पीपीपीमा निजी क्षेत्रका समस्या पहिचान गर्न १५ दिनको समय - Chaitanya News
  • 2026-08-25
  • 18:45:09
  • मंगलबार,भाद्र ०९, २०८३
  • पीपीपीमा निजी क्षेत्रका समस्या पहिचान गर्न १५ दिनको समय

    पीपीपीमा निजी क्षेत्रका समस्या पहिचान गर्न १५ दिनको समय

    काठमाडौँ– पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रभावकारी बनाउन प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले निजी क्षेत्रसँग सुझाव मागेको छ।

    समितिको सोमबार बसेको बैठकले पीपीपी आयोजना कार्यान्वयनका क्रममा निजी क्षेत्रले भोगिरहेका कानुनी, प्रक्रियागत तथा प्रशासनिक समस्याबारे १५ दिनभित्र लिखित सुझाव पेश गर्न निजी क्षेत्रका प्रमुख संस्थालाई आग्रह गरेको हो।

    समितिका सभापति आशिष गजुरेलका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ तथा नेपाल–इण्डिया चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीलगायत संस्थाले निजी लगानी प्रवद्र्धनमा देखिएका अवरोधबारे सुझाव दिनुपर्नेछ।

    विशेषगरी ‘वान विन्डो’ नीति कार्यान्वयन, प्रशासनिक झन्झट न्यूनीकरण, विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्ने वातावरण, लगानी र मुनाफा फिर्ता लैजाने तथा पुनर्लगानी गर्न सहज व्यवस्था निर्माणका विषयमा निजी क्षेत्रको धारणा मागिएको छ।

    समितिले लगानी बोर्डसँग पनि पीपीपीअन्तर्गत सहजीकरण तथा स्वीकृत भएका जलविद्युत् र फोहरमैला व्यवस्थापनसम्बन्धी आयोजनाको अवस्थाबारे विवरण मागेको छ। आयोजनाको कार्यान्वयनमा देखिएका समस्या, समाधानका उपाय र त्यसका लागि समितिले गर्नुपर्ने पहलसमेत विवरणमा समेट्न निर्देशन दिइएको छ।

    त्यसैगरी लगानी बोर्डको कानुनी तथा संस्थागत भूमिकाबारे समेत स्पष्ट सुझाव मागिएको छ। बोर्डले लगानी सहजीकरण, विभिन्न निकायबीच समन्वय वा अनुमतिपत्र प्रदान गर्ने कार्यमध्ये कुन भूमिकालाई प्राथमिकता दिनुपर्ने हो भन्ने विषयमा १५ दिनभित्र सुझाव पेश गर्नुपर्नेछ।

    समितिले पीपीपीमा निजी लगानी विस्तारका लागि विद्यमान कानुनी र प्रक्रियागत अवरोध पहिचान गरी आवश्यक सुधारका लागि आधार तयार गर्ने उद्देश्यले सुझाव संकलन गर्न लागेको जनाएको छ।