वसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली उत्सव - Chaitanya News
  • 2026-04-26
  • 20:21:49
  • आइतबार,बैशाख १३, २०८३
  • वसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली उत्सव

    वसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली उत्सव

    काठमाडौँ– काठमाडौँको वसन्तपुरमा होलीको चीर ठड्याइएको छ। आज (मंगलबार) बिहान रंगीविरंगी कपडाहरूको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो। यससँगै आजबाट रंगहरुको पर्व होलीको उत्सव औपचारिक रूपमा सुरु भएको छ।

    फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ।

    यही प्रचलन अनुसार मंगलबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन्। साथै उनीहरूले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन्।

    आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडाका टुक्रा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ।

    यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८ गते र १९ गते परेको छ। फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराईरमधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ।

    वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याइएको अवसरमा नेपाली सेनाको एक टोलीले मंगलधुन बजाउनुका साथै बन्दुक पड्काएर हर्ष बढाइँ गरेको थियो ।

    होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसीयालीमा रङसहित मनाउने पर्वको रूपमा लिने गरिन्छ।