काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जित्नेभन्दा पनि टिक्ने प्रधानमन्त्रीको पद्धति सोच्ने बेला आएको बताएका छन्।
धरानको भानु चोकमा बिहीबार आयोजित सुनसरी क्षेत्र नम्बर–१ का उम्मेदवार सुजेन्द्र तामाङको चुनावी ञप्रतिबद्धता घोषणासभामा उनले यस्तो प्रस्ताव अघि सारेका हुन्।
कांग्रेस बहुमत ल्याउने लक्ष्य लिएर अघि बढेको उनले बताए।
उनले ५ वर्ष स्थिर रहने सरकारका लागि चुनाव अघि नै राष्ट्रिय सहमति गरौं भन्ने आफ्नो व्यक्तिगत प्रस्ताव र आह्वान रहेको बताए।
उनले भने, ‘प्रधानमन्त्री ५ वर्ष टिक्नरटिकाउन नयाँ सोच सहितको संवैधानिक प्रावधान राख्न जरुरी छ। यो किन भने बितेको ७५ वर्षमा कुनै पनि प्रधानमन्त्री लगातार ५ वर्ष टिक्न सकेनन्।’
प्रत्यक्षको सिट र लोकप्रिय मतको आधारमा पहिलो हुने दलको प्रधानमन्त्रीले पूरै ५ वर्ष शासन गर्ने, बहुमत नपुगेमा विनर्स टेक अल को नीति बमोजिम अपुग संख्या सुनिश्चित गर्ने, दोस्रो–तेस्रो लगायतका दल सरकारमा नगएर पूरै ५ वर्ष प्रतिपक्षी कित्तामा बस्ने, यस्तै कुनै अवधारणामा चुनाव पूर्व जरुरी राष्ट्रिय सहमति गर्नुपर्ने उनको प्रस्ताव छ।
सभामुख चयनपछि बस्ने संसद्को पहिलो बैठकबाट त्यो सहमतिलाई संविधानमा अंकित गर्नु पर्ने उनको प्रस्ताव छ।
उनले भने, ‘चुनाव पूर्व सरकार, दलहरू, बौद्धिक क्षेत्र र जेनजी सहितको वृहत् सम्मेलन गरौं। त्यसबाट वर्तमान संविधान र समग्र पद्धतिमा दर्जन बढी सुधारको बुँदागत सहमति गरौं। सार्वजनिक रूपले हाम्रो प्रस्ताव छ।’