काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सुकुमवासी बस्तीहरू भत्काउने सरकारको कदमप्रति खेद प्रकट गरेका छन्। यस्ता कदम संविधानको बर्खिलाप भएको भन्दै राईले यस्ता गतिविधि रोक्न माग गरेका छन्।
अध्यक्ष साम्पाङले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ३७ को उपधारा १ ले ग्यारेन्टी गरेको आवासको हक विपरीत सरकारले बस्तीहरू भत्काएको भन्दै खेद प्रकट गरेका हुन्। उनले उचित क्षतिपूर्तिसहित उचित पुनर्वास र व्यवस्थापन गरेर मात्रै सरकार अघि बढ्नुपर्ने सुझाव दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘जनताको घर भत्काउनु, जनतालाई बेघर बनाउनु, लछारपछार गर्नु, गालीगलौज गर्नु, लाठी, बुट र बन्दुक देखाएर तर्साउनु र राज्य आतंक मच्चाउनुले सरकारको निरंकुश चरित्र देखाएको छ।’
दशकौँ पहिलेदेखि बसेका सुकुमबासीहरूले आफ्नो जीवनभरको कमाइ लगाएर घर बनाएको उल्लेख गर्दै उनले तत्कालीन राज्य संयन्त्रको मौन सहमति वा इजाजत बिना ती बस्तीहरू नबसेको तर्क गरेका छन्। उचित व्यवस्थापन नगरी जनतालाई बेघर बनाएर सुशासन, आर्थिक उन्नति र विकास सम्भव नहुने उनको भनाइ छ।
‘सुकुमबासीलाई सडक मानव बनाउने नीति सर्वथा गलत हो,’ विज्ञप्तिमा उल्लेख छ। श्रम संस्कृति पार्टीले यस्ता मानव अधिकार विरोधी गतिविधिको सख्त निन्दा र भर्त्सना गर्दै नागरिक सर्वोच्चताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
![]()