२३ उपसचिवको सरुवा, निष्पक्षताको दाबीबीच असन्तुष्टि बढ्दो - Chaitanya News
  • 2026-04-18
  • 19:25:40
  • शनिबार,बैशाख ०५, २०८३
  • २३ उपसचिवको सरुवा, निष्पक्षताको दाबीबीच असन्तुष्टि बढ्दो

    २३ उपसचिवको सरुवा, निष्पक्षताको दाबीबीच असन्तुष्टि बढ्दो

    काठमाडौँ – २३ उपसचिवको सरुवा गरिएको छ । आज (बिहीबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूची सार्वजनिक गर्दै २३ जना उपसचिवहरूको सरुवा गरेको जनाएको छ। मन्त्रालयले सूची सार्वजनिक गरेसँगै प्रशासनिक वृत्तमा फेरि सरुवा प्रक्रियाको पारदर्शिता र निष्पक्षतामाथि बहस चर्किएको छ।
    सरकारले कर्मचारी सरुवालाई व्यवस्थित र निष्पक्ष बनाउने प्रतिबद्धता दोहोर्‍याउँदै आएको भए पनि व्यवहारमा भने त्यसको प्रभाव देखिन नसकेको गुनासो कर्मचारीहरूबाट निरन्तर उठ्दै आएको छ। यसअघि नै निर्णय भइसकेको भनिएको सरुवा सूची ढिला गरी सार्वजनिक गरिनुले समेत शंका उत्पन्न गरेको थियो।

    विशेषगरी, केही वरिष्ठ कर्मचारीहरू लामो समयदेखि केन्द्रमै कायम रहँदा कनिष्ठ तहका कर्मचारीलाई दुर्गम क्षेत्रमा पठाइएको विषयले असन्तुष्टि थप बढाएको छ। सरुवा प्रक्रियामा स्पष्ट मापदण्ड र समान अवसरको अभाव रहेको आरोप कर्मचारीहरूले लगाउँदै आएका छन्।

    यसपटकको सरुवामा समेत छोटो अवधिमै पुनः सरुवा गरिएका कर्मचारी समावेश हुँदा वर्षौँदेखि सरुवा नपाएका कर्मचारीहरू भने फेरि ओझेलमा परेका छन्। यसले प्रशासनभित्र असन्तुलन र पक्षपातको संकेत गरेको टिप्पणी हुन थालेको छ।

    कर्मचारीहरू सरुवामा स्पष्ट नीति, पारदर्शिता र न्यायोचित आधार कायम गर्नुपर्ने माग दोहोर्‍याउँदै आएका छन्, तर व्यवहारमा सुधार नदेखिँदा विश्वासको संकट गहिरिँदै गएको छ।