निजामती कर्मचारीका लागि पहिलो पटक ई–पेन्सन सेवा जुम्लामै सुरु, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो - Chaitanya News
  • 2026-08-24
  • 15:17:03
  • सोमबार,भाद्र ०८, २०८३
  • निजामती कर्मचारीका लागि पहिलो पटक ई–पेन्सन सेवा जुम्लामै सुरु, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

    निजामती कर्मचारीका लागि पहिलो पटक ई–पेन्सन सेवा जुम्लामै सुरु, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

    जुम्ला– हिमाली जिल्ला जुम्लाका सेवा निवृत्त निजामती कर्मचारीले अब पेन्सनसम्बन्धी सेवा लिन काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले पहिलो पटक जिल्लामै ई–पेन्सन सेवा सञ्चालनमा ल्याएपछि सेवा निवृत्त कर्मचारीलाई सहज भएको हो।

    संघीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको ई–पेन्सन सेवा जुम्लामा समेत कार्यान्वयनमा ल्याइएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मञ्जित अछामीले जानकारी दिए।

    उनका अनुसार जुम्लामा सेवा सुरु भएपछि गत वर्ष चार जना सेवा निवृत्त कर्मचारीले ई–पेन्सन सेवा लिइसकेका छन्। यसअघि पेन्सनसम्बन्धी प्रक्रिया पूरा गर्न राजधानी पुग्नुपर्ने अवस्थाले हिमाली जिल्लाका कर्मचारीलाई समय र खर्च दुवैको भार थपिँदै आएको थियो।

    कृषि विकास कार्यालयका कृषि अधिकृत कमल थापा क्षेत्रीले चन्दननाथ नगरपालिकाबाट पहिलो सेवाग्राहीका रूपमा ई–पेन्सन सेवा लिएका हुन्।

    जिल्लामै डिजिटल माध्यमबाट पेन्सन सेवा उपलब्ध हुन थालेपछि विशेषगरी वृद्ध तथा सेवा निवृत्त कर्मचारीलाई राजधानी धाउनुपर्ने झन्झटबाट राहत मिलेको छ। स्थानीय तहमै सेवा उपलब्ध गराउने व्यवस्थाले सरकारी सेवा प्रवाहलाई थप सहज, छरितो र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।