बैतडी– आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ।
मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए। उनका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएको झुलाघाट नाका फागुन १८ गते राति १२स्०० बजेदेखि फागुन २१ गते राति १२स्०० बजेसम्म बन्द गरिने भएको हो।
जिल्लाको ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका (बिओपी) मार्फत सुरक्षा निगरानी बढाएको जिल्ला सुरक्षा समितिले जनाएको छ।
जिल्लाको तल्लोसोराड क्षेत्रमा महाकाली नदीका विभिन्न घाटहरुमा डुंगामार्फत वारपार गर्ने गरिएकाले चुनावका बेला ती सबै घाटहरुबाट आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताए।
गत चुनावका समयमा ७२ घण्टा सीमानाका बन्द गर्ने गरिन्थ्यो। अत्यावश्यक कामका लागि उक्त समयमा नाका खोल्नुपरेमा दुई देशको आपसी समन्वयमा खोल्न सकिने जनाएको छ।