काठमाडौँ– देशका ११ उपमहानगरपालिका मध्ये इटहरी उपमहानगरपालिका सबैभन्दा कमजोर देखिएको छ ।
आज (बिहिबार) राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशका ११उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ। मूल्यांकनअनुसार बुटवल उपमहानगरपालिका ६४४ अंकसहित शीर्ष स्थानमा देखिएको छ भने इटहरी उपमहानगरपालिका ३९६ अंकसहित सबैभन्दा कमजोर रहेको छ।
दाङका दुई उपमहानगरपालिकामा तुल्सीपुरले ६५३ र घोराहीले ६०८ अंक प्राप्त गरेका छन्। धरान उपमहानगरपालिकाले ४९.७६ अंक ल्याएको देखिन्छ।
आयोगले स्थानीय तहको मूल्यांकनका लागि कुल १७ सूचक प्रयोग गरेको थियो। यसमा बजेट असारभित्र सार्वजनिक र पास नगर्नु, आव २०८१–८२ का घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबाट उठेको रकमको ४० प्रतिशत मासिक प्रदेश सञ्चित कोषमा नदिने जस्ता वित्तीय सूचक समावेश छन्। साथै आगामी आवको बजेट प्रक्षेपण अर्थ मन्त्रालयमा बुझाएको वा नगरेको, बजेट समीक्षा नगरेको, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसइई परीक्षा नतिजा र खोप लगाएका बालबालिका अनुपात समेत मूल्यांकनको आधार बनेका छन्।
देशभरि ८० अंक कटाउने स्थानीय तह चार वटा मात्र छन्, जसमध्ये अधिकांश पश्चिम नेपालको क्षेत्रका रहेका छन्।