काठमाडौँ– रास्वपाका सभापति रवि लामिछानेले सडक यात्रा सुरक्षित बनाउने दायित्व राज्यको भएको बताएका छन्।
पोखराबाट काठमाडौँ आउँदै गरेको बस धादिङमा भएको दुर्घटनामा मानवीय क्षति भएपछि दुःख व्यक्त गर्दै विगतका दिनमा सडक यात्रा सुरक्षित बनाउनेतर्फ चासो र चिन्ता नलिइएको भन्दै असन्तुष्टि जनाए।
उनले भनेका छन्, ‘सडक यात्रा सुरक्षित बनाउनु राज्यको दायित्व हो। तर, यसतर्फ गम्भीर चासो र चिन्ता विगतमा लिइएन। दुर्घटनाको निष्पक्ष र गम्भीर छानबिन गरी कारण पहिचान, दोषीमाथि कारबाही र भविष्यमा दोहोरिन नदिन ठोस सुधारात्मक कदम चालिनुपर्थ्यो, हुन सकेन।’
सुरक्षित सडक, जिम्मेवार चालक, कडाइका साथ कार्यान्वयन हुने नियम र प्रभावकारी अनुगमन नै दुर्घटना रोक्ने आधार रहेको भन्दै यसप्रति आफूहरू गम्भीर र जिम्मेवार हुने जनाएका छन्।