय गरिएको हो।
सर्वोच्च अदालतको रिट नं। ०८२–०३८२ मा २०८२ चैत १६ गते जारी अन्तरिम आदेशका आधारमा यादव अन्तर्वार्तामा सहभागी भएकी थिइन्। तर, सर्वोच्च अदालतबाट २०८३ जेठ ५ गते प्राप्त पत्रमार्फत उक्त रिटसहित सम्बन्धित अन्य रिट निवेदनहरू संयुक्त इजलासबाट खारेज भएको जानकारी आयोगलाई प्राप्त भएको आयोगले जनाएको छ।
आयोगले लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७९ को दफा ११ (५) (ज) अनुसार उम्मेदवारले पेश गरेको अनुभव तोकिएको मापदण्डसँग मेल नखाएको निष्कर्ष निकालेको जनाएको छ।
सोही आधारमा लोक सेवा आयोगले लोक सेवा आयोग ऐन, २०७९ को दफा ३८ (३) बमोजिम यादवको दरखास्त, लिखित परीक्षाको नतिजा, मामिला प्रस्तुतीकरण तथा अन्तर्वार्ता समेत बदर गर्ने निर्णय गरेको हो। आयोगले २०८३ जेठ ५ गतेको निर्णयअनुसार योग्यताक्रम सूचीबाट उनको नाम हटाइएको जनाएको छ।
![]()