काठमाडौँ– सरकारले बजेट सार्वजनिक गर्ने मितिजस्तै अब आर्थिक वर्षको मौद्रिक नीति पनि निश्चित मितिमै सार्वजनिक गर्ने तयारी गरेको छ। प्रतिनिधि सभाको अर्थ समितिले आगामी दिनदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने व्यवस्था अघि बढाउने गरी सहमति जुटाएको हो।
सोमबार बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा मौद्रिक नीति सार्वजनिक गर्ने मिति निश्चित गर्ने विषयमा सहमति भएको हो।
समिति सभापति डा. कृष्णहरि बुढाथोकीले बजेट प्रस्तुत गर्ने मिति निश्चित भएजस्तै मौद्रिक नीति घोषणाको मिति पनि तोक्न लागिएको जानकारी दिए।
बैठकले वित्तीय क्षेत्रसँग सम्बन्धित केही प्रस्तावमा आवश्यक परिमार्जनसहित सहमति जुटाएको छ। तर नेपाल राष्ट्र बैंक ऐनको दफा १०० लाई लिएर बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिले उठाउँदै आएको विषय भने तत्काल सम्बोधन हुन सकेन।
सभापति बुढाथोकीका अनुसार बैंकर्स एशोसिएशन तथा विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले दफा १०० मा रहेको व्यवस्थाप्रति गम्भीर असन्तुष्टि जनाउँदै संशोधनको माग गरेका छन्। सामान्य कारबाहीलाई समेत आधार बनाएर आफूहरूलाई अयोग्य घोषित गर्न सकिने व्यवस्था रहेको भन्दै बैंकरहरूले उक्त प्रावधानलाई ‘अभिशाप’ को संज्ञा दिएका छन्।
बैंकरहरूले नेपाल राष्ट्र बैंक ऐनसँगै बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) मा रहेका सम्बन्धित प्रावधान संशोधन गर्न लिखित तथा मौखिक रूपमा समितिको ध्यानाकर्षण गराएका थिए। सांसदहरूले समेत संशोधन प्रस्ताव अघि सारेका थिए।
तर हाल छलफलमा रहेको विधेयकमा दफा १०० संशोधनका लागि खुला नगरिएकाले त्यससम्बन्धी प्रस्ताव तत्काल स्वीकार गर्न नसकिएको सभापति बुढाथोकीले स्पष्ट पारे। उनका अनुसार सभामुख, अर्थमन्त्री तथा अन्य सरोकारवालाले समेत यस विषयमा चासो देखाएका छन्।
प्रतिनिधि सभा नियमावलीको नियम ११३ अनुसार विधेयकमा प्रस्तावित संशोधन विधेयकको विषय र निहित सिद्धान्तसँग सम्बन्धित हुनुपर्ने भएकाले अहिले दफा १०० नै संशोधन गर्ने प्रक्रियामा प्राविधिक तथा कानुनी जटिलता देखिएको उनले बताए।
समितिले आगामी दिनमा आवश्यक कानुनी प्रक्रिया मिलाउँदै वित्तीय क्षेत्रका सरोकारलाई सम्बोधन गर्ने जनाएको छ। मौद्रिक नीति सार्वजनिक गर्ने मिति निश्चित गर्ने तयारीसँगै राष्ट्र बैंक ऐन संशोधनमार्फत वित्तीय क्षेत्रका अन्य विवादित विषयलाई समेत क्रमशः व्यवस्थित गर्ने समितिको योजना छ।